Logo

सम्झौताको म्याद सकिँदा पनि उखु किसानले पाएनन ४७ करोड बक्यौता, पुनः आन्दोलनको तयारी

सम्झौताको म्याद सकिँदा पनि उखु किसानले पाएनन ४७ करोड बक्यौता, पुनः आन्दोलनको तयारी



काठमाडौं । गत बर्ष नै उखु किसानले पाउनुपर्ने सबै रकम भुक्तानी गरिदिने बाचा गरेको सरकारले यो बर्ष पनि किसानको आँखामा छारो हालेको छ । २१ दिनभित्र किसानले पाउनुपर्ने सबै रकम भुक्तानी गर्नेगरी चाँजो मिलाउने भन्दै गत पुष १३ गते आन्दोलन स्थगित गरेका किसानले यसपटक पनि म्याद सकिँदा हालसम्म पनि पुरा रकम पाउन सकेनन् ।

गत बर्ष यही अवधिमा बक्यौता पाउने आशमा आन्दोलन गरेका किसानलाई सरकारले ५ बुँदै सम्झौतासँगै आन्दोलन स्थगित गर्न लगाएको थियो । किसानको बक्यौता चाँडोभन्दा चाँडो भुक्तानी गराउने र किसानले पाउने अनुदान रकम सजिलो बाटोबाट दिलाउने बताएको थियो । सरकारले गरेको सम्झौताअनुसार एक बर्षसम्म पनि काम नहुँदा किसानले किसानले यो बर्ष पनि पुनः आन्दोलन गरेका थिए ।

तर, यो बर्षको आन्दोलन स्थगित गर्न लगाउँदै सरकारले किसानको सबै रकम २१ दिनभित्र सबै रकम भुक्तानीको व्यवस्था गर्ने र त्यो नभए २२ औं दिनबाट उखु मिलका मालिकको सम्पत्ती र जायजेथा जफत गरेर भएपनि बक्यौता भुक्तानी गर्ने मौखिक सहमति गरेको थियो । तर, उक्त २२ औं दिनको म्याद हिजो सोमबार सकिदासम्म आफुहरुले पूरा भुक्तानी नपाएको र केही रकम खातामा आएको भ्रम फैलाउँदै उद्योग मन्त्रालयले प्रचार गरेको किसानहरु बताउँछन् ।

उखु किसान संघर्ष समितिका सचिव हरिश्याम रायका अनुसार सरकारले किसानको खातामा ४३ करोड रुपैयाँ खातामा गइसकेको बताएपनि उक्त रकम किसानले भने पाएका छैनन् । यस्तै उद्योग मन्त्रालयको तथ्यांकअनुसार अब किसानले अझै २२ करोड रुपैयाँ बक्यौता पाउन बाँकी छ ।

यसरी सरकारले दोस्रो पटक पनि मौखिक सम्झौता गरी किसानलाई झुलाउँदा किसान पुनः आन्दोलनमा जानेकि भनेर सल्लाहमा जुटेका सचिव रायले बिजखबरलाई जानकारी दिए । उनका अनुसार आज किसानहरुको बैठक बस्ने र आफुले पाउने बक्यौता जसरी पनि पाउनेगरी क्रियाकलाप अघि बढाउने सल्लाह गरिने भएको छ । किसानहरुलै आजैको बैठकमार्फत पुनः आन्दोलन गर्नेबारे छलफल गर्ने भएका छन् ।

सरकारले खाता बन्द गरेका कारण पनि मिलले पैसा दिन नसकिएको बताउँदै आएको छ । किसानहरु हाल सरकारसँग मौखिक सहमति गरी आन्दोलन स्थगित गरेसँगै गाउँ फर्केका छन् । यता गृह मन्त्रालयका अनुसार बक्यौता बाँकी रहेका ४ मिलमध्ये श्रीराम सुगर मिलले सबै रकम भुक्तानी गरेको छ । तर अन्य मिलको भने बाँकी रहेको पाईएको छ ।

श्रीराम सुगर मिलले ४० करोड ४६ लाख भुक्तानी गर्नुपर्नेमा ३५ करोड ७५ लाख ४४ हजार किसानको खातामा गएको छ भने ४ करोड ७० लाख ५६ हजार रूपैयाँ किसानको विवरण नमिल्दा बैंकमा रोकिएको छ । लुम्बिनी सुगर मिलले ८ करोड ४१ लाख भुक्तानी गर्नुपर्नेमा ४ करोड १६ लाख तिरेको छ भने बाँकी ४ करोड २५ लाख रुपैयाँ भुक्तानी गर्न अझै बाँकी छ ।

अन्नपूर्ण चिनी मिलले १७ करोड रुपैयाँ भुक्तानी गर्नु पर्नेमा ११ करोड २७ लाख किसानको खातामा पठाएको छ भने ५ करोड ७३ लाख रुपैयाँ अझै बक्यौता बाँकी छ । यस्तै इन्दिरा सुगर मिलले ४ करोड ७० लाख भुक्तानी गर्नुपर्नेमा १ करोड ५० लाख रूपैयाँ बैंक खातामा पठाएको छ । अब उक्त उद्योगले ३ करोड २० लाख रुपैयाँ खातामा पठाउनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL