Logo

४७ अर्बको अन्न खरिद, १० महिनामा धान चामल मात्रै ३१ अर्ब बढीको आयात

४७ अर्बको अन्न खरिद, १० महिनामा धान चामल मात्रै ३१ अर्ब बढीको आयात



काठमाडौं । चालु आर्थिक बर्षको १० महिनामा नेपालले ४७ अर्ब रुपैयाँ बढीको अन्न मात्रै आयात गरेको छ । कृषिप्रधान देश भनिने नेपालमा धान चामल, गहुँ, मकै नै आयात गरेर काम चलाउनुपर्ने अवस्था रहेको भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

तथ्यांक अनुुसार चालु आवको साउनदेखि बैशाखसम्म ४७ अर्ब २९ करोड ८७ लाख ६१ हजार रुपैयाँ बराबरको खाद्यान्न आयात भएको छ । यो गत आर्थिक बर्षको सोही अवधिको तुलनामा भने १७ अर्ब ४१ करोड ६८ लाख रुपैयाँले कम हो । गत आर्थिक बर्षको यहि अवधिमा नेपालले ६४ अर्ब ७१ करोड ५६ लाख रुपैयाँ बराबरको खाद्यान्न आयात गरेको थियो ।

चालु आवको १० महिनाका अवधिमा नेपालले सबैभन्दा बढी धान चामल आयात गरेको विभागको तथ्यांकमा उल्लेख छ । तथ्यांक अनुसार यस अवधिमा नेपालले ३१ अर्ब १४ करेड ३५ लाख रुपैयाँ बराबरको धान र चामल मात्रै आयात गरेको छ । भन्सार विभागका अनुसार यस अवधिमा १९ अर्ब रुपैयाँ बढीको चामल र बाँकीको धान आयात भएको हो ।

यस्तै यसै अवधिमा नेपालले साढे १३ अर्ब रुपैयाँ बराबरको मकै, करिव २ अर्ब बराबरको गहुँ, साढे २ करोड रुपैयाँ बराबरको जौ र २८ हजार रुपैयाँ बराबरको जुनेलो आयात गरेको छ । यसै अवधिमा नेपालले विदेशबाट कोदो, चिनुलगायतका अन्नहरु पनि आयात गरेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।

यस्तै चालु आवकै १० महिनामा नेपालले अन्नबाहेक साढे २७ अर्ब रुपैयाँ बराबरको तरकारी, करिव १७ अर्ब रुपैयाँ बराबरको फलफूल, ६ अर्ब ६४ करोड रुपैयाँ बराबरको कफी चिया र १ अर्ब रुपैयाँ बराबरको माछामासु आयात गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL