Logo

निर्यातलाई अर्थतन्त्रको इन्जिनकाे रूपमा विकास गर्न दृष्टिकोण तयार गर्दै महासंघ, उद्योगको ‘कस्ट अफ फण्ड’ घटाउन सरकारसँग पहल गर्ने

निर्यातलाई अर्थतन्त्रको इन्जिनकाे रूपमा विकास गर्न दृष्टिकोण तयार गर्दै महासंघ, उद्योगको ‘कस्ट अफ फण्ड’ घटाउन सरकारसँग पहल गर्ने



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले निर्यात व्यवसायलाई अर्थतन्त्रको इन्जिनको रुपमा विकास गर्ने गरी आफ्नो दृष्टिकोण तयार गर्ने भएको छ ।

महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्रको प्रमुख इन्जिनको रुपमा निर्यात क्षेत्रलाई विकास गर्ने गरी महासंघले आफ्नो दृष्टिकोण निर्माण गर्न लागेको बताएका छन् ।

निर्यात व्यवसायी महासंघले नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई एवं शुभकामना प्रदान गर्न मंगलबार आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले अबको १ सय दिन भित्रमा स्पष्ट दृष्टिकोण ल्याउने बताए ।

अहिले अर्थतन्त्रको इन्जिनको रुपमा रेमिट्यान्स मात्र रहेको र कुनै पनि बेला रेमिट्यान्समा कमि आउँदा देशको अर्थतन्त्र नै भत्किने सम्भावना भएकाले अर्को इन्जिनको रुपमा निर्यात क्षेत्रलाई प्रोत्साहन गरिने बताए ।

त्यसका लागि निर्यातजन्य उद्योग व्यवसायको कस्ट अफ फण्ड घटाउने विषयमा सरकारसँग महासंघले पहल गर्ने बताए । निर्यात व्यवसायमा सरकारबाट इन्सेन्टिभ कम भएकाले पनि निर्यात प्रवर्धनमा समस्या देखिएको अध्यक्ष गोल्छाको भनाई छ ।

कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निर्यातलाई प्रवर्धन गर्न नसक्नुको कारण नीतिगत व्यवस्थामा भएको कमजोरी नै रहेको बताए । अहिले भन्दा ३० वर्ष पहिला नेपालको निर्यातको अवस्था आयातको तुलनामा धेरै नै राम्रो भएकोमा अहिले क्रमश घट्दै गएकोले पनि समस्या देखिएको बताए । त्यसैले महासंघले निर्यात प्रबर्धनका लागि नीतिगत सुधार गर्न सरकार समक्ष सक्रिय रुपमा माग राख्ने बताए।

कार्यक्रममा उद्योगी व्यवसायीहरुले महासंघको गरिमालाई तलमाथि गरेर उदाउँदो निजी क्षेत्रको शिर झुकाउने काम नगर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । निर्वाचन अगाडि भएका प्यानल निर्वाचनको नतिजासँगै समाप्त भएकाले पनि अब एक भएर समग्र निजी क्षेत्रको हितमा काम गर्ने उनीहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
MBL