Logo

२ महिनामा काठमाडौं महानगरपालिकाले उठायो १ अर्ब ६७ करोड राजस्व, क्यासिनोले तिरे साढे ८६ लाख

२ महिनामा काठमाडौं महानगरपालिकाले उठायो १ अर्ब ६७ करोड राजस्व, क्यासिनोले तिरे साढे ८६ लाख



काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक बर्ष १ अर्ब ६७ करोड १४ लाख ७४ हजार ३१५ रुपैयाँ राजस्व संकलन गरेको छ । महानगरपालिकाले यो राजस्व साउन भदौ र असोज महिनाको । गएको आर्थिक बर्षको असोज ५ गतेसम्म उठाएको हो ।

यो राजस्व गत आर्थिक बर्षको सोही अवधिको तुलनामा २९.८५ प्रतिशतले बढी हो । गत आवको पहिलो २ महिनामा महानगरपालिकाले १ अर्व २८ करोड ७१ लाख ३२ हजार ६६८ रुपैयाँ संकलन गरेको थियो । यो रकम चालु आवको तुलनामा ३८ करोड ४२ लाख ७४ हजार ३१५ रुपैयाँले कम हो ।

विगत बर्षहरुमा अटेर गरेर कर नतिर्ने ठूला करदातालाई पत्राचार गरेर कडाई गरेपछि यस बर्ष राजस्व संकलनको मात्रामा वृद्धि भएको महानगरपालिकाले जानकारी दिएको छ । राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीका अनुसार गएको बर्षहरुमा पत्राचार भएपनि करदाताले टेरेका थिएनन् ।

यस अघि मनोरञ्जन कर तिर्न नमानेका क्यासिनो सञ्चालकहरुलाई पत्राचार गरेपछि चालु आर्थिक बर्षको यस अवधिसम्ममा क्यासिनोहरुले मात्रै ८६ लाख ४५ हजार १८९ रुपैयाँ कर तिरेका छन् । यसैगरी करको दायरामा आउन नमानेका संघ संस्थाले १ करोड ८० लाख ७३ हजार ३११ रुपैयाँ ६७ पैसा सम्पत्ति कर तिरेका छन् । यस्तै बहाल कर बुझाउन आनाकानी गरिरहेका संघ संस्थाहरुबाट ७८ लाख ३६ हजार ४४१ रुपैयाँ ६६ पैसा राजस्व असुली भएको राजस्व विभागका प्रमुख डा. अधिकारीकोे भनाइ छ ।

पत्राचार गरिएकामध्ये व्यवसाय करतर्फ १८ लाख रुपैयाँ कर असुली भएको छ । नियमित करदाताबाहेक कर तिर्न अटेर गर्नेहरुबाट करिब ५० करोड रुपैयाँ राजस्व थप हुने प्रक्षेपण गरिएको छ । यसमध्ये विद्युत प्राधिकरणले मात्र २६ करोड १९ लाख रुपैयाँ सम्पत्ति कर तिर्नुपर्छ, डा. अधिकारीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
MBL