Logo

पहुँचवालाको कब्जामा कोरोना पुनर्उत्थान कोष, पलायन हुने अवस्थामा साना व्यवसायी

पहुँचवालाको कब्जामा कोरोना पुनर्उत्थान कोष, पलायन हुने अवस्थामा साना व्यवसायी



काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणले पारेको असर कम गर्न भन्दै सरकारले चालु आर्थिक बर्षको बजेटमार्फत व्यवस्था गरेको ५० अर्ब रुपैयाँको कोरोना राहत तथा पुनर्उत्थान कोष अझै कार्यान्वयन नभएको गुनासो बढ्दै गएको छ । सरकारले शुरुमा ५० अर्बको कोष बनाएपनि हाल राष्ट्र बैंकमा कायम रहेको पुनर्कर्जा कोषको (४२ अर्ब ५० करोड रुपैयाँ) बढीमा ५ गुणासम्म पुनर्कर्जा प्रवाह गर्न पाउने व्यवस्था छ ।

जसअनुसार राष्ट्र बैंकले २ खर्ब १२ अर्ब ८८ करोड रुपैयाँ बराबर रकम पुनर्कर्जाका रूपमा प्रवाह गर्न पाउँछ । यसको ७० प्रतिशत (१ खर्ब ४८ अर्ब रुपैयाँ) बैंक तथा वित्तीय संस्थाले एकमुष्ट रूपमा पाउँछन्  । २० प्रतिशतअन्तर्गत ४२ अर्ब ५० करोड रुपैयाँ राष्ट्र बैंकले ग्राहक पुनर्कर्जा शीर्षकमा खर्च गर्न सक्छ । बाँकी २१ अर्ब २५ करोड रुपैयाँ लघुवित्त वित्तीय संस्थाले एकमुष्ट रूपमा पाउँछन् र आफ्ना ग्राहकलाई कर्जा प्रवाह गर्न सक्ने व्यवस्था छ ।

तर, सरकारले बजेटमा र नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा उल्लेख गरेका कोरोना प्रभावित व्यवसायीका लागि राहत कोषमार्फत दिने भनिएको सहुलियत कर्जा हालसम्म पनि पाउन नसकेको व्यवसायीहरु बताउँछन् । सरकारले हालसम्म कोषमार्फत ८५ अर्ब बढी रकम व्यवसायीले सहुलियत कर्जा प्राप्त गरिसकेको बताएपनि यस्ता सहुलियत ठूला व्यवसायीको हातमा मात्र पुगेको साना तथा मझौला व्यवसायीहरु बताउँछन् ।

चालु आवको बजेटमार्फत सरकारले कोरोनाबाट प्रभावित पर्यटन, घरेलु, साना तथा मझौला उद्योगहरुलाई राहत पुग्ने गरी ५ प्रतिशत व्याजदरमा कर्जा उपलब्ध गराउने गरी ५० अर्बको कोरोना पुनर्उत्थान कोष खडा गर्ने घोषणा गरेको थियो । कोष घोषणा गरेको ७ महिना वितिसक्दा पनि अझै उक्त कोषमार्फत पर्यटन क्षेत्रका प्राय उद्योगहरुले सहुलियत कर्जा पाउन नसकेको ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदी बताउँछन् । सुवेदीका अनुसार हालसम्म धेरैजसो पर्यटन व्यवसायीहरुले उक्त कर्जा पाएका छैनन् । ‘सरकारले तोकेबमोजिम हामीहरु पनि ५ प्रतिशत ब्याजदरमा उक्त कोषमार्फतको कर्जा लिन ईच्छुक छौं,’ उनले भने, ‘तर हामीलगायत धेरै व्यवसायीहरुलाई यस्तो कर्जा दिईएको छैन ।’

यता होटल एशोसिएसन अफ नेपाल (हान)का प्रथम उपाध्यक्ष विनायक शाह पनि धेरैजसो पर्यटक व्यवसायीहरुले उक्त कर्जा लिन नपाएको गुनासो गर्छन । बिजखबरसँगको कुराकानीमा शाहले सहुलियपूर्ण भनिएको उक्त कर्जा अझै पाउन नसकेको बताए । ‘हामीले हालसम्म यसको जानकारी पाएका पनि छैनौं,’ उनले भने, ‘सरकारका नजिकका मान्छे र आसेपासेले पाए कि ? नेपाल गार्मेन्ट संघका अध्यक्ष चण्डीप्रसाद ढकाल भने व्यवसायीहरुले पुनर्कर्जा पाईरहेको बताउँछन् । ‘हामीले पेश गरेका केही फाईलहरु नेपाल राष्ट्र बैंकबाट एप्रुल भएर आएका छन्,’ उनले भने, ‘फाईलहरु एप्रुभ भएर आएपनि पैसा नै कहिले आउँछ भनेर भन्न सकिने अवस्था छैन ।’

पहुँचवालाहरुलाई मात्रै राहत

बजेटमार्फत सरकारले नेपाल राष्ट्र बैंकमार्फत खडा कोषले व्यवसाय सञ्चालन तथा निरन्तरता, प्रभावित क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानी र अतिप्रभावित क्षेत्रको रोजगारी गुम्नेहरूलाई उद्यमशीलता विकासको अवसर दिन ५ प्रतिशत ब्याजमा कर्जा उपलब्ध गराउने मौद्रिक नीतिमा उल्लेख छ ।

तर, कोरोना महामारी केही हदसम्म निस्तेज भई सामान्य जीवनपद्धतिमा फर्किदासम्म पनि कोषमार्फतको रकम व्यवसायीले नपाउनुले अप्ठ्यारो भएको हानका वरिष्ठ उपाध्यक्ष विनायक शाह बताउँछन् । सरकारसँग नजिक भएका व्यवसायीहरुले उक्त कोषमार्फतको कर्जा पाएपनि साना मझौला र घरेलु उद्योगहरुले भने उक्त कर्जा नपाएको गुनासो धेरै छ । सहुलियत कर्जामा पहुँचवालाहरुको हालीमुहाली हुँदा साना उद्योगी तथा व्यवसायीहरु छायाँमा परेको उनको भनाई छ । अहिले ठूला र तारे होटलहरुले मात्रै यस्तो कर्जा पाएको र साना व्यवसायीहरु मर्कामा परेको टानका अध्यक्ष सुवेदी बताउँछन् ।

‘हाम्रो माग साना–ठूला सबैले सरकारले उपलब्ध गराएको सहुलियत कर्जा पाउनुपर्छ भन्ने हो,’ उनले भने, ‘तर ठूला व्यवसायहरुले पाउँदा साना, मझौला र घरेलु उद्योग व्यवसायीहरु भने छायाँमा परेका छौं । यता नेपाल राष्ट्र बैंक भने सहुलियत कर्जा समानरुपमा निरन्तर प्रवाह भईरहेको बताउँछ । राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टका अनुसार कर्जाको लागि आवेदन दिने सबैलाई कर्जा प्रवाह भईरहेको छ । ‘तथ्याङ्क अनुसार ३४ हजार भन्दा बढी उद्यमीले १५ लाख रुपैयाँ सम्मको सहुलियत कर्जा लिईसकेका छन् भने सबै क्षेत्रमा गरी हालसम्म ८४ अर्ब रुपैयाँ पुनर्कर्जा प्रबाह भैरहेको छ,’ उनले भने, ‘तर, पछिल्लो सहुलियत कर्जाका लागि आवेदन दिनेको संख्या कम भएकाले राष्ट्र बैंकले समय समेत थप गरेको छ । यदि आवेदन दिएर पनि कसैले पाउनु भएको छैनन् भने नियमन विभागको गुनासो गर्न सक्नुहुनेछ यस विषयमा राष्ट्र बैंकले सम्बोधन गर्ने छ ।’

विभिन्न बैंकहरुले आफ्ना शाखामार्फत पुस मसान्तसम्म ८३ अर्ब १३ करोड रुपैयाँ पुनर्कर्जा प्रवाह भईसकेको नेपाल राष्ट्र बैंक गभर्नर कार्यलयका निर्देशक नारायण प्रसाद पोख्रेलले जानकारी दिए । उनका अनुसार यसमा पर्यटन, घरेलु, साना तथा मझौला उद्योगहरुका लागि बनाइएको कोषअन्तर्गतको कर्जा पनि परेको छ । पुष मसान्तसम्म विभिन्न ४५ बैंकका ५ हजार ८९ शाखाहरुमार्फत देशभरका ४० हजार ९ सय ८३ जना ग्राहक र २ सय ३० ओटा उद्योग प्रतिष्ठानलाई पुर्नकर्जा उपलब्ध भइसकेको छ ।

पुस मसान्तसम्म होटल क्षेत्रका लागि १२ अर्ब ५४ करोड र पर्यटन क्षेत्रका लागि मात्रै १ अर्ब ५२ करोड रुपैयाँ पुनर्कर्जा प्रवाह भएको तथ्यांकमा छ । राष्ट्र बैंकले लघु, घरेलु तथा साना उद्यम, विशेष र साधारण गरी तीन प्रकारका पुनर्कर्जा लिन सकिने गरी प्रबन्ध गरेको छ ।

लघु, घरेलु तथा साना उद्यमका लागि केन्द्रीय बैंकले दुई प्रतिशत ब्याजदरमा बैंक तथा वित्तीय संस्थालाई ऋण उपलब्ध गराउने व्यवस्था छ भने बैंक तथा वित्तीय संस्थाले पाँच प्रतिशत ब्याज लिएर त्यस्तो कर्जा प्रवाह गर्न सक्नेछन् । यस्तै विशेष पुनर्कर्जामा राष्ट्र बैंकले एक प्रतिशतमा कर्जा दिने र सो रकममा बैंक तथा वित्तीय संस्थाले ३ प्रतिशत ब्याज लिन सक्ने सुविधा छ ।

साधारण पुनर्कर्जामा राष्ट्र बैंकले ३ प्रतिशत ब्याजदरमा रकम दिने र बैंक तथा वित्तीय संस्थाले ५ प्रतिशतसम्म ब्याज लिएर लगानी गर्न सकिने व्यवस्था रहेको छ । बैंकका अनुसार प्रतिग्राहक १५ लाख रूपैयाँसम्मको लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा, १० करोड रूपैयाँसम्मका विशेष पुनर्कर्जा र साधारण पुनर्कर्जा इजाजतपत्र प्राप्त क, ख र ग वर्गका इजाजतप्राप्त संस्थालाई एकमुष्टरूपमा प्रदान गरिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL