Logo

लोत्सेका अध्यक्ष कुँवरको ब्रिफिङ, ‘गुण्डागर्दी शैलीमा मल तोडफोड र लुटपाट भयो, तर राज्यले वास्ता गरेन’

लोत्सेका अध्यक्ष कुँवरको ब्रिफिङ, ‘गुण्डागर्दी शैलीमा मल तोडफोड र लुटपाट भयो, तर राज्यले वास्ता गरेन’



काठमाडौं । लोत्से मलमा मजदूर युनियनका नाममा गुण्डागर्दी शैलीमा प्रवेश गरी मल तोडफोड तथा मलभित्रका पसल लुटपाट गर्ने काम भएको लोत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष दिपक कुँवरले बताएका छन् । लोत्से मलमा भएको घटनाप्रति जानकारी दिँदै अध्यक्ष कुँवरले यातायात मजदूरको नाममा डकैती शैलीमा मलमा तोडफोड तथा त्यहाँभित्र भएका पसल लुटपाट गर्ने काम भएको बताए ।

मजदूर युनियनले फागुन १ गते नयाँ बसपार्क स्थित लोत्से मलमा भेला तथा कार्यक्रममा नाममा योजनावद्ध तरिकाबाट मलको तोडफोड तथा त्यहाँ भएका पसलहरु लुटपाट गरेका थिए । ‘यस नयाँबसपार्कभित्र विभिन्न ट्रेड युनियन सघं संष्ठनले मजदुर भेला तथा आमसभाको लागि ठाउँ मागिएको थियो,’ उनले भने, ‘तर नयाँ बसपार्कभित्र भेला तथा आमसभा गर्दा सवारी आवागमनलाई प्रभाव पर्ने देखिएपछि यस प्रालिका कर्मचारीले भेला अन्य स्थानमा गर्न र त्यसका लागि लोत्सेले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएको अवस्थामा मजदुर नेताले नयाँ बसपार्कभित्रै कार्यक्रम गर्ने अडान लिएर मल तोडफोट तथा पसल लुटपाट गर्ने काम गरे ।’
मजूर संठगनको नाममा पअराधिक क्रियाकलाप गरेपनि हालसम्म सरकारले सो सम्बन्धमा कुनै वास्ता नगरेको उनको गुनासो छ । ‘लोत्से मलमा भएको घटना एउटा प्रतिनिधि पात्र मात्रै हो,’ उनले भने, ‘यदि सरकारले यस्ता घटनाको छानविन गरी सत्यतथ्य बाहिर ल्याएर दोषीलाई कारबाही नगर्ने हो भने के देशमा अबका दिनमा उद्योग व्यवसाय गर्ने अवस्था रहन्छ ?’ अहिले आफु लगायत मलमा पसल संचालन गर्ने व्यवसायीहरुको ज्याननै खतरामा रहेको समेत उनले बताए ।

केही मजदूर नेताले आफ्नो स्वार्थ पुरा गर्नका लागि मलमा तोडफोड तथा लुटपाट गरेको समेत उनको आरोप थियो । आफुले कानूनसम्मत रुपमा काठमाडौं महानगरपालिकासँग निश्चित समयका लागि सम्झौता गरेर बसपार्क व्यवस्थापन तथा मल सञ्चालन गरेको तर नयाँ बसपार्कको सञ्चालक समूहलाई मजदुरका नेताले बारम्बार धम्की तथा दुःख दिने काम आएको समेत उनको भनाई थियो । ‘यदि नयाँबसपार्क कानूनसम्मत छैन भने हामीलाई किन लगानी गरी सञ्चालन गर्न दिइयो ? यदी कानुनसम्मत छ भने निर्धक्क रुपमा हामीलाई काम गर्ने वातावरण बनाइयोस्,’ उनले भने ।

मजदूर संगठनको नाममा भएको तोडफोड तथा लुटपाटबाट करोडौंको क्षति भएको उनले जानकारी दिए । ‘मल मर्मतका लागि मात्रै करिव ७ करोड रुपैयाँ लाग्ने देखिएको छ भने मलभित्र रहेको तीनओट पसलबाट ८।९ करोड रुपैयाँको मोबाइल चोरी भएको छ,’ उनले भने, ‘केही अपराधिक समुहले व्यवसायीको करोडौको क्षति पुर्याउँदा पनि राज्यले यस विषयमा कुनै चासो देखाएको छैन ।’

यसैगरी उनलेलोत्से मलभित्र चोरी तथा तोडफोडबाट भएको क्षतिपूर्ती माग गर्दै घटनामा सङ्लग्न मजदुर नेतालाई अबिलम्ब पक्राउ गरी कारबाही गर्न सरकासँग माग गरेका छन् । ‘उक्त घटनालाई लिएर उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रोष्ठको कार्यकक्षमा भएको सम्झौतामा यस प्रालिलाई नबोलाई उल्टो लोत्सेका कर्मचारीलाई कारबाही गर्ने कुरा गरेर दोषी देखाइयाmे यो एकदमै दुखद कुरा हो,’ उनले भने, ‘यदि सरकारले नै मजदुर संगठनको आफ्नो स्वार्थका लागि चोरी तथा लुटपाट गर्ने गिरोहलाई संरक्षण गर्दै जाने हो भने अबका दिनमा कसरी व्यवसाय गर्ने वातावरण बनाउन सकिन्छ ।’
सो दिन मजदुर नेताले दिनभर गोंगबु नयाँबसपार्कको मुल सडकमा गाडी तेर्स्याएर आमसभा तथा विरोध कार्यक्रम गरेका थिए । दिनभर प्रदर्शन र आमसभामा भिडले साँझ नेपाल प्रहरीका दुईवटा भ्यान जलाउनु, प्रहरी पोष्ट जलाउनुका साथै नयाँ बसपार्कमा सञ्चालित लोत्से मलमा तोडफोड तथा लुटपाट गरेका थिए ।

यसैगरी उक्त घटनालाई लिएर विभिन्न व्यवसायीक संघ संगठनले दोषी माथि छानविन गरी कडा कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL