Logo

नयाँ सोचका ५० ‘स्टार्ट अप’ उद्यमलाई महासंघले पूँजी जुटाइदिने

नयाँ सोचका ५० ‘स्टार्ट अप’ उद्यमलाई महासंघले पूँजी जुटाइदिने



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य रंजितराज आचार्यको सभापतित्वमा गठित स्टार्ट अप एण्ड इनोभेशन समितिले पूर्णता पाएको छ । समितिको सहसभापतिमा सिद्धान्तराज पाण्डे र सुमन शाक्य मनोनित भएका छन् ।

त्यस्तै, सदस्यमा प्रकाश देव पालिखे, निरज खनाल, दिपेन्द्र चौलागाई, मौसमी श्रेष्ठ, सुमना श्रेष्ठ र स्वर्णा ताम्राकार छन् । समितिको आमन्त्रित सदस्यमा तेञ्जिङ्ग सोनर गोम्सर र कविराज जोशी छन् । त्यसैगरि समितिको सल्लाहकारमा महासंघका पूर्व कार्यकारिणी समिति सदस्यद्वय ओम राजभण्डारी र शौरभ ज्योति र अनिल चित्रकार छन् । महासंघको सचिवालयमा आयोजित एक कार्यक्रमका बीच महासंघका अध्यक्ष शेखर गोल्छाले समितिमा मनोनित भएका सदस्यलाई पमाणपत्र हस्तान्तरण गरे ।

समितिका सभापति आचार्यको अध्यक्षतामा बसेको समितिको पहिलो बैठकले नेपालमा स्टार्टअप शुरु गरेका उद्यमी व्यवसायीहरूका वास्तविक समस्या तथा चुनौतीका विषयमा छलफल गरी सरकारका तर्फबाट गर्नुपर्ने सहयोगका विषयमा सुझाव पेश गर्ने निर्णय गरेको छ ।

नविन सोचमा आधारित रहेर उद्यम गर्न चाहने ५० वटा ‘स्टार्ट अप’को व्यवसायिक सफलताका लागि शुरूवाती पूँजी(लगानी) जुटाई दिने निर्णय गरेको छ । शुरूवाती पूँजी स्टार्टअप समिति अन्तर्गत रहेको इन्भेष्टर फोरम मार्फत जुटाइने निर्णय गरेको छ । त्यस्तै, कविराज जोशीको संयोजकत्वमा इन्भेष्ट म्यानेजमेन्ट उप‑समिति गठन गर्ने, प्रत्येक महिनाको पहिलो शुक्रवार ‘फस्र्ट फ्राइडे टक’ कार्यक्रम आयोजना गर्ने, स्टार्टअपका विषयमा देशैभर सचेतनामूलक कार्यक्रम गर्ने निर्णय समेत बैठकले गरेको छ ।

कार्यक्रममा महासंघका अध्यक्ष गोल्छाले अर्थतन्त्रको महत्वपूर्ण हिस्सा साना तथा मझौला उद्यम व्यवसाय नै भएकाले यो क्षेत्रको विकास र युवालाई रोजगारी सिर्जना गरी देशभित्रै राख्न महासंघको विशेष जोड रहेको बताए । यूवा जनशक्तिको वाहुल्यता रहेको, जैविक विविधताले भरिपूर्ण र दुई विशाल अर्थतन्त्र भएका छिमेकी देशको बीचमा हाम्रो अवस्थिति नै समृद्धिको बलियो आधार भएको उनले बताए । यो अथाह सम्भाव्यताबाट वास्तविक रूपमै फाइदा लिनुपर्नेमा उनको जोड थियो । यसका लागि स्टार्ट अपमा आफूलाई स्थापित गरेका सफल उद्यमीहरूको सहयोग र सहकार्य महासंघले खोजेको बताए ।

महासंघका उपाध्यक्ष अंजन श्रेष्ठले कोभिडका कारण अर्थतन्त्रमा निकै धेरै चुनौतीहरू थपिएकाले मुलुकभित्र रोजगारी सिर्जना, कामका लागि बाहिरनु पर्ने बाध्यताको अन्त्य, पढे लेखेको यूवा वर्गलाई स्वदेशमै आकर्षित गर्नेतर्फ सबैको जोड हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL