Logo

तिलगंगादेखि कलंकीसम्म ‘स्काई रेल’ !

तिलगंगादेखि कलंकीसम्म ‘स्काई रेल’ !


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । काठमाडौं महानगपालिकाले ललितपुर महानगर र अन्य छिमेकी नगरहरुसँगको समन्वयमा स्काई रेल सञ्चालन गर्ने भएको छ । मंगलबार काठमाडौंमा स्काई रेलको अध्ययन गरेको कम्पनीको प्रारम्भिक प्रतिवेदन बुझ्दै महानगरका प्रमुख विद्यासुन्दर शाक्यले अन्य निकायसँग समन्वय गरी स्काई रेल निर्माणकार्य अघि बढाउने बताएका हुन् ।

साइमिक्स इंक प्रालिलाई काठमाडौं महानगरपालिकाले स्काइ रेल सञ्चालन सम्भाव्यता अध्ययनको जिम्मा दिएको थियो । प्रतिवेदन बुझाउनु अघि कम्पनीका अध्यक्ष प्रसिद्धबहादुर पाण्डे र प्रमुख कार्यकारी अधिकृत अनुप बस्नेतले महानगर क्षेत्रमा स्काइ रेलको सम्भावना अध्ययन गर्दा तिलगंगाबाट, एयरपोर्ट, नयाँ बानेश्वर, रत्नपार्क, सहिदगेट हुँदै कलंकीसम्म सञ्चालन गर्न सकिने सम्भावना देखिएको बताए ।

त्यस्तै नारायणगोपाल चोकबाट ललितपुरको एकान्तकुना, चक्रपथ वरिपरि तथा स्वयम्भुबाट बौद्धसम्म पनि स्काईरेल सञ्चालन गर्न सकिने बस्नेतले जानकारी दिए । ‘काठमाडौंमा स्काइ रेल स्थापना गर्न सके अहिलेको यातायात आवागमन सहज हुनेछ,’ सो प्रतिबेदनमा उल्लेख छ, ‘त्यस्तै नागरिक निर्धारित समयमा ठाउँमा पुग्न सक्ने छन् ।’ चिनियाँ कम्पनी बिवाइडीसँगको सहकार्यमा सञ्चालन सम्भाव्यता अध्ययन भइरहेको छ । लागत सहितको अन्य विवरण विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)मा थाहा हुने छ ।


विस्तृत परियोजना प्रतिवेदनमा आएपछि मात्रै स्टेशनको संख्या, सडक संरचना तथा कुल लागत खर्च थाहा हुनेछ । कम्पनीका अनुसार सामान्यतया १० किलोमिटर दुरीको लिक बनाउन ३० करोड अमेरिकी डलर र सो सम्पन्न गर्न २ वर्ष समय लाग्नेछ । मेट्रो रेलको तुलनामा स्काई रेल सञ्चालनका लागि २० प्रतिशत रकम कम लाग्ने कम्पनीको दावी छ ।

रेलको एउटा डिब्बामा २ सय जना यात्रु अट्न सक्ने साथै एउटा रेलमा ८ वटासम्म डिब्बा जोड्न सकिन्छ । तर, काठमाडौं महानगरपालिकामा सञ्चालन गरिने रेलमा भने ३ वटा डिब्बा मात्र जोड्न सकिने प्रारम्भिक अध्ययनले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL