Logo

अर्थमन्त्री डा महत र बेलायतका राज्यमन्त्रीबीच भेट, सहयोगको वातावरण बनाउन आग्रह

अर्थमन्त्री डा महत र बेलायतका राज्यमन्त्रीबीच भेट, सहयोगको वातावरण बनाउन आग्रह


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

६ फागुन,काठमाडौं । अर्थमन्त्री डा रामशरण महतले नेपालमा हिंसात्मक द्वन्द्व र राजनीतिक अस्थिरताका बीच आर्थिक तथा सामाजिक क्षेत्रमा उल्लेख्य प्रगति हासिल भएको बताएका छन् । बुधवार नेपाल भ्रमणमा रहेका बेलायतका अन्तर्राष्ट्रिय विकास राज्यमन्त्री डेसमण्ड स्वाइनसँगको भेटघाटमा यस्तो बताएका हुन् ।

उनले विगत दुई दशकको अवधिमा गरिबी घट्नुका साथै खानेपानीमा पहुँच बढेको बताए ।

नेपालीको जीवनस्तरमा सुधार भएर औषत आयुमा झण्डै १७ बर्षले बृद्धि भै ६९ बर्ष पुगेको महतले जानकारी दिए । साथै महतले फेरि सरकारले संबिधान निर्माणसँगै आर्थिक विकासलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।

डा.महतले विभिन्न मुलुकहरुबाट प्राप्त सहयोग नेपालीको वास्तविक चाहना अनुसार हुन सकोस भनेर नयाँ सहायता नीति अवलम्बन गरिएको र दाताहरुले यसमा असजिलो महसूस गर्न नहुने स्पष्ट पारे । उनले भने ‘सहयोगको प्रभावकारिता होस भनेर नै सहायता नीतिमा सहयोग सीमा र सहयोग रकम सरकारको जानकारीमा आउने व्यवस्था गरिएको हो ।’

अहिले नेपालको आफ्नै क्षमता बढ्नुका साथै अर्थतन्त्रमा संरचनागत सुधार गरिएको र यसले अर्थतन्त्रको आकार बढेको जानकारी दिए । सो अवसरमा बेलायतका अन्तर्राष्ट्रिय विकास राज्यमन्त्री स्वाइनले आफू नेपालमा बेलायतको सहयोगको उपयोगबारे स्थलगत भ्रमण गरी जानकारी लिन आएको बताए ।

साथै बढीभन्दा बढी सहयोग उपयोग हुने वातावरण तयार गर्न अर्थमन्त्री डा महतसमक्ष अनुरोध गरे । उनले विकास परियोजनाहरुमा कर्मचारीहरुको फेरबदल भैरहँदा काम गर्न असजिलो हुने गरेको डीएफआईडीको अनुभव पनि व्यक्त गरे ।
नेपालको क्षमता बढाउन बेलायतले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

भेटघाट तथा छलफलका अवसरमा अर्थमन्त्रालयका सहसचिव मधुकुमार मरासिनी तथा मन्त्रालयका अधिकारीहरु र नेपालका लागि बेलायतका राजदूत एण्ड्यु जेम्स स्पार्क तथा दूतावासका अधिकारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL