Logo

रुकुममा जीप दुर्घटना, विवाह गरेर फर्कदै गर्दा इन्स्पेक्टर दम्पतीसहित सातको मृत्यु

रुकुममा जीप दुर्घटना, विवाह गरेर फर्कदै गर्दा इन्स्पेक्टर दम्पतीसहित सातको मृत्यु


बिजखबर संवाददाता
162
Shares

रुकुम । रुकुम पश्चिमको मुसीकोट नगरपालिका–६ साँखमा जिप दुर्घटना हुँदा प्रहरी निरीक्षक नवदम्पतीसहित सात जनाको मृत्यु भएको छ ।

रुकुम पूर्वीको सदरमुकाम रुकुमकोटबाट रुकुम पश्चिमको सदरमुकाम खलंगा आउँदै गारको ग १ ज ४२६० नम्बरको जिप मुसीकोट नगरपालिका–६ साँखमा शुक्रबार साँझ करिब ८ बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ ।

दुर्घटनामा परेर मृत्यु हुनेमा रुकुम पूर्वी सिस्ने गाउँपालिका–५ रुकुमकोटका नवीन श्रेष्ठ र उहाँका श्रीमती अनिता प्रधान, मुसीकोट नगरपालिका–१ का सुदन श्रेष्ठ, बुबा शेरबहादुर श्रेष्ठ र दिदी सुरेखा शाह श्रेष्ठ तथा मुसीकोट–१ भलिबल खेलका राष्ट्रिय रेफ्री जनक शाह र त्रिवेणी गाउँपालिका–१ की यमुना मल्ल रहेका छन् ।

मृतक नविन श्रेष्ठ र उहाँका श्रीमती अनिता प्रधान दुबै जना प्रहरी निरीक्षक हुन् । नवीन र अनिताको तीन दिनअघि मात्र विवाह भएको थियो । बिहे सकेर काममा फर्किदै गर्दा जिप सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका जिप चालक दाङ घर भएका प्रेम रजौरिया, सहचालक रुकुम काँफिकोट गाउँपालिका–७ का प्रेम केसी र बर्दियाका टेकबहादुर खत्रीलाई जिल्ला अस्पताल सल्लेबाट थप उपचारका लागि नेपालगञ्ज पठाएको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी नायब उपरीक्षक राजेन्द्र धमलाले जानकारी दिए ।

अन्य घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको जानकारी पाएपछि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, म्यादी प्रहरी र स्थानीयले घाइतेको उद्धार गरेका थिए । मृतक सबैको शव अहिले जिल्ला अस्पताल सल्लेमा राखिएको छ ।

अस्पताल परिसरमा आफन्तको भीड लागेको छ । प्रहरी निरीक्षक नवीनको आमाबुबा इटहरीबाट आएपछि मात्र शव परीक्षण गरिने भएकाले केही ढिला भएको बताएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
MBL