Logo

द्रुतमार्गलाई स्वदेशी पूँजीमै भएपनि निर्माण गरिने, विकास निर्माणका काम छिटो अघि बढाउन अर्थमन्त्रीको आग्रह

द्रुतमार्गलाई स्वदेशी पूँजीमै भएपनि निर्माण गरिने, विकास निर्माणका काम छिटो अघि बढाउन अर्थमन्त्रीको आग्रह


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१८ फागुन, काठमाडौं । अर्थमन्त्री डा रामशरण महतले काठमाडौं–तराई द्रूतमार्गलाई स्वदेशी पूँजीबाट भएपनि सञ्चालनमा ल्याउने बताउनुभएको छ । रामेछापको मन्थलीमा आयोजित जिल्ला विकास परिषद्को निर्णय सार्वजनिक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

उनले अर्थतन्त्रको जग राम्रोसँग हालिएका कारण अहिले यसको आकार ठूलो भएको र तामाकोशी जलविद्युत, सिक्टा सिंचाई जस्ता ठूला परियोजनाहरु नेपालले आफ्नै स्रोतबाट सञ्चालन गर्न सकेको जानकारी दिए । ‘काठमाडांै–तराई द्रुतमार्गको पनि टेण्डर भैसकेको छ,’ उनले भने, ‘यस आयोजनामा विदेशी सहयोग वा लगानी जुट्न सकेन भने सरकारले आफ्नै स्रोतबाट पनि सञ्चालनमा ल्याउनेछ ।’
उर्जा नेपालको सर्वाधिक महत्वको क्षेत्र भएको बताउँदै उर्जाको व्यवस्था हुनासाथ लगानी आउन थाल्ने जानकारी दिए । उर्जा प्राथमिकतामा परेकोले छिमेकी देश भारतबाट प्राप्त सहयोगमध्ये ५० प्रतिशत उर्जामा र बाँकी सिंचाई तथा सडकमा प्रयोग गरिने समेत उनको भनाइ थियो ।

उनका अनुसार मध्यपहाडी सडकलाई रामेछापको सेलेघाट र साँघुटार छोएर लगिने भएकोले सडक सञ्जालले सबैतिरबाट पहुँच दिइएको जिल्लामा कृषि, पर्यटन र जलविद्युतको थप संभावनाको ढोका खुलेको छ । भौगोलिक विविधता भएकोले नेपालले जडिबुटी र कृषि उपजको निर्यात गरी प्रचूर लाभ लिनसक्ने मन्त्री महतले बताए ।
साथै, आर्थिक विकासका लागि उर्जाको सहज व्यवस्था हुनुपर्ने र औद्योगिक क्षेत्रमा शान्ति कायम हुनुपर्ने उनको भनाइ थियो । ‘पहिला गाउँमा अवसरहरु थिएनन् र युवाहरु विदेशतिर पलायन भए,’ उनले भने, ‘अहिले गाउँ गाउँमा सडक पुगेको छ त्यसैले अव कृषि उत्पादनलाई जोड दिएर आयात प्रतिस्थापन गर्न जरुरी छ ।’ अव कृषिले बजार पाएन भन्ने गुनासो गर्नुपर्ने स्थिति नरहेको समेत उनको भनाइ थियो ।

नेपालमा कृषि र पर्यटनका क्षेत्रमा रोजगारी सिर्जना गर्ने शक्ति भएको उल्लेख गर्दै अहिले यसलाई सदुपयोग गर्ने बेला आएको समेत उनले जानकारी दिए ।

राजनीतिक दलहरु, प्रशासकहरु र विकास निर्माणसँग सम्वन्धित कामहरुमा संलग्न सबैले विकास निर्माणका कामलाई उच्च प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो । ‘अहिले नै काम हुन सक्ने स्वीकृत कार्यक्रम छ,’ उनले भने, ‘अर्को बर्ष गर्ने योजना बनाइएको कामलाई यसैबर्ष पूरा गर्न सकिने संभावना छ भने आवश्यक बजेट दिन अर्थमन्त्रालय तयार छ ।’ जनता अहिले विकास चाहन्छन र विकास निर्माणलाई तिब्रता दिएर उनीहरुको चाहनालाई पूरा गर्न आग्रह गरे ।

स्वदेशभित्र मात्र नभइ विदेशीहरुले समेत नेपालमा विकास निर्माणलाई नजिकबाट नियालिरहेको र सदाशयतापूर्वक सहयोग गर्न थालेको जानकारी दिए । ‘आर्थिक प्रगति गर्ने यो उत्तम अवसर हो । त्यसैले अन्तर्राष्ट्रिय जगतले समेत आर्थिक प्रगतिका लागि सहयोगको हात अगाडि बढाएका छन,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
MBL