Logo

१५२ देशसँग नेपालको वैदेशिक व्यापार : २४ देशसँग नाफामा, १२८ देशसँग घाटामा

१५२ देशसँग नेपालको वैदेशिक व्यापार : २४ देशसँग नाफामा, १२८ देशसँग घाटामा



काठमाडौं । दैनिक उपभोग्य वस्तुदेखि कृषि उत्पादनसम्म आयात गरेर चलिरहेको नेपालले १५२ देशसँग वैदेशिक व्यापार गरेको छ । नेपालले धेरैजसो वस्तुहरु छिमेकी देश भारत र चीनबाट आयात गरेपनि पछिल्लो समय अन्य देशहरुबाट पनि आयात बढ्दै गएको छ । भन्सार विभागका अनुसार नेपालले पछिल्लो ७ महिनामा १ सय ५२ देशसँग वैदेशिक व्यापार गर्दा १ सय २८ देशसँग व्यापार घाटामा छ । यो सूचीमा पहिलोदेखि पाँचौं स्थानसम्म क्रमशः भारत, चीन, इन्डोनेसिया, दूबई र अर्जेन्टिना रहेका छन् । यस्तै धेरै घाटाको व्यापार गरेको पाँचौं राष्ट्रमा भने अमेरिका छ । पछिल्लो ७ महिनामा नेपालले भारत र चीनसँग क्रमशः १ खर्ब ६ अर्ब ३५ करोड र ४८ अर्ब ७९ करोड रुपैयाँको निर्यात व्यापार गरेको छ । यस्तै नेपालले भुटान, केन्या, सुडान, कंगो, युगाण्डालगायतका अतिकम विकसित देशसँग पनि व्यापारघाटा बेहोरेको देखिन्छ ।

laxmi

यो अवधिमा नेपालको २४ देशसँगको व्यापार भने नाफामा रहे को छ । पछिल्लो ७ महिनाको तथ्यांकलाई नियाल्दा नेपालले सबैभन्दा बढी व्यापार नाफा कम्बोडियासँग गरेको छ । कम्बोडियामा नेपालले ७ महिनामा १५ करोड ८४ लाख रुपैयाँ बराबरको वस्तु निर्यात गर्दा यहाँबाट जम्मा ३ करोड रुपैयाँ बराबरको वस्तु मात्रै आयात गरेको छ । यसमार्फत नेपालले १२ करोड ५५ लाख ७० हजार रुपैयाँ व्यापारनाफा कमाएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । तथ्यांकअनुसार नोपलले व्यापार नाफा गरेको देशहरुमा क्रमशः अल्जेरिया, गिनिया, न्यु क्यालेडोनिया, अफगानिस्तानलगायतका देशहरु रहेका छन् । पछिल्लो ७ महिनामा यी २४ देससँग नेपालले कुल १ अर्ब २ करोड ९५ लाख रुपैयाँको व्यापा गर्दा ३९ करोड १ लाख ७० हजार रुपैयाँ नाफा कमाएको छ । यी २४ देशबाट नेपालले ७ महिनामा ४० करोड ९६ लाख ६६ हजार रुपैयाँ बराबरको वस्तु आयात गर्दा ७९ करोड ९८ लाख ३६ हजार रुपैयाँ बराबरको वस्तु निर्यात गरेको देखिन्छ ।

चालु आर्थिक बर्षको पछिल्लो ७ महिनाको तथ्यांक नियाल्दा पनि नेपालले १० खर्ब बढिको व्यापारघाट व्यहोरेको अवस्था छ । मंगलबार भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकले नेपालले ७ महिनामा १० खर्ब १५ अर्ब ८० करोड ८४ लाख रुपैयाँ व्यापारघाटा व्याहोरेको छ । यस अवधिमा नेपालले अधिकतम वस्तु विदेशबाट आयात गरेको देखिन्छ । विभागको तथ्यांक अनुसार नेपालले यस अवधिमा ११ खर्ब ४७ अर्ब ४६ करोड ४४ लाख रुपैयाँ बराबरको वस्तु आयात गर्दा नेपालबाट निर्यात भने जम्मा १ खर्ब ३१ अर्ब ६५ करोड ६० लाख रुपैयाँको भएको छ ।

यसरी नेपालले गर्ने निर्यातको तुलनामा आयात अधिकतम बढी हुँदा बेहोर्ने घाटा पनि अत्याधिक नै छ । विभागको तथ्यांक अनुसार हाल नेपालको कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ८९ दशमलव ७९ प्रतिशत हुँदा निर्यातको हिस्सा भने जम्मा १० दशमलव २९ प्रतिशत छ । यसरी हेर्दा नेपालले गर्ने कुल निर्यातको तुलनामा ७ महिनामा हुने पेट्रोलियम पदार्थको आयात उच्च छ । अर्थात पछिल्लोे ७ महिनामा नेपालले १ खर्ब ८२ अर्ब २ करोड रुपैयाँ बढीको पेट्रोलियम आयात गरेको छ । यो नेपाललको कुल निर्यातको तुलनामा ५१ अर्ब रुपैयाँले बढी हुन आउँछ । त्यसो त नेपालले विभिन्न देशबाट पेट्रोलियम मात्रै नभई अन्य नेपालमै उत्पादन हुने वस्तुहरुको पनि उत्तिकै मात्रामा आयात गर्ने गरेको छ । जसका कारण नेपालले गर्ने आयातको व्यापार उच्च देखिन्छ ।

विश्वका धेरैजसो विकसित देशहरुले वैदेशिक व्यापारमा नाफाको व्यापार गर्छन् । एक तथ्यांक अनुसार सन २०२० मा नेपालको छिमेकी देश चीनले मात्रै वैदेशिक व्यापारमा ५ खर्ब ३५ अर्ब डलर बराबरको नाफा गरेको थियो । कुनै देशले विश्व बजारबाट गर्ने आयातको तुलनामा निर्यात बढी भएको अवस्थामा व्यापार नाफा हुन्छ । यस्तै सोही देशले विश्वबजारबाट गर्ने आयात उच्च भई निर्यात कम भयो भने व्यापारघाटा हुन्छ । हाल नेपाल आयातमा निर्भर रहेको छ । नेपालले पछिल्ला बर्षहरुमा प्रतिबर्ष झण्डै बजेटको आकारअनुसारकै व्यापारघाटा सहँदै आएको छ । अर्थात नेपालले गर्ने निर्यात व्यापारको तुलनामा आयात व्यापारको हिस्सा ८० देखि ९० प्रतिशत हुँदा प्रत्येक बर्ष दशौं खर्ब रुपैयाँ बराबरको व्यापारघाटा बेहोरिरहेको अवस्था छ ।

प्रतिक्रिया दिनुहोस्
MBL