Logo

नेपालीको ६० करोड उठाएको ‘सगुन’ बैंकरप्ट, मिनि आईपीओको नाममा ठगिए नेपाली

नेपालीको ६० करोड उठाएको ‘सगुन’ बैंकरप्ट, मिनि आईपीओको नाममा ठगिए नेपाली



काठमाडौं । नेपालीलाई ठूलो सपाना देखाएर मिनि आईपीओको नाममा गैरकानूनी रुपमा पैसा उठाएको ‘सगुन’ अन्तत बैकरप्ट (टाट पल्टिएको)को अवस्थामा पुगेको छ । सन् २०२१ को अन्त्यसम्म आईपुग्दा सगुनको खुद नोक्सानी १ करोड १८ लाख ७९ हजार डलर अर्थात नेरु १ अर्ब ५६ करोड ८० लाखले घाटामा छ भने २०२१ को घाटामात्रै १५ लाख डलर रहेको छ ।

अमेरिकामा रजिष्टार कार्यालय रहेको सगुनलाई तत्कालिन समयमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य अजयबाबु शिवाकोटीले आफ्नो नाममा ‘सगुन नेपाल’ नामक संस्था दर्ता गरेर गैरकानूनी रुपमा आईपीओ प्रचारप्रसार गरी नेपालीबाट पैसा उठाउन शुरु गरेका थिए । नेपालबाट विदेशमा पैसा पठाएर आईपीओ भर्न गैरकानूनी रहेपनि प्रवासमा रहेका नेपालीका लागि जानकारी दिन नेपालबाट प्रचार गरिएको भन्दै नेपालीले हुण्डीमार्फत पैसा पठाएर उक्त मिनि आईपीओ भरेको आरोप लागेको थियो । सगुनको अमेरिकामा मुख्य लगानीकर्तामा गोविन्द गिरी रहेका छन् । उनले सगुनको आईपीओको सम्बन्धमा नेपालमा पटक पटक प्रचार गर्दै आएका छन् ।

तत्कालिन समयमा सो कम्पनीले एप्पल, गुगलभन्दा पनि बढी प्रतिफल दिने र नेपालीलाई अमेरिकी कम्पनीका मालिक बनाउने भन्दै गैरकानूनी रुपमा आईपीओ भर्न लगाईएको थियो । सोही अनुरुप ४ हजारभन्दा बढी नेपालीले करिव ६० करोड रुपैयाँ उक्त मिनि आईपीओमा लगानी गरेका थिए । सन् २०२१ मा सो कम्पनीले सेयर बिक्रीमार्फत बढी प्रिमियम संकलन गरेकाले नेपालीको अझै बढी रकम फसेको हुन सक्ने सम्बद्ध सरोकारवालाहरु बताउँछन् । सन् २०२० सम्म आईपुग्दा सो कम्पनीको नेटवर्थनै ११ लाख ४० हजार डलरले ऋणात्मक थियो । तर कम्पनीले सन् २०२१ मा आईपुग्दा थप सेयर बिक्री गर्दै ३९ लाख ९७ हजार डलर अतिरिक्त पुँजी उठाउँदै नेटवर्थ १६ लाख डलरले धनात्मक देखाएको छ । यद्यपी सो कम्पनी हालसम्म १ करोड १८ लाख डलरले घाटामा रहेकाले बैंकरप्टको स्थितीमा पुगेको र सोको घोषणा गर्न मात्रै बाँकी रहेको सम्बद्ध विज्ञहरु बताउँछन् ।

नेपालमा ‘सगुन’ को गैर कानूनी धन्दा, मिनी आईपीओको नाममा हुण्डीको काम

कम्पनीले सेयर प्रिमियमबापत सन् २०२० सम्ममा ९२ लाख डलर उठाएकोमा सन् २०२१ मा आईपुग्दा त्यसलाई ह्वात्तै बढाएर १ करोड ३५ लाख डलर पुर्याएको छ । अमेरिकी सेक्युरिटी एण्ड एक्स्चेञ्ज कमिशनबाट प्राईभेट प्लेसमेन्ट (व्यक्तिगत लगानी) को लागि दर्ता भएको सगुनलाई कांग्रेस केन्द्रिय सदस्य अजयबाबु शिवाकोटीले नेपालमा ल्याएर मिनि आईपीओ नाममा पब्लिक अफरिङ भन्दै गैरकानूनी रुपमा सेयर बिक्री वितरण तथा प्रचारप्रसार गरेका थिए ।

सगुन सन् २०१५ मा प्राईभेट प्लेसमेन्टका लागि अमेरिकी सेक्युरिटी एक्स्चेञ्जमा दर्ता भएको थियो । तर सगुनले अमेरिकामा दर्ता भएकै आधारमा विश्व रहेका नेपालीलाई लक्षित गर्दै मिनि आईपीओको नाममा सार्वजनिक रुपमा सेयर निष्काशन गरेर ४ हजारभन्दा बढी नेपालीबाट करिव ६० करोड रुपैयाँ संकलन गरेको थियो । नेपाल धितोपत्र बोर्डले दिएको निर्देशन अनुसार पनि सगुनले विश्वभर रहेका नेपाली राहदानी बाहक कुनै पनि नेपालीलाई सेयर बिक्री गर्न नपाउनेमा तत्कालिन समयमा राजनीतिक पहुँचका आधारमा नेपालमै सगुन नेपाल नामम कम्पनी खडा गरी खुलेआम रुपमा सेयर खरिदका लागि प्रचारप्रसार गरिएको थियो । केही समय अघि बोर्डले एक सूचनानै प्रकाशित गरेर सगुनलाई नेपालमा मिनि आईपीओको नाममा प्रचारप्रचार गर्न रोक लगाएको थियो । तर पछिल्लो समय उक्त कम्पनीनै बैंकरप्टको अवस्थामा पुगेकाले त्यसमा लगानी गर्ने नेपालीहरुको पैसा डुब्ने निश्चित जस्तै भएको सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।

मिनि आईपीओको नाममा नेपालमा सगुनको गैरकानूनी धन्दा, धितोपत्र बोर्डले ल्यायो छानविनको दायरामा

अर्कोतर्फ सगुनले आम्दानी नै नभएको उक्त कम्पनीको प्रति सेयर नेट वर्थको करिव ३ लाख गुणा महङ्गोमा सेयर बिक्री गरेको थियो । सगुनको अंकित मूल्य ०.०००१ अमेरिकी डलर मात्र रहेकोमा उसले सो सेयर पछिल्लो समय नेपालीलाई प्रतिकित्ता ३० डलरमा बिक्री गरेको थियो । तर उसले सन् २०१७ मा प्रतिकित्ता २३ अमेरिकी डलरमा सेयर बिक्री गरेको थियो । उसले त्यतिवेला सेयर बिक्रीबाट २० मिलियन डलर उठाउने लक्ष्य लिएपनि उक्त कम्पनी माथि विश्वसनियता नभएपछि ४ दशमलव ६ मिलियन डलर मात्र उठाउन सफल भएको थियो ।

सगुनले आफुलाई स्टार्टअप कम्पनी भन्दै आफुलाई प्रचारप्रसार गर्दै आएको छ । तर कम्पनी सन् २००६ मा दर्ता भएको र १६ बर्षसम्म कुनै पनि कम्पनी स्टार्टअपको रुपमा रहन नसक्ने समेत सम्बद्ध सरोकारवालाहरु बताउँछन् । सगुन लगातार ७ बर्षदेखि घाटामा रहेको छ ।

नेपालीलाई अमेरिकी कम्पनीको मालिक बनाउने दिवास्वप्ना र सगुनको भित्री कथा

प्रतिक्रिया दिनुहोस्
MBL