Logo

उत्पादन बढदा प्राधिकरणलाई राहत : आयात घट्यो, उद्योगलाई पनि मागअनुसार विजुली

उत्पादन बढदा प्राधिकरणलाई राहत : आयात घट्यो, उद्योगलाई पनि मागअनुसार विजुली



काठमाडौं । आन्तरिक रुपमा विद्युत उत्पादनमा वृद्धि भएसँगै नेपाल विद्युत प्राधिकरणलाई राहत पुगेको छ । प्रिमनसुनको अन्तिमतिर नेपालका धेरैजसो स्थानमा बर्षा भएपछि नेपालमा आयात हुने विजुलीको परिमाण घट्दै गएको छ । चालु आवको हिउँदमै ३४ हजार मेगावाट आवर बिजुली आयात गरेको प्राधिकरणले आन्तरिक उत्पादन बढेसँगै बढ्दो मागबीच पनि उद्योगलाई मागअनुसार विद्युत प्रवाह गर्न थालेको छ । विद्युत प्राधिकरणको पछिल्लो तथ्यांकलाई आधार मान्दा हाल प्रणालीमा विद्युत अपुग हुने समस्या घट्दै गएको छ । केहिदिन अघिसम्म ३ हजार ४ सय मेगावाट आवरसम्म पुगेको विद्युत अपुग हाल कुनै दिन शून्यमा झर्ने गरेको छ ।

laxmi

प्राधिकरणको तथ्यांकअनुसार बैशाखकै ४ गते प्रणालीमा ३ सय ९० मेगावाट विद्युत अपुग भएको थियो । त्यसैबेला पुर्व तथा तराईका उद्योगीहरुले समेत नेपाल विद्युत प्राधिकरणलाई समयमै विद्युत नदिएपछि लोडसेडिङको तालिका प्रकाशन गर्न दवाव दिएका थिए । त्यसबेला विद्युत प्राधिकरणले पनि यो वर्ष आवश्यक मात्रामा हिउँदमा पानी नपरेपछि विजुली भनेजति उत्पादन नभएको र आयात पनि आवश्यकजति गर्न नसकेका कारण प्रणालीमा विद्युत अपुग भएको दावी गरेको थियो ।

यसपल्ट हिउँदभर पानी नपर्दा त्यसको असर रहेको भएपनि हिउँद ढल्किँदा पनि भनेबमोजिम पानी नपर्दा बिजुली उत्पादन न्यून भएको प्राधिकरणले बताउादै आएको छ । नेपालका धेरैजसो जलविद्युत आयोजना नदी प्रवाही (रन अफ रिभर)मा आधारित छन् । यसैका कारण नदीको प्रवाह र वेग अनुसार बिजुलीको उत्पादन घटबढ हुन्छ । यो बर्ष हिउँदमा पानी परेन, हिमालमा हिउँ पनि परेन र नदीको प्रवाह पनि सोहीअनुसार बढेन । जसका कारण बिजुली उत्पादन न्यून हुँदा यो बर्ष प्रणालीमा विद्युत अपुग बैशाखमै करिव ४ सय मेगावाटसम्म पुगेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बताउँछन् ।

त्यसैबेला भारतबाट आयात हुने बिजुली पनि आवश्यकजति आयात हुन नसकेपछि केहि समय प्रणालीमा बिद्युत अपुग भएको उनको भनाई छ । तर, पछिल्लो समय पहाडी क्षेत्रमा परिरहेको बर्षाले भने प्राधिकरणलाई राहत मिलेको हो । पहाडी भूभागमा प्रिमनसुन बर्षा भएपछि प्रणालीमा केहि विजुली थपिएको प्राधिकरणको भनाई छ । प्राधिकरणका अनुसार निजी उर्जा उत्पादकहरु तथा प्राधिकरण मातहतका आयोजनाबाट गएको बैशाख १८ यता विद्युत उत्पादन बढिरहेको छ । एकातर्फ पानी परेपछि तराईमा शीतल हुँदा लोड घटेको छ भने अर्कातर्फ पानी परेकै कारण विद्युत उत्पादन पनि केही थपिएको छ ।

गत बैशाखमा निज िक्षेत्रबाट कुल विद्युत उत्पादन ९ हजार मेगावाट आवर आसपास भइरहेकोमा हाल बढेर १२ हजार मेगावाट आवर आसपास पुगेको छ । यस्तै विद्युत प्राधिकरण मातहतका आयोजनाबाट हुने उत्पादन पनि ५ हजार मेगावाट आवर आसपासबाट बढेर ८ हजार मेगावाट आवर बढी पुगेको प्राधिकरणले जानकारी दिएको छ । यसरी पछिल्लो समय नेपालको आन्तरिक उत्पादन बढ्ने र लोडमा केहि संकुचन आएपछि प्राधिकरणले भारतबाट आयात हुने विजुलीको परिमाण पनि घटाएको छ ।

बैशाख महिनामा साढे १५ हजार मेगावाट आवरसम्म विजुली आयात गरेको प्राधिकरणले यसलाई घटाएर ६ हजार मेगावाट आवरसम्म पुर्याएको देख्न सकिन्छ । नेपालमा प्रिमनसुनमै पानी पर्दा जेठसम्म बिजुली उत्पादन आवश्यकभन्दा बढी भएर निर्यात गर्नुपर्ने अवस्था आउँथ्यो । तर प्रिमसुन मानिने फागुन १५ देखि जेठ १५ सम्मको अवधिमा पानी भनेजति नपरेपछि केहि अप्ठ्यारो भने रहेको छ । तर, पछिल्लो समय नेपालमा भारतबाट आयात हुने विजुलीको परिमाण घट्दै गएको देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL