Logo

उपप्रधानमन्त्री पौडेलको स्पष्टिकरण : गिट्टी बालुवा निकासीको नकारात्मक प्रचार भयो, चुरेको एक चिम्टी पनि निकाल्दैनौं

उपप्रधानमन्त्री पौडेलको स्पष्टिकरण : गिट्टी बालुवा निकासीको नकारात्मक प्रचार भयो, चुरेको एक चिम्टी पनि निकाल्दैनौं



काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको कार्यान्वयनमा कुनै कसुर बाँकी नराख्ने स्पष्ट पारेका छन् । सोमबार नेपाल आर्थिक पत्रकार संघ (नाफीज)ले आयोजना गरेको आर्थिक बर्ष २०७८/७९ को बजेट कार्यान्वयन र यसका चुनौतिबारे कार्यक्रममा उनले बजेट कार्यान्वयनको चुनौतिलाई मुख्य रुपमा हेरिएको बताएका हुन् । उनले यसको कार्यान्वयनका लागि भन्दै विभिन्न मन्त्रालयगत छलफल, कार्ययोजना, गोष्ठीलगायत तयार भईरहेको र सोहीअनुसार कार्यान्वयनमा लैजाने बताएका हुन् ।

जसका लागि हाल अर्थमन्त्रालयले सबै मन्त्रालयहरुसँग विभिन्न चरणमा बैठक बस्ने, बजेट कार्यान्वयनको कार्यतालिका बनाउनेलगायतका कामहरु गरिरहेको उनको भनाई छ । यस्तै उनले पछिल्लो समय बजेटमा समेटीएको बिषय गिट्टी बालुवा निकासी गर्ने विषयमा बढि नकारात्मक प्रचार बाजी भएको आरोप लगाएका छन् । उनले चुरे ध्वस्त हुने भन्दै गरिएको नकारात्मक प्रचारमा कुनै सत्यता नभएको उल्लेख गरेको हुन् । ‘हामी चुरे क्षेत्रबाट एक डोको माटो र गिट्टी निकाल्दैनौं,’ उनले भने, ‘यस्तो नकारात्मक प्रचारमा नलाग्न सबैसामु आग्रह गर्दछु ।’

कार्यक्रममा बोल्दै अर्थसचिव सिशिर कुमार ढुंगानाले बजेट कार्यान्वयनको विषयलाई मन्त्रालयले विशेष जोड दिएको बताए । उनले कार्यक्रममा बोल्दै बजेट कार्यान्वयनका लागि विभिन्न मन्त्रायलाई कार्ययोजना बनाई कार्यतालीका तयार गर्ने आग्रह गरिएको बताए । उक्त कार्यतालिकाहरु अर्को हप्तासम्म तयार हुने र सोहीअनुसार बजेट कार्यान्वयनको दिशामा जाने उनको भनाई थियो ।

यस्तै कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी हप्तादेखि आगामी आर्थिक बर्षको मौद्रिक नीतिको गृहकार्य गरिने जानकारी दिएका छन् । तरलता व्यवस्थापन, आर्थिक पुनरुत्थानलगायत विषयमा गम्भिर भएर ल्याईन मौद्रिक नीतिका लागि विभिन्न क्षेत्रसँग छलफलको काम आगामी हप्तादेखि अघि बढाउने उनको भनाई थियो । यस्तै विभिन्न बैंकहरुले दिने सहुलियतपुर्ण कर्जा, पुनर्कर्जालगायतका बिषयहरुमा राष्ट्र बैंकले बिशेष ध्यान दिएर अघि बढिहेको उनको भनाई थियो ।

कार्यक्रममा पूूर्व अर्थसचिव डा। शान्तराज सुवेदीले बजेट कार्यान्वयनका लागि तत्काल ३ अध्यादेश ल्याउनुपर्ने बताएका छन् । कार्यक्रममा उनले सार्वजनिक खरिद ऐनसम्बन्धी अध्यादेश, आयोजना कार्यान्वयनसम्बन्धी अध्यादेश र आयोजना निर्माण तथा मुआब्जा व्यवस्थापनसम्बन्धी अध्यादेश ल्याए मात्रै सरल तरिकाले बजेटलाई कार्यान्वयनको बाटोमा लिन सकिने बताए । उनले यो सरकार पनि स्थितर नभएकाले बजेट कार्यान्वयनमा ठुलो चुनौति देखिन सकिने औंल्याएका छन् ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बजेटमा धेरै सकारात्मक पक्षहरु रहेको बताएका छन् । धेरै एक्जिम कोड, भन्सारमा सहजीकरण, भेहिकलमा भ्याट, सिएसआर खर्चलगायतका कुराहरु सकारात्मक भएपनि कार्यान्वयनमा जोड दिनुपर्ने उनको भनाई थियो । उनले सरकारले निजी क्षेत्रको सहकार्यमा जोड दिएर कार्यान्वयनलाई विशेष ध्यान दिनुपर्ने बताए ।

यस्तै उनले सरकारले सबै कुराहरु बजेटमा सकारात्मक ल्याएपनि निजी क्षेत्रको सुझाव अनुसार सम्पत्ति अभिलेखिकरणको व्यवस्था, राजस्व न्यायीकरणको सिद्धान्त र सार्वजनिक खरिद ऐन संशोधन भने नगरेको गुनासो गरेका छन् ।

यस्तै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बजेटमा कोरोना विरुद्धको खोप र नियन्त्रणका विषयहरुमा विशेष जोड दिनुपर्ने बताएका छन् । उनले कोरोना विरुद्धको खोपमा विशेष ध्यान दिएर कार्यान्वयन गरी सबैसम्म खोपको पहूँच पुर्याउनमा जोड दिनुपने बताए । उनले बजेटमा समेटिएका प्राय बुँदाहरु सकारात्मक भएपनि कार्यान्वयनको पक्षलाई ध्यान दिनुपर्ने बताए ।

यस्तै नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णु अग्रवालले बजेटमा निजी क्षेत्रका प्राय मागहरु समेटीएको बताए । उनले प्राय कुराहरु समेटिएपनि कार्यान्वयनलाई जोड दिएमात्रै निजी क्षेत्र लाभान्वीत हुन सक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL