Logo

नेपाल र चीनबीचको द्विपक्षीय तथा पारवहन व्यापार प्रवर्द्धनमा छलफल

नेपाल र चीनबीचको द्विपक्षीय तथा पारवहन व्यापार प्रवर्द्धनमा छलफल



काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालसँग चिनियाँ राजदूत चेन सङ्ले शिष्टाचार भेटवार्ता गरेका छन् । मन्त्रालयमा सोमबार भएको शिष्टाचार भेटवार्तामा द्विपक्षीय सम्बन्ध, विकास सहायता र सीमानाका खुलाउने विषयलगायत विविध विषयमा कुराकानी भएको थियो ।

भेटमा मन्त्री रिजालले नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको जनाउँदै चिनियाँ राजदूत चेन सङ्को प्रशंसा गरेका थिए । आगामी दिनहरूमा पनि द्विपक्षीय सम्बन्ध थप सुदृढ हुँदै जानेमा आफू विश्वस्त रहेको समेत मन्त्री रिजालले स्पष्ट पारे ।

भेटका क्रममा मन्त्री रिजालले दुई देशबीचको सम्बन्ध विशेष एवं उच्च महत्व रहेको बताए । चीनविरूद्ध नेपाली भूमि प्रयोग हुन नदिने कुराप्रति प्रतिबद्धता जनाउँदै उनले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्थिरता तथा राष्ट्रिय स्वाधिनताको सम्मानका लागि चीन सदैव अडिग रहेको प्रति नेपालको उच्च सम्मान रहेको बताए ।

चीन नेपालको दोस्रो ठूलो व्यापार साझेदार मुलुक रहेको जनाउँदै मन्त्री रिजालले नेपालको कुल वैदेशिक व्यापारको १४ प्रतिशत व्यापार चीनसँग हुने गरेको स्पष्ट पारे । चीनसँगको व्यापारमा नेपालले ठूलो व्यापार घाटा व्यहोरिरहेको स्पष्ट पार्दै मन्त्री रिजालले उक्त व्यापार घाटालाई कम गर्नका निमित्त राजदूत चेन सङ्को कार्यकालमा दुई देशबीच सहकार्य हुनेमा विश्वास व्यक्त गरे ।

मन्त्री रिजालले चिनियाँ राजदूत चेन सङ्लाई नेपाल र चीनबीचको व्यापार सहजीकरण गर्न दुई देशका बीच रहेको विभिन्न संयन्त्रहरूको स्मरण समेत गराए । पारवाहन ढुवानी सम्झौताको कार्यान्वयनका लागि स्थापित संयुक्त परामर्श संयन्त्रको बैठक समेत बस्न नसकेको बताउँदै उनले काठमाडौँ र बेइजिङबीच स्थापित उक्त संयन्त्रहरूको बैठक यथाशीघ्र बसी द्विपक्षीय तथा पारवहन व्यापार प्रवर्द्धन तथा सहजीकरण गर्न आग्रह गरे ।

तातोपानी, रसुवा तथा हिल्सानाका पुनः खुलेर पूर्णरूपमा सञ्चालनमा आएकामा खुशी व्यक्त गर्दै मन्त्री रिजालले थप नाका पनि चाँडै सञ्चालनमा ल्याउन पहल गरिदिन आग्रह गरे । मन्त्री रिजालले नेचुङ–लिजी, किमाथाङ्का, ओलाङचुङ्गोलालगायतका सीमानाकासमेत खोल्नेतर्फ चिनियाँ राजदूत सङ्को ध्यानाकर्षण गराए ।

नेपालको विकासका लागि चीनको सहयोग र सहकार्यप्रति आभार व्यक्त उहाँले आगामी दिनमा चीनले अझ बढी विकास सहायता र प्रत्यक्ष वैदेशिक लगानी उपलब्ध गराउने कुरामा आफू विश्वस्त रहेको बताए ।

भेटमा चिनियाँ राजदूत सङ्ले नेपालले सधैँ एक चीन नीतिको समर्थन गर्दै आएकामा धन्यवाद दिए । द्विपक्षीय सम्बन्ध थप सुदृढ हुँदै जानेमा आफू पनि विश्वस्त रहेको जनाउँदै उनले विकास सहायता र प्रत्यक्ष वैदेशिक लगानी उपलब्ध गराउने कुरामा चीन सकारात्मक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL