Logo

महानगरको अधिकारभित्र रहेर गुजुल्टिएका तार हटाउने बालेनको घोषणा, सेवाग्राहीसँग मागे साथ

महानगरको अधिकारभित्र रहेर गुजुल्टिएका तार हटाउने बालेनको घोषणा, सेवाग्राहीसँग मागे साथ



काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले विभिन्न स्थानमा गुजुल्टिएका अव्यवस्थित तारहरु हटाउने घोषणा गरेका छन् । शुक्रबार आफ्नो सामाजिक संजाल फेसबुकमा एक स्ट्याटस लेख्दै उनले महानगरपालिकाले पाउने अधिकारभित्र रहेर तार हटाउने तत्पर रहेको बताएका हुन् ।

laxmi

पछिल्लो समय काठमाडौंका विभिन्न स्थानमा इन्टरनेट, टेलिफोनलगायतको तारले शहर नै कुरुप बनाएपछि सबैतिर यसको आलोचना हुने गरेको छ । त्यसैका कारण बालेनले आजभन्दा १५ दिनअघि यस्ता तार व्यवस्थित गर्न सम्बन्धित निकायहरुलाई निर्देशन पनि दिएका थिए । तर, निर्देशनको पालना गर्नुको साटो अत्यावश्यक सेवामा अवरोध गर्न नहुने भन्दै विभिन्न स्थानबाट आदेश आएको बालेनले बताए ।

‘शहरका पोलहरुमा तारको अवस्था कस्तो छ भनिरहनु नपर्ला । त्यसमा हजारौँ मिम बनेका छन्, ट्रोल भएका छन्,’ उनको स्ट्याटसमा भनिएको छ, ‘भौतिकरुपमा तिनले शहरलाई अव्यवस्थित बनाएका छन् भने आगलागीको जोखिम पनि बढाएका छन् । गतबर्षमात्रै अव्यवस्थित तारहरुको कारण ५३ ठाउँमा आगलागी भएको तथ्यांक छ ।’

यसलाई व्यवस्थित बनाउन, एकिकृत विकासका लागि सम्बन्धित कानुन बनाउन आग्रह गरेको धेरै भइसकेको भएपनि त्यसतिर कुनै सुनुवाइ नभएको उनको गुनासो छ ।

‘हामीले १५ दिन पहिले सडकको पोलमा रहेको तारको व्यवस्थापन गर्न भनेर सूचना जारी गरेका थियौँ । यसबिच पनि यो समस्या सुनुवाइ होला भन्ने आश थियो तर त्यसको विपरित त्यो तार व्यवस्थापन गर्दा इन्टरनेट लगायत सेवा अवरुद्ध हुन सक्ने कारणदेखि यस्तो कार्य नगर्न आदेश प्राप्त भयो,’ उनले भने,’ समस्यालाई यथावत राखेर हामीले व्यवस्थित र सुन्दर महानगर प्राप्त गर्न सक्दैनौँ । आगलागीको जोखिम कम गर्न र व्यवस्थापन गर्न काठमाण्डौ महानगर आफ्नो अधिकारभित्र रहेर कार्य गर्न तत्पर छ ।’

उनले महानगरले अब आफै तार हटाउने बताउँदै सेवाग्राहीमा आएको क्षणिक समस्याका लागि भने माफी मागेका पनि छन् । ‘यसमा कतिपय अवस्थामा तत्कालका लागि कसैलाई असुविधा पुग्न सक्छ,’ उनले भने, ‘तर तपाइँ हरुले साथ दिनु हुनेछ भन्ने अपेक्षा राख्दछौं ।’

प्रतिक्रिया दिनुहोस्
MBL