Logo

एनआरएनले गरे पश्चाताप, ‘राज्यले हामीलाई धेरै दियो, हामीले दिन सकेनौं’

एनआरएनले गरे पश्चाताप, ‘राज्यले हामीलाई धेरै दियो, हामीले दिन सकेनौं’


बिजखबर संवाददाता
0
Shares

गैर आवासीय नेपाली (एनआरएन)ले राज्यले आफुलाई धेरै सुविधा उपलब्ध गराउँदा पनि आफुहरुले देशका लागि योगदान दिन नसकेको भन्दै पश्चाताप गरेका छन् । गैर आवासीय नेपाली संघ(एनआरएनए)को सातौं विश्व सम्मेलनमा बोल्दै संघका प्रमुख संरक्षक रामप्रताप थापाले आफुहरु राज्यको ऋणी भएको बताए । ‘राज्यले एनआरएनका लागि सम्मान स्वरुप विशेष नागरिकता दिनुका साथै संघका अध्यक्षलाई विशेष दूत समेत बनाएको छ,’ उनले भने, ‘तर, हामीले त्यस अनुरुप एक छेउपनि योगदान दिन सकेका छैनौं ।’ राज्यले दिएको सेवासुविधाले एनआरएन माथी प्रश्न उठाएको समेत उनको भनाइ थियो ।

एनआरएनका संस्थापक अध्यक्ष डा. उपेन्द्र महत्तोले मातृभुमिको विकास नगरी आफु सक्षम हुन नसक्ने भन्दै देशमा लगानी गर्न आग्रह गरेका थिए । ‘हाम्रो काम देशमा जतिसक्दौ बढी विदेशी लगानी भित्र्याउने हो,’ उनले भने, ‘देशमा विदेशी लगानी नभित्रिएसम्म एनआरएनको काम देखिँदैन ।’ एनआरएनले विश्वसामु आफ्नो शिर उच्च राख्नका लागि पनि मातृभुमिको विकास जरुरी भएको उनले जानकारी दिए ।

यस्तै, सरकारलाई पनि देशमा लगानीको वातारण निर्माण गर्न आग्रह गरेका थिए । ‘अहिले देशमा लगानीको वातावरण नभएकै कारण एनआरएनले विदेशमा लगानी गर्दै आएका छन्,’ उनले भने, ‘यदि लगानीको वातावरण बन्ने हो भने विदेशमा गरेको लगानी नेपाल भित्रनेछ ।’

एनआरएनएका अध्यक्ष शेष घलेले भने आफुहरुले नेपालमा ठूलो मात्रामा लगानी गरेको जानकारी दिए । ‘एनआरएनले नेपालका विभिन्न क्षेत्रमा ३० अर्व रुपैयाँ भन्दा बढी लगानी गरिसकेको छ,’ उनले भने, ‘हामी नेपालका पाँच तारे होटलमा वसेर दशै मनाउन आएका होइनौ, सोही अनुरुप लगानी पनि गरिरहेका छौं ।’ एनआरएनले आफ्नो प्रतिवद्धता अनुसार काम गर्दै जाने बताउँदै त्यसको मुल्याङ्कन तथा अनुगमन गर्ने काम सरकारको भएको जानकारी दिए ।

कार्यक्रममा राष्ट्रपति डा. रामवरण यादवले पनि देशमा एनआरएनको योगदान ठूलो रहेको भन्दै प्रशंसा गरेका थिए । ‘हाल वैदेशिक रोजगारीमा गएका कामदारबाट देशको कुल ग्राह्स्थ्य उत्पादनको झण्डै ३० प्रतिशत बरावर हिस्सा रेमिट्यान्स भित्रिरहेको छ,’ उनले भने, ‘जसले देशको अर्थतन्त्र चलायमान बनाउन सजिलो बनाएको छ ।’

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले पनि देशमा विकास नभई व्यक्ति विकास नहुने भन्दै देशमा जतिसक्दो बढी लगानी गर्न आग्रह गरे । मातृभुमि सक्षम नभइकन व्यक्ति समक्ष भएर कुनै अर्थ नराख्ने उनको तर्क थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL