Logo

कोरोना बीमा दाबीका लागि नक्कली रिपोर्ट पेश गर्ने क्रम बढ्यो, निजी ल्यावका सबै रिपोर्ट भेरिफिकेशनमा पठाइयो

कोरोना बीमा दाबीका लागि नक्कली रिपोर्ट पेश गर्ने क्रम बढ्यो, निजी ल्यावका सबै रिपोर्ट भेरिफिकेशनमा पठाइयो



काठमाडौं । कोरोना बीमाको दाबी भुक्तानीका लागि कोरोना पोजेटिभ भएको नक्कली मेडिकल रिपोर्ट पेश गर्ने क्रम बढेको छ । विशेषगरी पछिल्लो समय कोरोना परीक्षण गर्ने निजी मेडिकल ल्यावबाट कोरोना पोजेटिभ भएको नक्कली रिपोर्ट बनाएर दावी भुक्तानीका लागि कागजात पेश गर्ने क्रम बढेको बीमा समितिले जानकारी दिएको छ ।

कोरोना पोजेटिभ भएको नक्कली रिपोर्ट आउन थालेपछि सबै रिपोर्टहरुलाई भेरिफिकेशनका लागि पठाइएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । ‘अहिले टेकूबाट परीक्षण भएको बाहेकका सबै कोरोना पोजेटिभ भनेर बीमा दावी भुक्तानीका लागि आएर रिपोर्टहरुलाई भेरिफिकेशनमा पठाइएको छ,’ उनले भने, ‘दावी भुक्तानीका लागि धेरैजसो कोरोना पोजेटिभ भनेर पेश गरिएको रिपोर्ट नक्कली भेटिएपछि रकम भुक्तानीका लागि अनिवार्य रुपमा भेरिफिकेशन गर्नु परेको छ ।’ साथै सरकारी स्तरका बीर अस्पताल, शिक्षण अस्पतालबाट ल्याएका रिपोर्ट समेत भेरिफिकेशनमा पठाइएको पौडेलले जानकारी दिए ।

केही समयअघि नेपाल एयरलाईन्सबाट कोरोना नेगेटिभको प्रमाणपत्र लिएर हङ्कन पुगेका यात्रुहरुमा त्यहाँ पुगेर पुनः जाँच गर्दा कोरोना पोजेटिभ देखिएपछि निजी ल्यावहरुले नक्कली मेडिकल रिपोर्ट बनाउन थालेको पुष्टि भएको थियो । तर, पछिल्लो समय कोरोना बीमा दावी भुक्तानीमै पनि आवेदन आएकामध्ये २५ प्रतिशतभन्दा बढी कोरोना पोजेटिभको रिपोर्ट नक्कली पाइएपछि सबै रिपोर्टहरु छानविनका लागि पठाइएको बीमा समिति स्रोतले जानकारी दिएको छ । हाल कोरोना बीमा दावीका लागि परेका रिपोर्टहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्तरमै छुट्टै कमिटि बनाएर छानविन सुरु गरिएको छ ।
हाल कोरोना दावी भुक्तानीका ३ अर्ब रुपैयाँभन्दा बढीको आवेदन परेको छ । साथै अहिलेको कोरोना बीमा भएको संख्या र संक्रमणको आधारमा अझै सोभन्दा बढी रकम भुक्तानीका लागि दावी आउने देखिएको सम्बद्ध बीमा कम्पनीहरु बताउँछन् ।

तत्कालिन समयमा बीमा समिति र बीमा कम्पनीको मिलेमत्तोमा कुनै अध्ययन तथा मापदण्ड नबनाई बीमा पोसिली जारी गर्दा अहिले नक्कली रिपोर्ट बनाएर दावी भुक्तानी गर्ने क्रम बढेको बीमा विज्ञ डा. रबिन्द्र घिमिरे बताउँछन् । ‘अहिले जुन रुपमा कोरोना बीमा दावी भुक्तानीका लागि आवेदन परेको छ यस विषयमा राम्रोसँग अध्ययन नगर्ने हो भने बीमा कम्पनीहरु डुब्ने निश्चित छ,’ उनले भने, ‘यस विषयमा अर्थमन्त्रालय, बीमा समिति र सम्बन्धित क्षेत्रका विज्ञको छुट्टै कमिटि बनाएर अध्ययन गर्नु जरुरी छ ।’

केही समय अघि अर्थमन्त्री विष्णु पौडेलले कोरोना बीमा दावी भुक्तानीमा ढिलाई भएको भन्दै कागजात पेश गरेको ७ दिनभित्रै भुक्तानी दिने व्यवस्था मिलाउन बीमा समितिलाई निर्देशन दिएका थिए । तर, पछिल्लो समय कोरोना पोजेटिभको नक्कली रिपोर्ट आउने क्रम बढेको र त्यस पुनः प्रमाणिकरण गर्नुपर्ने बाध्यता भएकाले सो अबधिमा भुक्तानी दिन नसकिएको बीमा समितिले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL