Logo

बजारमा स्यानिटाइजरका नाममा विष बेचिदैं, ९ कम्पनीका स्यानिटाइजर विषाक्त भेटिएपछि प्रयोग नगर्न अनुरोध

बजारमा स्यानिटाइजरका नाममा विष बेचिदैं, ९ कम्पनीका स्यानिटाइजर विषाक्त भेटिएपछि प्रयोग नगर्न अनुरोध



काठमाडौं । बजारमा प्रयोग हुँदै आएका थप नौ प्रकारका ह्यान्ड स्यानिटाइजरमा स्वास्थ्यलाई असर गर्ने रसायन मिसाइएको पाइएकाले प्रयोग नगर्न औषधि विभागले आग्रह गरेको छ । राष्ट्रिय औषधी प्रयोगशालामा परीक्षण गर्दा मापदण्ड विपरीत पाएको भन्दै औषधी व्यवस्था विभागले सोमबार सार्वजनिक सूचनानै जारी गरी प्रयोग नगर्न अनुरोध गरेको छ ।

मानव स्वास्थ्यमा नकरात्मक असर पर्ने गरी विषाक्त रसायन मिश्रित ह्याण्ड स्यानिटाईजर उत्पादन गरी वजारमा ल्याउने ९ वटा कम्पनीलाई समेत कारवाही गरी उत्पादन बन्द गराएको विभागले जानकारी दिएको छ । यस अघि समेत विभागले ४ वटा कम्पनीलाई कारवाही गरी उत्पादन बन्द गरेको थियो ।

ओम आरोग्य हेल्थ केयर प्राइभेट लिमिटेड इमाडोल ललितपुर, कुमकुम हर्बल इन्ड्रस्टिज प्राइभेट लिमिटेड बनेपा काभ्रे, साधना सप्लायर्स काठमाण्डौ, कालिका सप एण्ड केमिकल प्राइभेट लिमिटेड काठमाण्डौ लगायतले उत्पादन गरेका ९ प्रकारका ह्यान्ड स्यानिटाइजर प्रयोग नगर्न विभागले आग्रह गरेको छ ।

रसायनको प्रयोगले वाकवाक लाग्ने, टाउको दुख्ने, दृष्टि धमिलो हुने तथा आँखाको दृष्टि नै गुम्न सक्ने खतरा रहने डाक्टरले बताउने गरेका छन् । यसअगाडि पनि विभागले विभिन्न नौ कम्पनीका ह्यान्ड स्यानिटाइजरमा रसायन भेटेपछि उत्पादन र प्रयोगमा रोक लगाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL