Logo

वैदेशिक रोजगार व्यवसायीलाई श्रम मन्त्रीको चेतावनी, सुध्रिने कि डाइनोसर बन्ने ?

वैदेशिक रोजगार व्यवसायीलाई श्रम मन्त्रीको चेतावनी, सुध्रिने कि डाइनोसर बन्ने ?


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीका क्षेत्रमा सम्बद्ध व्यवसायीले नै विकृति ल्याएको बताउँदै म्यानपावर व्यवसायीहरुलाई तत्काल सुध्रिन चेतावनी दिएका छन् । ‘यस व्यवसायले बार्षिक ५ लाखलाई विदेशमा रोजगारी लिएको छ भने त्यसबाट बार्षिक रुपमा ६ खर्ब रुपैयाँको हाराहारीमा रेमिटान्स भित्रिएको छ,’ नेपाल वैदेशिक रोजगार व्यवसायी संघद्वारा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा उनले भने, ‘तै पनि किन तपाईहरु समाजमा बदनाम हुनुहुन्छ, तसर्थ अबका दिनमा यस व्यवसायमा शुद्धिकरण जरुरी छ ।’

वैदेशिक रोजगार व्यवसायमा धेरै बिकृति भएको भन्दै आजैबाट खराब आचरण त्यागेर सुध्रन व्यवसायीलाई निर्देशन दिएका छन् । ‘व्यवसायीहरुले आजैका मितिबाट आफ्नो खराब बानी, आचरण र कार्यशैलीमा सुधार गरी नयाँ ढ्ङ्गबाट रोजगारीमा जाने कामदारलाई सहज हुनेगरी काम गर्न सुरु गर्नुस,’ उनले भने, ‘यदि कुनै व्यवसायीले आफ्नो खराब आचरणमा सुधार ल्याउन सक्दैन भने उसको डाइनोसरको हालत हुनेछ ।’

अबका दिनमा वैदेशिक रोजगार क्षेत्रमा कुनै पनि संघसंस्थाको नाममा सिण्डीकेट लागू नहुनेभन्दै यसअघि भएका सबै संघसंस्था खारेज गरिने बताए । ‘अहिले बायोमेट्रिक, भीएलएन, माइग्राम, जीएसजी, गाम्का लगायत विभिन्न संघसंस्थाले सिण्डीकेट खडा गरेको सुनिन आयो,’ उनले भने, ‘यसलाई ऐन नियममा नै परिमार्जन गरेर भएपनि खारेज गरिनेछ ।’ यसलाई हटाउन छलफल तथा विधि प्रक्रियामा जान केही समय लाग्ने पनि जसरी भएपनि खारेजी गरिने उनको दाबी थियो ।

उनले अब पर्दा पछाडी हुने कामलाई रोक्न जुनसुकै कदम चालिने समेत उद्घोष गरे । अब रोजगारी सम्बन्धी नयाँ नीति चाडैं ल्याउने जानकारी दिँदै त्यसले सबै क्षेत्रलाई मर्यादित, व्यवस्थित, भरपर्दो र सुरक्षित बनाइने बताए । ‘सरकारले सबै सरकोकारवालासँग छलफल गरी यस क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन नयाँ नियम ल्याउनेछ,’ उनले भने, ‘कसैले त्यसको बर्खिलापमा गएर काम गर्छ भने कुनै पनि हालतमा छाडिन्न ।’
साथै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि वैदेशिक रोजगार क्षेत्रलाई मर्यादित र व्यस्थित गर्न निर्देशन दिएकाले गैरकानुनी काम गर्ने कुनैपनि व्यवसायीले उन्मुक्ति नपाउने उनको दावी थियो । ‘एउटा संस्था वा व्यवसायीलाई कारवाही गर्दा लाखौं युवाले न्याय पाउँछन् भने सरकारले त्यसमा खुट्टा कमाउँदैन,’ उनले भने, ‘त्यसरी कारबाही गर्दा व्यवसायीहरु पनि दिपावली गर्न तयार रहनु पर्छ ।’

हाल व्यवसायीले नेपालमा एउटा सर्तनामा गरी विदेशमा अर्को काममा पठाएर कामदारलाई दुख दिने गरेको जानकारी गराउँदै अबका दिनमा त्यस्ता व्यवसायीहरुले उन्मुक्ति नपाउने समेत उनको दावी थियो । भर्खरै मात्र वैदेशिक रोजगार विभागका कर्मचारीलाई आफ्नो कार्यशैली र सोचमा परिर्वतन गर्न निर्देशन दिएको जानकारी दिँदै नसुध्रिने कर्मचारीलाई पनि तत्काल कारबाही गरी कानुनी कठघरामा उभ्याइने उनको उनको उद्घोष थियो ।

कार्यक्रममा नेपाल वैदेशिक रोजगारी व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले पनि विभिन्न बाहनामा सिण्डिकेट लागू गर्दै आएका संघसंस्था खारेज गर्न माग गरेका थिए । ‘यस अघिका श्रम राज्य मन्त्री टेकबहादुर गुरुङले आफ्नो स्वार्थ पूर्तिका निमित्त विभिन्न संघसंस्था खडा गरेर गएका छन्,’ उनले भने, ‘त्यसरी खडा गरिएका संस्थासंस्था तथा नीति नियम परिमार्जन जरुरी छ ।’

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL