Logo

‘सेकेण्ड इनिङ’ नजिक भाग्यमानी झा, भन्छन् ‘नेपाललाई ब्रोडब्याण्ड नेशन बनाउँछु’

‘सेकेण्ड इनिङ’ नजिक भाग्यमानी झा, भन्छन् ‘नेपाललाई ब्रोडब्याण्ड नेशन बनाउँछु’


रक्षा रेग्मी
0
Shares

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले आफ्नो कार्यकाल सकिन करिब दुई हप्ता बाँकी रहँदा नै एउटा ‘लक्की’ खबर पाइसकेका छन् । बार्षिक एक खर्बभन्दा ठूलो आकारको दूरसञ्चार बजारको नियामक संस्था प्राधिकरणमा उनले अर्को पाँच बर्ष अध्यक्षकै जिम्मेवारीमा काम गर्न पाउने भएका छन् ।

मन्त्रिपरिषदको बैठकले हालै उनैलाई निरन्तरता दिने गरी निर्णय गरेपछि अध्यक्षको ‘सेकेण्ड इनिङ’ सम्हाल्दैछन् झा । यहिं मंसिर १८ गते उनको पहिलो इनिङको जिम्मेवारी पुरा हुँदैछ ।

सूचना तथा सञ्चार मन्त्रालयले गठन गरेको अध्यक्ष छनौट समितीले झाको कार्यकाल सन्तोषजनक भएको भन्दै मन्त्रिपरिषदमा कार्यकाल दोहोर्याउन प्रस्ताव राखेको थियो । सो प्रस्तावलाई नै सदर गर्दै मन्त्रिपरिषदको बैठकले झालाई पून नियुक्ती दिएको हो ।

यसअघि उनले पहिलोपटक २०६९ मंसिर १८ गते प्राधिकरण अध्यक्षको जिम्मेवारीमा काम सुरु गरेका थिए । अदालतमा योग्यताको मुद्धा परेपछि करिब दुई बर्ष त्यसै बिताएका झाले सर्वोच्च अदालतले मुद्धा नै खारेज गरिदिएपछि २०७१ मंसिर ११ गतेदेखि अध्यक्षको जिम्मेवारीमा रहेर काम सुरु गरेका थिए ।

आधिकारिक रुपमा पत्र नआएपनि अनौपचारिक रुपमा पद दोहोर्याइने जानकारी पाएपछी उनले आफ्नो नयाँ कार्यकालका लागि झाले योजना भने बनाइसकेका छन् । ‘आधिकारीक रुपमा चिठी त पाएको छैन’ झाले भने ‘नयाँ कार्यकालमा गर्ने कामहरुबारे योजना भने बनाएको छु ।’
नयाँ कार्यकालमा पहिला पुरा नभएका कामहरुलाई निरन्तरता दिनुका साथै नयाँ काम गर्ने उनको योजना छ ।

‘नेपालको कुनाकाप्चामा दूरसञ्चार सेवा पुर्याउनु मेरो पहिलोे प्राथमिकता हो,’ उनले भने ‘नेपाललाई ब्रोडव्याण्ड नेशन’ का रुपमा विकास गर्ने लक्ष्य छ ।’

डिजिटल नेपालको अवधारणालाई मूख्य एजेन्डा बनाएर अघि बढ्ने उनी बताउँछन् । त्यस्तै विभिन्न मन्त्रालयहरुमा कन्टेन्ट तथा एप निर्माणका लागि सहजीकरण गर्ने सोचमा छन् उनी ।

नेपाल ब्रोडब्याण्ड नेसनमा विकास भएसँगै साइबर सम्बन्धी अपराधहरु बढ्ने भन्दै त्यसको समाधानका लागि पनि सोच बनाएका छन् उनले  । ‘साइबर अपराध रोकथाम तथा निर्मुल गर्नका लागि कानुन बनाउन लाग्ने छु’ उनले भने ।

त्यस्तै विश्वमा प्रयोगमा आएका नविनतम प्रविधिलाई प्रयोगमा ल्याउने उनको सोचाई छ । सूचना प्रविधिलाई सस्तो बनाइ सबैको पहुँचमा पुर्याउने उनी बताउँछन् । सेवाको गुणस्तरमा सम्झौता नगर्ने गरी योजना बनाउने झाले बताए । ‘प्रयोगकर्तालाई सेवाको गुणस्तरमा गुनासो गर्ने ठाउँ नदिने गरी नियम बनाउँछु’ उनले भने ।

त्यसैगरी आगामी कार्यकालमा नो यो कष्टुमर (केवाइसी ) लाई लागु गर्ने योजना पनि बनाएका छन् उनले अहिले एउटा मान्छेको नाममा जतिओटा पनि सिम निकाल्न मिल्ने भएकोले फोनबाट आपराधिक क्रियाकलाप बढेको छ । केवाइसी लागु गरेपछि एक जना मान्छेले बढीमा ४ ओटा सिम लिन पाउनेछन् । त्यस्तै उसले कहाँबाट कस्तो डिभाइस मार्फत फोन गरेको लगायत जानकारी दिने सिस्टम लागु गरिने छ ।

पल्स रेट ४५ सेकेन्डबाट २० र अहिले १० सेकेन्डमा पुर्याएको छ । एक सेकेन्डमा पुर्याउने भनिएपनि अपरेटरहरुसँग पर्याप्त पूर्वाधार नभएको भन्दै लागु गर्न सकिएको छैन । उनीहरुलाई पूर्वाधार खरिदका लागि भनिसकेको र विस्तारै एक सेकेन्ड पुर्याउने अध्यक्ष झाले बताए । प्राधिकरणले कात्तिकदेखि नै एक सेकेन्डको पल्स रेट लागु गर्न सेवा प्रदायकलाई निर्देशन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL