Logo

नेपाल भारत व्यापारमा समस्या बन्दै ‘कंकोर’

नेपाल भारत व्यापारमा समस्या बन्दै ‘कंकोर’


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल भारत व्यापारमा एउटै मात्र लेल्वे कम्पनीले सामान ढुवानीको जिम्मा पाउँदा समस्या उपत्न्न भएको नेपाली व्यवसायीहरुले बताएका छन् । नेपाल भारत व्यापार तथा पारवहन सन्धि अनुसार सामान ढुवानीको जिम्मा भारतीय रेल्वे कम्पनी अन्तरगतको ‘कंकोर’ले पाएको छ । सरकारी स्तरको एउटै मात्र कम्पनीलाई सामान ढुवानीको जिम्मा दिँदा समस्या उत्पन्न भएको नेपाल फ्रेड फरवार्डस एशोसियशनका निवर्तमान अध्यक्ष राजन शर्माले बताए ।

एउटै मात्र रेल्वे कम्पनीको कार्टेलिङ तथा नेपाल सरकारको समन्वयकारी भुमिका नहुँदा नेपाली व्यवसायीले सामान आयात निर्यातमा समस्या भोग्नु परेको सम्बद्ध व्यवसायीहरु बताउँछन् । सामान ढुवानीका लागि एउटै मात्र रेल्वे कम्पनीमा निर्भर हुँदा व्यवसायीले सधैझै समस्या भोग्नु परेको शर्माले जानकारी दिए । ‘हामीले भारतबाट सामान ढवानीको लागि निजी रेल्वे कम्पनीको लागि पनि खुला गर्न पटकट–पटक माग गर्दै आएका छौं,’ उनले भने, ‘तर यस विषयमा सुनुवाई नहुँदा व्यवसायीले सधै समस्या झेल्नु परेको छ ।’

कलकत्ता बन्दरगाहबाट समयमै मालसामान अनलोड नहुँदा नेपाली व्यवसायीको झण्डै १ हजार ५ सय कन्टेनर थन्किएर बसेका छन् । केही समय अघि भारत सरकारले लगाएको बस्तु तथा सेवा करको विवाद, बन्दरगाहको लोडिङ समस्या, रेल्वे कम्पनीको मनोमानी तथा केही समय अघि भारतको मिरगञ्जस्थित पुलमा बाढीले पुर्याएको क्षतिको कारण सामान ढुवानीमा समस्या उत्पन्न भएको हो । कोलकत्ता बन्दरगाहबाट समयमै सामान ढुवानी नभएका कारण ठूलो मात्रामा डिमरेज ट्याक्सको भार पर्न गएको सम्बद्ध व्यवसायीहरु बताउँछन् । यस्तै भैरहवा नाकामा पनि भारतीय सुरक्षा कर्मीको अवरोध तथा जाँचपासमा भएको ढिलाइका कारण झण्डै ७ सय मालबाहक ट्रक रोकिएर बसेका छन् । ‘कलकत्ताबाट दैनिक ३ वटा र्याकमा सामाय लोड गरिदिन आग्रह गरेका छौं,’ उनले भने, ‘यदि कलकत्ताबाट नेपालका लागि ३ वटा र्याक छुट्यो भने ती सामान आउन धेरै समय लाग्दैन ।’

भारतबाट सहज रुपमा सामान ढुवानी गर्ने सम्बन्धमा नेपाल सरकारकोतर्फबाट सक्दो प्रयास भइरहेको बाणिज्य मन्त्रालयका प्रवक्ता रवि सैजुले बताए । ‘हामीले कलकत्ताबाट सहज रुपमा सकभर छिटो सामान छुटाउन बाणिज्य मन्त्रालयका एकजना उपसचिव नै भारत पठाएका छौं,’ उनले भने, ‘सो विषयमा सकारात्मक छलफल भइरहेको र केही समयभित्रै सामान छुट्नेछ ।’

तर, कलकत्ता बन्दरगाहकबाट जोगवनी नाका हुँदै सामान ल्याउन पर्ने र सो स्थानमा रेल्वे मार्ग तथा पुल भत्किएका काराण तत्काल सहज रुपमा ढुवानी भने सम्भव नभएको उनको तर्क छ । ‘मिरगञ्जस्थित पुल र रेव्ले ट्रयाक बन्न अझै २ महिना लाग्छ,’ उनले भने, ‘अन्य मार्ग प्रयोग नगर्ने हो भने सो अबधिसम्म नेपालको निर्यात व्यापारमा समस्या उत्पन्न भइरहन्छ ।’ बाटो तथा पुल विग्रीएका कारण व्यवसायीलाई विशखापटनम बन्दरगाहबाट सामान ल्याउन समेत आग्रह गरिएको उनले बताए ।

निजी रेल्वे कम्पनीसँग सम्झौताको तयारी

नेपाल सरकारले भने अबका दिनमा निजी रेल्वे कम्पनीसँग पनि सामान ढुवानीको लागि सम्झौता गर्न लागेको प्रवक्ता सैजुले जानकारी दिए । ‘नेपाल भारत व्यापार तथा पारवहन सन्धिमै उल्लेख भएका कारण हामीले तत्कालका लागि कंकोर बाहेक अन्य रेल्वे कम्पनीसँग समान ढुवानी गर्न सक्ने अवस्था छैन,’ उनले भने, ‘तर अबका दिनमा सरल र रहज रुपमा सामान ढुवानीका लागि अन्य निजी कम्पनीसँग पनि सम्झौता गर्दैछौं ।’ उनका अनुसार सो कार्यको लागि नेपाल सरकारको तर्फबाट सम्पूर्ण तयारी पुरा भएको र केही समयभित्रै आब्हान गरिने छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL