Logo

व्यापारघाटामा एक चौथाई हिस्सा पेट्रोलियमको, कुल निर्यातभन्दा दोब्बर बढी आयात

व्यापारघाटामा एक चौथाई हिस्सा पेट्रोलियमको, कुल निर्यातभन्दा दोब्बर बढी आयात



काठमाडौं । लगातार बढिरहेको डलरको मूल्य र नेपालमा बढ्दो सवारी मोहले पेट्रोलियम पदार्थको खपत उच्च हुँदैछ । नेपालको व्यापारघाटा उच्च हुनुको प्रमुख श्रेय नै पेट्रोलियम पदार्थको आयातलाई लिईने गरिन्छ । पछिल्लो दशकमा बढेको सवारी चापलाई नै नेपालमा पेट्रोलियम खपतको ऐनाको रुपमा हेर्न सकिन्छ । यसो भन्दै गर्दा नेपालले व्यहोर्ने वैदेशिक व्यापारघाटाको पहिलो स्थानमा आउने पेट्रोलियम पदार्थको आयातले मात्रै एक चौथाई हिस्सा ओगट्ने देखिएको छ ।

भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक बर्षको ७ महिना (साउनदेखि माघसम्म) मा कुल १ खर्ब ९४ अर्ब ९६ करोड ३४ लाख रुपैयाँ बराबरको पेट्रोलियम पदार्थको आयात भएको छ । यो यस अवधिमा भएको नेपालको कुल ब्यापारघाटाको २३.६१ प्रतिशत हिस्सा हो । नेपालले चालु आर्थिक बर्षको ७ महिनामा ८ खर्ब २५ अर्ब ७३ करोड रुपैयाँ बराबरको व्यापारघाटा व्यहोरेको छ ।

यति मात्रै होईन चालु आवको ७ महिनामा पेट्रोलियम पदार्थ आयात गर्दा बाहिरिएको रकम नेपालले यस अवधिमा गरेको कुल आयात व्यापारभन्दा दोब्बरभन्दा बढी हो । नेपालले चालू आर्थिक बर्षको ७ महिनामा ९३ अर्ब ४३ करोड २३ लाख रुपैयाँ बराबरको मालवस्तु मात्रै विदेश निर्यात गरेको छ । जबकी यस अवधिमा नेपालले कुल निर्यात व्यापारभन्दा १ खर्ब १ अर्ब ५३ करोड रुपैयाँ बढीको पेट्रोलियम पदार्थको आयात गरेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।

के के आयात हुन्छ ?

नेपालले पेट्रोलियम प्रोडक्ट समुहमा डिजेल, पेट्रोल, खाना पकाउने ग्याँस, हवाई ईन्धन, बिटुमिनलगायत आयात गर्दै आएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक बर्षको ७ महिनामा नेपालले ८४ अर्ब ६१ करोड रुपैयाँ बराबरको ६ लाख ७९ हजार किलोलिटर डिजेल आयात गर्दा ३८ अर्ब ७३ करोड ३३ लाख रुपैयाँ बराबरको ३ लाख ८७ हजार किलोलिटर पेट्राल आयात गरेको छ ।

यस्तै यसै अवधिमा नेपालले ३३ अर्ब ३४ करोड रुपैयाँ बराबरको २९ करोड ३९ लाख किलो खाना पकाउने ग्याँस आयात गरेको छ । यी तिनै वस्तुहरु नेपालले पछिल्लो ७ महिनामा आयात गरेको वस्तुहरुको सूचिको क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा छन् । यस्तै यस अवधिमा नेपालले १२ अर्ब ९७ करोड रुपैयाँ बराबरको १ लाख २ हजार किलोलिटर हवाई ईन्धनसमेत आयात गरेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । नेपालले पेट्रोलियम समुहमार्फत मट्टितेल, टर्पेन्टाईल, प्रोपेन, ब्युटेन, बिटुमिनलगायत आयात गर्ने गरेको छ ।

नेपालले खासगरी पेट्रोलियम पदार्थ डिजेल र पेट्रोल भारतबाट आयात गरेपनि यससम्बन्धी अन्य वस्तुहरु भने भारतलगायत दुवई, सिंगापुर, अष्ट्रेलियालगायतका देशबाट आयात गर्ने गरेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL