Logo

वैदेशिक रोजगारीको मागपत्रमा दूतावासको प्रमाणिकरण अनिवार्य, रोकिएला कामदार अलपत्र पर्ने क्रम ?

वैदेशिक रोजगारीको मागपत्रमा दूतावासको प्रमाणिकरण अनिवार्य, रोकिएला कामदार अलपत्र पर्ने क्रम ?



काठमाडौं । सरकारले वैदेशिक रोजगारीको कामदार मागपत्रमा अनिवार्य रुपमा सम्बन्धित देशमा रहेको नेपाली दूतावासबाट प्रमाणिकरण गर्नुपर्ने व्यवस्था लागू गरेको छ । मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैंठककले ‘वैदेशिक रोजगार सम्बन्धी मागपत्र जाँचबुझ निर्देशिका, २०७५’ लाई स्वीकृत गर्दै उक्त व्यवस्था गरेको हो ।

यस अघि सम्बन्धित देशमा रहेको नेपाली दूतावास, नोटरी पब्लिक वा चेम्बर, दूतावास वा श्रम सहचारीमध्ये कुनै एक ठाउँबाट प्रमाणिकरण गराएर ल्याए पुग्थ्यो । तर, अबका दिनमा म्यानपावर व्यवसायीले कामदार मागपत्र ल्याउँद सम्बन्धित देशको रहेको नेपाली दूतावासबाट अनिवार्यरुपमा प्रमाणिकरण गर्नुपर्ने छ ।

सम्बन्धित देशको चेम्बर वा नोटरी पब्लिकबाट मात्र प्रमाणिकरण गरेर ल्याउँदा कतिपय नेपाली कामदारले समस्या भोग्नु परेको गुनासो आएको भन्दै सरकारले दूतावासबाट प्रमाणिकरण अनिवार्य गरेको हो । अबका दिनमा वैदेशिक रोजगारमा जाने मुलुकको आधिकारिक निकाय वा कुटनीतिक नियोग वा श्रम सहचारीले प्रमाणित गरेको डिमाण्डमा दूतावासको सिफारिश अनिवार्य गरिएको छ ।

निर्देशिकामा वैदेशिक रोजगार ऐन २०६४ को दफा १५ को उपदफा (क) मा रहेको मौजुदा व्यवस्थालाई परिमार्जन गर्दै नयाँ व्यवस्था गरिएको हो । मौजुदा ऐनको उक्त दफामा वैदेशिक रोजगारमा जाने मुलुकको आधिकारिक निकाय वा कुटनीतिक नियोग वा श्रम सहचारी वा चेम्वर अफ कमर्स वा नोटरी पब्लिक मध्ये एक निकायबाट प्रमाणित गरिएको मागपत्र र अख्तियारनामाको सक्कल प्रति पूर्वस्वीकृतिका लागि पेश गर्नु पर्ने व्यवस्था छ । नयाँ व्यवस्थासँगै सम्बन्धित देशका चेम्बरअफ कर्मश र नोटरी पब्लिकले प्रमाणित गरेका मागपत्रमा दूतावासले छानविन गरेर मात्र स्वीकृत प्रदान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL