Logo

पाँचखालमा बनिनसक्दै भाँचियो साढे चार करोडको पुल

पाँचखालमा बनिनसक्दै भाँचियो साढे चार करोडको पुल



काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–१२ नागबेलीस्थित झिकुखोलामा बन्दाबन्दैको पक्की पुल भाँचिएको छ । निर्माण व्यवसायीका लापर्बाहीका कारण बनिनसक्दै पुल भाँचिएपछि पुल भत्काएर पुनर्निर्माण गर्न स्थानीयले माग गरेका छन् ।

छ वर्षअघि चन्द्रा एण्ड वसन्त एनएम जेभीले चार करोड ५० लाखमा करिब एक वर्षको अवधिमा निर्माण सक्ने गरी सडक डिभिजन कार्यालय भक्तपुरमार्फत ठेक्का लिई सुरु गरेको थियो । स्थानीयले पुल निर्माणमा ढिलाइ गरी अलपत्र तथा लापर्बाहीका कारण खेतमा बाढी पस्दा हजारौँ रोपनी डुबानमा परेको र क्षतिपूर्ति समेतको माग गर्न थालेका छन् । निर्माण पक्षले बीचबाट चर्किएर भाँचिएको उक्त पुल प्लाष्टरमार्फत टाल्न खोजिएको प्रष्ट देखिन्छ ।

४० मिटर लम्बाइको उक्त पुल भाँचिएपछि आज स्थलगत निरीक्षण गरेका नगर नगर प्रमुख महेश खरेलले पुल पूरै भत्काएर पुनः बनाउनुपर्ने देखिएको बताए । ‘भाँचिएर जीर्ण बनेको पुलमा भोलि जनधनको क्षति हुने भएकाले पनि प्राविधिकको सल्लाहबमोजिम पुलको पुनर्निर्माण हुनुपर्छ’, उनले भने । उनका अनुसार ‘टालटुल’ ले पुल यथास्थितिमा राख्न नमिल्ने अवस्थामा छ ।

समयमै पुल नबन्दा स्थानीयले निकै समस्या भोग्नुपरेको १२ नं का वडाध्यक्ष ज्ञानबहादुर दनुवारले बताए । उनका अनुसार वर्षायाममा नजिकैको आजाद माध्यमिक विद्यालयमा पठनपाठन गर्ने विद्यार्थी तथा त्यस भेगमा उत्पादन भएको तरकारी बजार लैजान समस्या छ । ‘बल्ल बनेको पुलबीच भागमा भाँच्चिएपछि स्थानीय झन चिन्तित बनेका छन्’, दनुवारले भने ।

गणेश दनुवारले बाढीकै खोलामा एकतर्फी पुलको ढलान गरिएको भागले पानीको बहाव त्यहाँ ठोक्किएर बर्सेनि स्थानीयको खेत नै बगाएको बताए । पुल निर्माण सम्पन्न भएपछि पाँचखालका स्थानीयसँगै तेमाल र चौँरी देउराली गाउँपालिका तथा रामेछापको केही स्थानीय तहमा जान निकै सहजता हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL