Logo

अर्थमन्त्री डा महत र चीनका उपवाणिज्यमन्त्री चियाङबीच भेट, पोखरा विमानस्थललाई छिट्टै कार्यान्वयनमा ल्याइने

अर्थमन्त्री डा महत र चीनका उपवाणिज्यमन्त्री चियाङबीच भेट, पोखरा विमानस्थललाई छिट्टै कार्यान्वयनमा ल्याइने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

७ साउन, काठमाडौं । अर्थमन्त्री डा रामशरण महतले पोखरामा निर्माण हुनलागेको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई छिटो कार्यान्वयनमा ल्याउनुपर्ने बताएका छन् । ‘विमानस्थललाई कार्यान्वयनमा ल्याउन नेपालको तर्फबाट केही अप्ठेराहरु भए तत्काल समाधान गरिने छ,’ नेपाल भ्रमणमा रहेका चीनका उपवाणिज्यमन्त्री चाङ चियाङसँग अर्थमन्त्रालयमा भएको भेटघाट तथा छलफलमा उनले भने, ‘पोखराको विमानस्थल नेपालको प्राथमिकतामा परेको आयोजना भएकोले यसलाई छिटो निर्माण गर्नुपर्ने आवश्यकता छ ।’ साथै, जनताको माग तीब्र रहेको र हाल मुआब्जाको समस्या पनि लगभग समाधान भैसकेको आयोजना कार्यान्वयनको अन्तिम पर्खाईमा रहेको उनले जानकारी गराए ।

madhu-marisini

भेटघाटका अवसरमा अर्थमन्त्री डा महतले नेपालको पुनर्निर्माणका लागि चीन सरकारले तत्काल गरेको सहयोगको प्रशंसा गर्दै चीन सरकारले व्यक्त गरेको प्रतिवद्धतालाई तत्काल कार्यान्वयनमा ल्याउन आग्रह गरे । पुनर्निर्माण प्राधिकरण चाँडै नै गठन हुने र पुनर्निर्माणको काम तीब्र गतिमा अघि बढ्ने समेत उनले जानकारी दिए । सो अवसरमा अर्थमन्त्री डा महतले काठमाडौं र बेइजिङ प्रत्यक्ष उडान सेवा सञ्चालन गर्नुपर्ने माग राखेका थिए । उक्त उडानले गर्दा नेपालको पर्यटन क्षेत्रलाई समेत ठूलो सहयोग पुग्ने उनको भनाइ थियो ।

सो अवसरमा चीन सरकारको सहयोगमा सञ्चालित आयोजनाहरुको निर्माण छिटो गर्नुपर्ने सम्वन्धमा पनि छलफल भएको थियो । स्याफ्रुवेसी रसुवागढीसम्मको सडकलाई व्यापारिक मार्गको रुपमा स्तरोन्नति गर्न र अरनिको राजमार्गको पुनर्निर्माणका लागि काम छिटो अघि बढाउने विषयमा पनि छलफल भयो ।

भेटघाटका अवसरमा चीनका उपवाणिज्यमन्त्री चाङ चियाङले नेपालको पुनर्निर्माणमा जिम्मेवारी पाउनासाथ काम थालिहाल्न सक्ने अवस्थामा चीन रहेको उल्लेख गर्दै परियोजनाको जिम्मेवारी छिटो दिन आग्रह गरेका थिए । पोखराको विमानस्थल निर्माणका लागि पनि कर्जाको व्याजदरसँग सम्वन्धित सामान्य समस्या मात्र रहेको र अव २ महिनाभित्रैमा यसलाई कार्यान्वयनमा ल्याउन सकिने जानकारी दिए ।

भेटघाटका अवसरमा अर्थमन्त्रालयका सहसचिव मधुकुमार मरासिनी तथा अन्य अधिकारीहरु र नेपालका लागि चीनका राजदूत उ चुनताई तथा दूतावासका अधिकारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL