Logo

महासंघको विधान संसोधन लफडा : कार्यसमितिले पुनः पदाधिकारीमै फकाईदियो, मुरारकाका कारण पदाधिकारीमा एक्लिदै अध्यक्ष गोल्छा

महासंघको विधान संसोधन लफडा : कार्यसमितिले पुनः पदाधिकारीमै फकाईदियो, मुरारकाका कारण पदाधिकारीमा एक्लिदै अध्यक्ष गोल्छा



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा पछिल्लो समय पेचिलो बन्दै गएको विधान संसोधनको विषय पुनः पदाधिकारीमा फर्किएको छ । महासंघको पदाधिकारी बैंठकबाट रिजेक्ट भएको विधान संसोधनको विषय त्यसको केही दिनपछि विधान संसोधन समितिका सभापति एवं पूर्व अध्यक्ष कुशकुमार जोशी र विधान संसोधन समितिका सहसभापति एवं पूर्व अध्यक्ष पशुपति मुरारकारले पत्रकार सम्मेलननै गरेर विधान संसोधनको मस्यौदा अध्यक्ष शेखर गोल्छालाई हस्तान्तरण गरेका थिए ।

सोही अनुरुप महासंघ अध्यक्ष गोल्छाले आज (बुधबार) भएको कार्यसमिति बैंठकमा एजेण्डा विनानै उक्त मस्यौदाको वारेमा जानकारी दिँदै बुझाउन खोजेका थिए । तर, अध्यक्षको उक्त प्रस्ताव लगत्तै महासंघको बहुमत कार्यसमितिले सो मस्यौदा पदाधिकारी बैंठकबाट पारित भएर आउनुपर्ने भन्दै त्यसभन्दा अघि कार्यसमितिमा बुझाउन वा छलफलका लागि अघि बढाउन नमिल्ने भन्दै विरोध गरेका थिए । सोही अनुरुप उक्त मस्यौदाको वारेमा आज भएको कार्यसमिति बैंठकले बुझाउन र जानकारी गराउन समेत दिएन । साथै अबका दिनमा पदाधिकारी बैंठकबाट पारित भएर आएपछि मात्रै कार्यसमिति बैंठकलाई जानकारी गराउने वा छलफलका लागि अघि बढाउनुपर्ने छ ।

केही समय अघि पदाधिकारी बैंठकबाट रिजेक्ट भइसकेको उक्त विधान संसोधनको मस्यौदा पुनः सोही ठाउँमा पठाउँदा स्वीकृत नहुने कार्यसमिति बैंठकमा सहभागी एक सदस्यले जानकारी दिए । ‘पदाधिकारी बैंठकमा अध्यक्ष गोल्छा बाहेक सबै विधान संसोधनको विरोधमा छन्,’ आजको कार्यसमिति बैंठकमा सहभागी एक सदस्यले भने, ‘तसर्थ यो पटकको लागि विधान संसोधनको विषय टुङ्गियो ।’

ती सदस्यका अनुसार अबका दिनमा पदाधिकारी बैंठकबाट स्वीकृत भएर आएको अवस्थामा मात्रै कार्यसमिति बैंठकले स्वीकृत गरेर छलफलका लागि अघि बढाउन सक्ने छ । तर पदाधिकारीका ८५ प्रतिशतभन्दा बढी सदस्य विधान संसोधनको विरोधमा छन् ।

चुनावबाट बहुमत पदाधिकारी पाएका अध्यक्ष गोल्छा किन एक्लिए ?

महासंघको गत वर्ष सम्पन्न निर्वाचनबाट अध्यक्ष शेखर गोल्छाको पक्षमा पदाधिकारीमा बहुमत थियो । महासंघको कुल ७ सदस्यीय पदाधिकारीमा वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र एसोसिएट्सतर्फका उपाध्यक्ष रामचन्द्र संघईँ मात्र अध्यक्ष इतर समुहका थिए । त्यसमा पनि उपाध्यक्ष संघईँ मध्यमार्गी भुमिकामा देखिदै आएका थिए । तर गोल्छा सहित निवर्तमान अध्यक्ष भवानी राणा, जिल्ला तथा नगर अध्यक्ष दिनेश श्रेष्ठ, बस्तुगत उपाध्यक्ष अञ्जन श्रेष्ठ र कोषध्यक्ष शकुन्तलाल हिराचन उनको समुहका थिए भने उनको हरेक कामलाई समर्थन गर्दै आएका थिए ।

तर पछिल्लो समय महासंघ पूर्व अध्यक्ष एवं विधान संसोधन समितिका सहसभापति पशुपति मुरारकाले ती सबै पदाधिकारीलाई अघि बढ्न नदिनेगरी विधान संसोधनको मस्यौदा तयार पारेपछि सबैले अध्यक्ष गोल्छाको साथ छाडेको महासंघ सम्बद्ध स्रोतले जानकारी दिएको छ । ‘अहिले मुरारकाको स्वार्थमा विधान संसोधनको मस्यौदामा ३ कार्यकाल कार्यसमिति सदस्य भएको व्यक्तिमात्रै उपाध्यक्षमा उठ्न पाउने छ भने वरिष्ठ उपाध्यक्ष पदनै खारेज गरिएको छ,’ ती सदस्यले भने, ‘जसका कारण अबको चुनावमा बाहालवाला उपाब्ध्यक्षहरु कि त पुनः उपाध्यक्ष पदमै चुनाव उठ्नु पर्यो अन्यथा महासंघबाट बाहिरिनुको विकल्प छैन ।’ महासंघको अध्यक्ष गोल्छा पूर्व अध्यक्ष मुरारकाको स्वार्थमा चल्दा उनको समर्थनमा रहेको सम्पूर्ण पदाधिकारीहरु वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको पक्ष अर्थात अहिलेको अवस्थामा विधान संसोधन गर्न नहुने पक्षमा देखिएका छन् ।

महासंघ उच्च स्रोतका अनुसार अबका दिनमा पदाधिकारी बैंठकमा विधान संसोधनको एजेण्डा प्रस्तुत गर्दा अध्यक्ष गोल्छा मात्रै त्यसको पक्षमा हुने छन् भने अन्य सबै पदाधिकारी त्यसको विरोधमा हुनेछन् । यस अघिनै वरिष्ठ उपाध्यक्ष ढकाललगायतका अध्यक्ष उपाध्यक्ष तथा कोषाध्यक्षले विधान संसोधनको खुलेरै विरोध गरिसकेका छन् । महासंघ पूर्व अध्यक्ष मुरारकारले निहित स्वार्थमा विधान संसोधन प्रक्रिया अघि बढाएकै कारण पदाधिकारीमा बहुत रहेका अध्यक्ष गोल्छा एक्लिन पुगेको महासंघ सदस्यहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
MBL