Logo

९ महिनामा क्युआर कोड स्क्यान गरी साढे ५८ अर्ब बढीको भुक्तानी, अनलाइनमार्फत साढे ३ अर्बको सामान खरिद

९ महिनामा क्युआर कोड स्क्यान गरी साढे ५८ अर्ब बढीको भुक्तानी, अनलाइनमार्फत साढे ३ अर्बको सामान खरिद



काठमाडौं । गत साउनयता नेपालमा क्युआर कोड स्क्यान गरी ५८ अर्ब बढीको भुक्तानी भएको छ । भुक्तानीको नयाँ विधिको प्रयोग गर्दै नेपालीहरुले गत साउनदेखि चैत मसान्तसम्म विभिन्न वस्तु तथा सेवा प्रयोग गरेवापत ५८ अर्ब ७७ करोड ६० लाख रुपैयाँ भुक्तानी गरेका हुन् । नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको तथ्यांक अनुसार चालु आर्थिक बर्षको ९ महिनामा १ करोड ६१ लाख ५५ हजार ६ सय पटक क्युआर कोडमार्फत भुक्तानी भएको हो ।

laxmi

अघिल्लो बर्षको भदौ महिनादेखि सुरु भएको क्युआर कोडमार्फत भुक्तानी नेपालमा पछिल्लो समय फैलँदो छ । नेपाल राष्ट्र बैंक र गभर्नर महाप्रसाद अधिकारी आफै पनि यसको प्रवद्र्धनमा लागिपरेका छन् । गभर्नर महाप्रसाद अधिकारी त एकताका हरेक क्षेत्रमा क्युआर कोडमार्फत भुक्तानीको व्यवस्था गरी नगदरहित कारोबारलाई प्राथमिकतामा राख्ने अभियानजस्तै चलाएका थिए ।

त्यसपश्चात धेरैजसो पसल, पेट्रोलपम्प, तरकारी पसललगायत मन्दिरको दानपेटिकामा समेत क्युआर कोड राख्न थालियो । अहिलेकै कुरा गर्दा सार्वजनिक गाडीमा पनि क्युआर कोडमार्फत भुक्तानीको व्यवस्था गर्ने कुरा अघि बढेको छ । रेष्टुरेन्टमा जाँदा होस या सपिङ मलमा सामान किन्न जाँदा क्युआर कोडमार्फत भुक्तानी गर्ने व्यवस्था मिलाईएको हुन्छ । हाल धेरैजसोले आफ्नो पर्समा वा खल्तीमा पैसा बोक्न छोडेका छन् । त्यसको साटो मोबाइल पर्स ९वालेट० मा पैसा लोड गरेर भुक्तानी गर्ने प्रचलन बढ्दै गएको देखिन्छ ।

पछिल्लो ९ महिनाको तथ्यांक हेर्दा क्युआर कोडमार्फत सबैभन्दा बढी भुक्तानी चैत महिनामै भएको देखिन्छ । चैत महिनामा २७ लाख २३ हजार पटकमा ८ अर्ब ५४ करोड रुपैयाँ भुक्तानी भएको देखिन्छ । यस्तै फागुन महिनामा ७ अर्ब ७६ करोड, माघमा ६ अर्ब ८९ करोड, पुषमा ६ अर्ब ५२ करोड रुपैयाँको भुक्तानी क्युआर कोडमार्फत भएको छ । यस्तै मंसिर, कार्तिक, असोज, भदौ र साउन महिनामा क्रमशः ६ अर्ब २८ करोड, ५ अर्ब ३६ करोड, ६ अर्ब ९ करोड, ५ अर्ब ८५ करोड र ५ अर्ब ५ करोड रुपैयाँको भुक्तानी भएको देखिन्छ । ९ महिनाको तुलना गर्दा साउनयता प्रत्येक महिना करिव ९ अर्ब रुपैयाँले क्युआर कोडमार्फत हुने भुक्तानी बढिरहेको देख्न सकिन्छ ।

३ अर्ब ४७ करोडको अनलाइन सपिङ

पछिल्लो ९ महिनाको अवधिमा नेपालीहरुले घरमै बसीबसी ३ अर्ब ४७ करोड ३० लाख रुपैयाँ बराबरको अनलाईन सपिङ गरेका छन् । पछिल्लो समय बढेको अनलाइनमार्फत वस्तु खरिद गरी भुक्तानी गर्ने प्रचलनका कारण नेपालमा इकमर्श व्यवसाय फस्टाउँदो छ । जसका फलस्वरुप ९ महिनामै करिव साढे ३ अर्ब रुपैयाँ बराबरको वस्तु अनलाईनमार्फत खरिद गरी भुक्तानी गरिएको पाईएको हो । नेपालीहरुले साउनदेखि चैत मसान्तसम्म ६ लाख १९ हजार १ सय ६५ पटक अनलाइनमार्फत वस्तु खरिद गरी भुक्तानी गरेको पाईएको हो ।

यी त भए पछिल्लो प्रविधिको प्रयोग गरी भुक्तानी भएको विवरण । मानिसहरुले स्मार्टफोनको बढ्दो प्रयोगसँगै नदगरहित कारोबार उल्लेख्य रुपमा बढाएका छन् । जसका फलस्वरुप चालु आर्थिक बर्षको चैत मसान्तसम्म मोबाईल बैंकिङमार्फत ८ खर्ब ११ अर्ब, वालेटमार्फत १ खबै ३५ अर्ब, इन्टरनेट बैंकिङमार्फत १ खर्ब १९ अर्ब र कनेक्ट आइपीएसमार्फत २१ खर्ब ६५ अर्ब रुपैयाँ बराबरको भुक्तानी भएको देखिन्छ ।

नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समय बढीरहेको प्रविधिको प्रयोगसँग भौतिक नोटहरुको प्रयोग घट्दो छ । यसैको बढ्दो प्रयोगका कारण एटिएम मेसिनबाट पैसा झिक्नेको संख्या पनि घटिरहेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । चालु आर्थिक बर्षको ९ महिनामा जम्मा ६ खर्ब ९ अर्ब रुपैयाँ एटिएम मेसिनबाट झिकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL