Logo

रायमाझीलाई तीन दिन हिरासतमा राख्न अनुमति, सेलिब्रेटीलेझै हाँस्दै र हात हल्लाउँदै पुगे अदालत

रायमाझीलाई तीन दिन हिरासतमा राख्न अनुमति, सेलिब्रेटीलेझै हाँस्दै र हात हल्लाउँदै पुगे अदालत



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । पक्राउ पुर्जी जारी भएपछि १० दिनदेखि फरार रहेका रायमाझी आइतबार राति बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ परेका थिए ।

laxmi

आज (सोमबार) काठमाडौं जिल्ला अदालत लगिएका रायमाझीलाई अनुसन्धानका लागि म्याद थप गरिएको हो । अब रायमाझीलाई बुधबारसम्म हिरासतमा राखेर प्रहरीले अनुसन्धान अघि बढाउनेछ भने सोही दिन अदालत हाजिर गर्नेछ । यसअघि पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणसहित १२ जनालाई काठमाडौं जिल्ला अदालतबाट आइतबार अनुसन्धानका लागि ४ दिन म्याद थप भएको थियो । प्रहरी भ्यानमा आएका रायमाझी उपस्थित मिडियाकर्मीलाई हात हल्लाउँदै जिल्ला अदालत प्रवेश गरेका थिए । उनी सेलिब्रेटीलेझै हाँस्दै र हात हल्याउँदै अदालत भित्र पसेका थिए ।

हिजै राति काठमाडौं प्रहरी परिसर ल्याइएका एमालेका निलम्बित सचिव रायमाझीलाई आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको हो । रायमाझी पक्राउ परेसँगै नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका लाने भन्दै करोडौँ रकम ठगी गरेको अभियोगमा समातिनेको संख्या १३ पुगेको छ ।

अहिलेसम्म नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत पक्राउ परिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL