Logo

तुलसीपुरका चार स्थानमा ‘डिजिटल बोर्ड’, तुलसीपुरका युवा व्यवसायी केसीको सहयोग

तुलसीपुरका चार स्थानमा ‘डिजिटल बोर्ड’, तुलसीपुरका युवा व्यवसायी केसीको सहयोग



काठमाडौं । सवारी दुर्घटना न्यूनीकरण गर्न दाङको तुलसीपुर उपमहानगरपालिका चार प्रमुख स्थानमा ‘डिजिटल बोर्ड’ स्थापना गरिएको छ । ट्राफिक नियमको पालना गराउन तथा चेतना फैलाउने उद्देश्यले तुलसीपुरको बसपार्क, वीरेन्द्र चोक, गोटिखोला र जसपुरमा डिजिटल बोर्ड स्थापना गरिएका हुन् ।

laxmi

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले सोमवार आयोजित कार्यक्रममा मानवीय त्रुटिका कारण दुर्घटनाको जोखिम बढेको हुँदा सबै सचेत हुनुपर्ने बताए । बजारमा व्यवसाय गर्दै गर्दा अरूलाई अप्ठ्यारो नहुने गरी व्यवसाय गर्न उनले सबैलाई आग्रह गरे ।

यस्तै राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय लुम्बिनी प्रदेशका प्रमुख प्रहरी उपरीक्षक कृष्ण प्रसाईले अस्वस्थ प्रतिस्पर्धा र तीव्रगतिका कारण सबैभन्दा धेरै दुर्घटना हुने गरेको उल्लेख गरे । उनले दुर्घटना न्यूनीकरण गर्न आम नागरिकलाई ट्राफिक नियमबारे सचेतना दिनका लागि तुलसीपुरमा नागरिक तथा स्थानीय सरकारको सहयोगमा डिजिटल बोर्ड स्थापना गरिएको बताए ।

तुलसीपुर –५ र तुलसीपुरका युवा व्यवसायी विनिल केसीले ती डिजिटल बोर्ड राख्नका लागि आर्थिक सहयोग उपलब्ध गराएका थिए । कार्यक्रममा राष्ट्रिय यातायात महासङ्घका सल्लाहकार सुरेश हमालले दुर्घटना न्यूनीकरण गर्न यातायात व्यवसायी, मजदुर र ट्राफिक प्रहरीबीच नङ र मासुको सम्बन्ध हुनुपर्ने बताएका थिए ।

बसपार्कमा यात्रु तान्ने परम्पराको अन्त्य अझै हुन नसकेको र सिसी क्यामेराको व्यवस्था नहुँदा व्यवसायीलाई समस्या परेको हुँदा यातायात क्षेत्र समस्या सम्बोधन हुने गरी काम गर्न स्थानीय सरकारलाई आग्रह गरे । यस्तै कार्यक्रममा स्वतन्त्र यातायात मजदुर सङ्गठन लुम्बिनी प्रदेशका उपाध्यक्ष केशव भण्डारी, तुलसीपुर उपमहानगर–५ का वडाध्यक्ष वीरेन्द्र शाहलगायतकाले मन्तव्य राखेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्
MBL