Logo

सेयर बजारमा हुने आन्तरिक चलखेल रोक्न राष्ट्र बैंकको नयाँ कदम, बैंकलाई माईक्रोफाइनान्सको दोस्रो बजारमा लगानी गर्न रोक लगाईदैं

सेयर बजारमा हुने आन्तरिक चलखेल रोक्न राष्ट्र बैंकको नयाँ कदम, बैंकलाई माईक्रोफाइनान्सको दोस्रो बजारमा लगानी गर्न रोक लगाईदैं



काठमाडौं । बैंक तथा वित्तीय संस्थालाई लघुवित्त (माइक्रोफाइनान्स)को दोस्रो बजारमा सेयर खरिद–बिक्री गर्न रोक लगाइने भएको छ । पछिल्लो समय बैंकहरुले आन्तरिक मिलेमतोमा सेयर खरिदबिक्री गरेर माईक्रोफाइनान्सको सेयर मूल्यमा चलखेल गरेको निष्कर्ष निकाल्दै राष्ट्र बैंकले बैंकहरुलाई दोस्रो बजारमा सेयर खरिद–बिक्री गर्न रोक लगाउन लागेको हो ।

हाल राष्ट्र बैंकबाट लाईसेन्स जारी भएका क, ख र ग बर्गका बैंक तथा वित्तीय संस्थाहरुबीच दोस्रो बजारमा सेयर खरिदबिक्री गर्न बन्देज छ । तर, बैंकहरुले लघुवित्तको भने संस्थापक सेयर तथा दोस्रो बजार दुवैमा लगानी गर्न पाउँछन् । हाल संचालित प्रायःजसो लघुवित्तहरु बैंकहरुबाटै प्रर्वद्धित भएकाले एक आपसमा सेयर खरिदबिक्री गरेर बजारमा चलखेल गर्ने गरेक सम्बद्ध स्रोतको भनाई छ ।

‘उदाहरणका लागि अहिले बजारमा क भन्ने बैंकबाट प्रर्वद्धित लघुवित्तको दोस्रो बजारमा ख भन्ने बैंकले सेयर किनेर मूल्य बढाईदिने अनि ख भन्ने बैंकको लगानी रहेको लघुवित्तमा क बैंकले दोस्रो बजारमा सेयर किनेर मूल्य बढाउँदै आएका छन्,’ उक्त स्रोतले भन्यो, ‘जसका कारण पछिल्लो बजारमा लघुवित्त कम्पनीको सेयर एकदमै उकासिएको छ ।’ पछिल्लो समय बैंकहरु एकआपसमा मिलेर नै ललुवित्त कम्पनीको सेयर मूल्य बढाइरहेको समेत उक्त स्रोतको दावी छ ।

हाल यसैलाई नियमन गन राष्ट्र बैंकले आफुले लाईसेन्स जारी गरेका बैंक तथा वित्तीय संस्थाहरुबीच संस्थापक सेयरमा लगानी भएपनि दोस्रो बजारमा भने लगानी गर्न रोक लगाउन लागेको हो । यसअघि राष्ट्र बैंकले आर्थिक बर्ष २०७७÷७८ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षामार्फत बजारलाई नियमन गर्दै लगातार बार्षिक साधारणसभा नभएको, प्राथमिक सेयर निष्काशनपश्चात एकपटक पनि साधारणसभा नगरेका कम्पनीको सेयरमा सेयर धितो कर्जा (मार्जिन लेण्डिङ) दिन रोक लगाएको थियो । तर, उक्त समयमा प्राविधिक कारणले बैंकहरुलाई लघुवित्त कम्पनीको दोस्रो बजारमा लगानी गर्न रोक नलगाईएका कारण हाल रोक्न लागिएको समेत राष्ट्र बैक स्रोतले जानकारी दिएको छ ।

बैंक र इन्सुरेन्स कम्पनीबीच मिलेमतो

पछिल्लो समय बजारमा बैक र इन्सोयरेन्स कम्पनीहरुबीच पनि सेयर मूल्य बढाउने विषयमा मिलेमतो हुन थालेको छ । बैंकले बैंक र इन्स्योरेन्स कम्पनीले इन्स्योरेन्सकै दोस्रो बजारमा लगानी गर्न नपाउने कानूनी व्यवस्थाका कारण क्रस गराएर कारोबार गर्दै आएको समेत सम्बद्ध स्रोतले जानकारी दिएको छ ।

‘अहिले बैक र इन्स्योरेन्स कम्पनीबीच आपसी मिलेमतोमै एकअर्काको सेयर खरिदबिक्री गर्दैै आएका छन्,’ एक बैंकका संचालकले भने, ‘अहिले सेयर बजार कसरी चल्छ भन्दा पनि दुई संस्थाबीचको आपसी मिलेमतोका कारण कसरी चलाउने भन्नेतर्फ केन्द्रित हुन थालेको छ ।’ साथै अहिले बैंक र इन्स्योरेन्स कम्पनीबीच आफ्नो कम्पनीको सेयर मूल्य कतिसम्म बढाईदिन्छ सोही अनुरुप अर्को कम्पनीको मूल्य बढाउने विषयमा बार्गेनिङ हुन थालेको समेत ती संचालकको भनाई थियो ।

बजारमा ड्राई आउटको समस्या

पछिल्लो समय बजारमा ड्राई आउट (बजारमा जति सेयर आउँछ सबै खरिद गरेर मूल्य बढाउने) को समस्या देखिन थालेको छ । आपसी मिलेमतोका बजारमा जति सेयर आउँछ सबै उठाएर मूल्य बढाईरहने खेल सुरु भएको छ । सबैजसो बैंकहरुको आआफ्नै लघुवित्त कम्पनी रहेका कारण आपसी समझदारीमै मूल्य बढाउन बजारमा जति सेयर आएपनि उठाउने र बैंक र इन्स्योरेन्स कम्पनी पनि एकआपसमा मूल्य बढाउन आन्तरिक समझदारी गरेरै अघि बढेका कारणले बजारमा जति सेयर आउँछ सबै खरिद गरेर ड्राई आउटको समस्या निम्त्याएको समेत सम्बद्ध स्रोतको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
MBL