Logo

बैंकका कारण जलविद्युत आयोजना निर्माण कार्य १ बर्ष पछि धकेलिँदै

बैंकका कारण जलविद्युत आयोजना निर्माण कार्य १ बर्ष पछि धकेलिँदै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले समयमै कर्जा प्रवाह नगर्दा निर्माणाधिन जलविद्युत आयोजनाको निर्माण कार्य १ बर्ष पछि धकेलिने भएको छ । फाइनान्सियल क्लोजर गरेका आयोजनामा बैंक वित्तीय संस्थाले पैसा नदिँदा निर्माण कार्यमा समस्या आएको स्वतन्त्र ऊर्जा उत्पादक संघ, नेपाल (इपान)का अध्यक्ष शैलेन्द्र गुरागाँईले बताए । ‘हाल लगानीका लागि प्रतिवद्धता गरेका आयोजनामा पनि बैंकले कर्जा दिएका छैनन्,’ उनले भने, ‘जसको असर निर्माणधिन आयोजनामा ठूलो परेको छ ।’

बैंक वित्तीय संस्थाले प्रतिवद्धता जनाएका आयोजनामा समयमै पैसा रिलिज नगर्दा करिब १ हजार मेगावाट जलविद्युत आयोजनाहरु समस्यामा परेको उनी बताउँछन् । ‘हाल बैंक वित्तीय संस्थाले एक/डेढ महिनालाई मात्रै पैसा रिजिल गर्न ढिलाई गरेको हो केही सहज हुने वित्तिकै दिन्छु भन्दै आएका छन्,’ उनले भने, ‘तर, कामको पिक आवरमा एक/डेढ महिना ढिलाई गर्दिनु भनेको समग्र आयोजनाको निर्माणकार्य नै १ बर्ष पछि धकेलिनु हो ।’

जलविद्युत प्रवद्र्धकहरुले आयोजनाका निर्माणका लागि कुल लागतको ७० प्रतिशतभन्दा बढी रकम बैंक वित्तीय संस्थासँग कर्जा लिएर बनाएका हुन्छन् ।

तर, निर्माण कार्य दू्रत गतिमा बढेका बेला बैंकहरुले पैसा रोकिदिदा आयोजनाको निर्माण कार्य नै समस्यामा पर्ने उनको भनाइ थियो । ‘निजी ऊर्जा प्रबद्र्धक तथा अन्य गरी १ बर्षभित्र १ हजार मेवाको जलविद्युत आयोजना संचालनमा ल्याउने गरी अघि बढेका थियौं,’ उनले भने, ‘तर, बैंकका कारण त्यो सम्भव भएन ।’

नेपालको जलविद्युत अयोजनामा बर्षातका कारण बर्षमा ८ महिनामा मात्रै काम गर्न पाइन्छ । तर, कामको पिक आवरमा पनि बैंकले समस्या पार्दिदा आयोजनाको लागत बढ्नुका कारण आयोजनाको निर्माण कार्यमा समेत ठूलो असर परेको गुरागाई बताउँछन् । ‘हाल बैंकले कर्जा प्रवाहमा १ महिना ढिलाई गर्दा आयोजनाको लागत १० देखि १५ प्रतिशत बढ्न पुगेको छ ।’

तर, नेपाल बैंकर्स एशोसिएशनका अध्यक्ष ज्ञानेन्द्र ढुङगाना भने बैंकहरुले नयाँ लोनका लागि रोक लगाएपनि यसअघि प्रतिबद्धता जनाएका कर्जाहरु भने प्रवाह गरिरहेको बताउँछन् । ‘केही समयअघि कर्जा प्रवाहमा समस्या देखिएको थियो,’ उनले भने, ‘यस अघि प्रतिवद्धता जनाएका कर्जाहरु भने रिलिज गर्दै आएका छौं ।’

तर, पछिल्लो समय समग्र बैंकिङ क्षेत्रमा लगानीयोग्य रकमको अभाव भएका कारण केही दिन ढिलाई हुने गएको उनी बताउँछन् ।

केही समयअघि स्वतन्त्र ऊर्जा प्रबद्र्धकले कर्जा नपाएको भन्ने गुनासो गरेपनि बैंकहरुले पछिल्लो समय प्रतिबद्धता जनाएका आयोजनाहरुमा क्रमश कर्जा प्रवाह गरिरहेको उनको दाबी थियो । ‘पछिल्लो समय बैंक वित्तीय संस्थाले लगानी योग्य पूँजी अभावका कारण नयाँ जलविद्युत आयोजनाहरुमा लगानी गर्न चाहिँ रोकेका छन्,’ उनले भने, ‘नयाँ आयोजनाहरुमा भने तत्काल लगानी गर्न सम्भव छैन ।’

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL