Logo

गहिरिदै पाकिस्तानको आर्थिक संकट : खाद्यान्नदेखि औषधिसम्मको अभाव, विदेशी मुद्रा सञ्चिति तीन सातामात्रै पुग्ने

गहिरिदै पाकिस्तानको आर्थिक संकट : खाद्यान्नदेखि औषधिसम्मको अभाव, विदेशी मुद्रा सञ्चिति तीन सातामात्रै पुग्ने



काठमाडौं । पाकिस्तानको आर्थिक अवस्था दिनप्रतिदिन नाजुक बन्दै गइरहेको छ । मुलुक सन् १९७१ यताकै सबैभन्दा खराब आर्थिक अवस्थाबाट गुज्रिरहेको छ । जनतासँग खाद्यान्न र औषधिको ठूलो अभाव छ । दैनिक १८ घण्टा बिजुली छैन । इटालीले पाकिस्तानलाई ग्यास पठाउन अस्वीकार गरेको छ । अर्थात् अर्को महिना पनि देशमा ग्यासको अभाव हुनेछ ।

पाकिस्तानको विदेशी मुद्रा सञ्चिति लगभग सुकेको छ । आईएमएफबाट ऋण लिन पनि ढिलाइ भइरहेको छ । देशसँग चुनाव गराउने पैसा पनि छैन भन्ने अवस्था आएको छ । पाकिस्तान डेमोक्रेटिक मुभमेन्टका प्रवक्ताले देशको आर्थिक अवस्थामा सुधार नभए चुनाव स्थगित गर्न सक्ने बताएका छन् । पाकिस्तानको विदेशी मुद्रा सञ्चिति ४.५६ अर्ब डलरमा झरेको छ, जुन नौ वर्षयताकै न्यून स्तर हो । जसका कारण तीन साता मात्रै आयात गर्न सकिन्छ ।

पाकिस्तानले धेरै वस्ुत विदेशबाट आयात गर्छ । यही कारण छिट्टै जनताको समस्या झन् बढ्न सक्छ । जुलाई–सेप्टेम्बरको त्रैमासिकमा पाकिस्तानको वित्तीय घाटा ४३ प्रतिशत पुगेको छ । सञ्चारमाध्यमका अनुसार देशमा अत्यावश्यक वस्तुको मूल्य आकाशिएको छ । खासगरी पिठोको मूल्यले सर्वसाधारणको खल्ती रित्याएको छ । बाढीका कारण देशमा गहुँबाली नष्ट भएको छ । रसिया–युक्रेन युद्धले पनि स्थिति बिगिएको छ ।

पाकिस्तानी रुपैयाँ डलरको तुलनामा २२९ पाकिस्तानी रुपैयाँको स्तरमा पुगेको छ । मुलुकमा डलरको ठूलो अभाव हुँदा कालोबजारीमा २ सय ९० रुपैयाँमा परेको छ । निर्यात र रेमिट्यान्समा आएको कमीका कारण पाकिस्तानी रुपैयाँको भाउ घटेको हो । जुलाई–डिसेम्बरको अर्धवार्षिक अवधिमा मुलुकको चालु खाता घाटा ६० प्रतिशतले घटेको छ । यसको कारण देशको आयात नराम्ररी घटेको हो । यसैबीच, इटालीको एलएनजी व्यापारिक कम्पनी ईएनआईले पाकिस्तानको अर्को कार्गो डेलिभरी गर्न सक्षम नहुने बताएको छ । जसका कारण पाकिस्तानमा ग्यास संकट आउन सक्छ ।

यस्तो अवस्थाबाट देशलाई बाहिर निकाल्न पाकिस्तान सरकारले २४ औं पटक आईएमएफबाट ऋण लिने प्रयास गरिरहेको छ । तर यसका लागि आईएमएफले राखेको सर्त स्वीकार गर्नु पाकिस्तानका लागि महँगो साबित हुन सक्छ । आईएमएफले पाकिस्तान सरकारलाई पेट्रोल र डिजेलको मूल्य बढाउन आग्रह गरेको छ ।

संकटको यो घडीमा युएईले पाकिस्तानलाई थप एक अर्ब डलर ऋण दिएको छ । पाकिस्तानका सबैभन्दा धनी व्यक्ति मिया पाशाले आफ्नो सरकारलाई जिद्दी छोड्न र भारतसँगको सिमाना खोल्न आग्रह गरेका छन् । अनुवाद गरिएको

प्रतिक्रिया दिनुहोस्
MBL