Logo

१० अर्बको लगानी भित्र्याउन एनआरएनले अघि बढायाे कम्पनी दर्ता प्रक्रिया, सर्वसाधारणलाई सेयर जारी गर्ने

१० अर्बको लगानी भित्र्याउन एनआरएनले अघि बढायाे कम्पनी दर्ता प्रक्रिया, सर्वसाधारणलाई सेयर जारी गर्ने



काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन)को पहलमा स्थापना हुन लागेको एनआरएन डेभलपमेन्ट फन्डको प्रबन्धपत्र नियमावली तथा कम्पनी दर्ता कागजातमा हस्ताक्षर भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा संघका अध्यक्ष कुमार पन्त, संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्व अध्यक्ष तथा संरक्षक जीवा लामिछाने, उपाध्यष डा. बद्री केशी र सोनाम लामा, कोषध्यक्ष महेश कुमार श्रेष्ठ, सल्लाहकार हरिबोल भण्डारी, डा. खगेन्द्र जीसी र चिरन्जिवी थापाले उक्त प्रवन्धपत्रमा हस्ताक्षर गरेका हुन् ।

यो दर्ता प्रक्रिया सकिएपछि चाँडै नै आईपीओ जारी गरिने संघले जानकारी गराएको छ । ठूला मात्रै नभई साना गैर आवासीय नेपाली लगानीकर्ताले पनि आफ्नो सानो पूँजी लगानी गर्न सक्ने वातावरण बनेको भन्दै यस ऐतिहासिक सफलताले संसारभरका नेपाली उत्साहित भएको संघले जनाएको छ ।

उक्त सम्झौतामार्फत कम्पनीमार्फत नै नेपालमा कम्तिमा १० अर्ब लगानी भित्र्याउने तयारी रहेको छ । १० अर्ब लगानीका लागि हालसम्म डेढ अर्ब भन्दा बढी रकमको प्रतिबद्धता आइसकेको संघले जानकारी दिएको छ ।

हस्ताक्षर समारोहमा संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले गैरआवासीय नेपालीले देखेको सपना छिट्टै पूरा हुन लागेको बताए। कम्पनी दर्ताका लागि औपचारिक रुपमा मिलेको सहमतिहरुले गैरआवासीय नेपालीहरुलाई उत्साहित बनाएको उनको भनाई छ । नेपालमा लगानी गर्नका लागि यसले बाटो खुला गरेको उनले बताए ।

कुनैपनि देशको समृद्धिका लागि सामुहिक लगानी आवश्यक भएकोले यस अभियानमार्फत विश्वभरका हरेक नेपालीले व्यक्तिगत लगानी गरेर नेपालको विकास र समृद्धिमा योगदान गर्न सक्ने उनको भनाई थियो । उनले मन खोलेर नेपालमा लगानी गर्नका लागि आग्रह समेत गरे । नेपालमै पहिलो पटक यस्तो ठूलो राशीको लगानी हुन लागेको भन्दै उनले यो सुरुवातले गैरआवासीय नेपालीले अपनत्व महसुस गर्न पाउने बताएका छन् ।

यस्तै कार्यक्रममा संघका पूर्व अध्यक्ष तथा संरक्षक जीवा लामिछानेले यस अभियानमार्फत विशेषतः साना लगानी कर्तालाई प्रोत्साहन गर्ने उल्लेख गरे। नेपालमा लगानी गर्न चाहने हर कोही गैरआवासीय नेपालीले यस अभियानमार्फत आफ्नो सानो सानो पूँजी पनि लगानी गर्न सक्ने बताए । नेपालमा यति ठूलो लगानी पहिलोपटक हुन लागेको भन्दै कालान्तरमा यसमार्फत ठूलो उपलब्धि हासिल गर्न सक्ने उनको भनाई थियो ।

संघका अध्यक्ष कुमार पन्तले नेपालका लागि बहुप्रतिक्षित र ऐतिहासिक दिन भन्दै गैरआवासीय नेपालीलाई नेपालको समृद्धिका लागि योगदान गर्ने बाटो खुलेको बताए । स्वदेशको विकास र समृद्धिमा योगदान गर्ने अभियानअन्तर्गतको एक महत्वपूर्ण योजनाले लामो समयको प्रयासपछि मूर्तरूप प्राप्त गर्ने चरणमा पुगेको भन्दै उनले खुसी व्यक्त गरे ।

१० अर्बको कोषमा सरकारले पाँच प्रतिशत अर्थात ५० करोड रूपैयाँ लगानीको प्रतिबद्धता जनाइसकेको उनले बताए । यस्तै संस्थापकहरूको तर्फबाट १० प्रतिशत अर्थात १ अर्ब रूपैयाँ लगानी गर्ने र त्यसमध्येको १ अर्ब ८० करोडको प्रतिबद्धता जुटिसकेको अध्यक्ष पन्तले बताए । यस अभियानको ८५ प्रतिशत लगानीमा संसारभरका गैरआवासीय नेपालीले १० डलर र त्यसभन्दा माथि लगानी गर्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL