Logo

मंसिरमा महंगी १० प्रतिशत नजिक, सेवा क्षेत्रमा मूल्यवृद्धि उच्च

मंसिरमा महंगी १० प्रतिशत नजिक, सेवा क्षेत्रमा मूल्यवृद्धि उच्च



काठमाडौं । चालू आर्थिक बर्षको मंसिर मसान्तमा बार्षिक विन्दुगत थोक मुद्रास्फीति ९.१५ प्रतिशत पुगेको छ । गत आर्थिक बर्षको सोही अवधिसम्म ७.२२ प्रतिशत रहेको यस्तो मुद्रास्फीति यो बर्ष करिव १० प्रतिशत पुगेको हो ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांक अनुसार मंसिर महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ३.४९ प्रतिशत, १३.१४ प्रतिशत र ४.६९ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि १०.५१ प्रतिशत रहेको छ ।

यस्तै मंसिर महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.३८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.११ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा

पेय पदार्थ समूहको मुद्रास्फीति ५.८५ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.५९ प्रतिशत रहेको छ । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत रेष्टुरेण्ट तथा होटल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १५.५६ प्रतिशत, सुर्तीजन्य पदार्थको ११.८१ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.३९ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको ९.०७ प्रतिशत र पेय पदार्थको ८.८४ प्रतिशतले बढेको छ ।

गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात उप–समूहको मूल्य सूचकाङ्क १७.३३ प्रतिशत, स्वास्थ्यको ११.२२ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको ८.७६ प्रतिशत, घरायसी उपयोगका वस्तुहरुको ८.२९ प्रतिशत र फर्निसिङ्ग तथा घरायसी उपकरणहरुको ८.२९ प्रतिशतले बढेको छ । समीक्षा महिनामा काठमाडौं उपत्यकामा ६.५६ प्रतिशत, तराईमा ८.०० प्रतिशत, पहाडमा ७.३२ प्रतिशत र
हिमालमा ६.४८ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७८ मंसिर महिनामा यी क्षेत्रहरुमा क्रमशः ५.९१ प्रतिशत, ७.५२ प्रतिशत, ६.९५ प्रतिशत र ४.९१ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL