Logo

प्रचण्डले तयार पारे मन्त्रालय बाँडफाँटको प्रारम्भिक खाका : माओवादीलाई गृह, कांग्रेसलाई अर्थ

प्रचण्डले तयार पारे मन्त्रालय बाँडफाँटको प्रारम्भिक खाका : माओवादीलाई गृह, कांग्रेसलाई अर्थ



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रालयको संख्या बाँडफाँटको प्रारम्भिक प्रस्ताव तयार पारेका छन् । गठबन्धनमा रहेका दलहरूसँग परामर्श गरेर उनले प्रारम्भिक प्रस्ताव तयार पारेका हुन् ।

laxmi

प्रस्तावमा आज गठबन्धन दलसँग सहमति जुटाएर सोमबारसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीको तयारी छ । शनिबार बसेको माओवादी पदाधिकारी बैठकमा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले आज गठबन्धनको बैठक राख्ने र प्रारम्भिक प्रस्ताव पेस हुने बताएका छन् ।

गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूसँगको छलफलका आधारमा प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई एक राज्यसहित आठ, माओवादीलाई प्रधानमन्त्रीसहित पाँच, राष्ट्रिय स्वतन्त्र पार्टीलाई एक राज्यमन्त्रीसहित तीन, एकीकृत समाजवादीलाई एक राज्यमन्त्रीसहित तीन, जसपालाई दुई, जनमत, लोसपा र नागरिक उन्मुक्तिलाई एक–एक र स्वतन्त्र दुई सांसदमध्येबाट एक जनालाई मन्त्री बनाउने प्रस्ताव तयार गरेका छन् ।

माओवादीबाट मन्त्री रहेका मन्त्रालयको हेरफेर गर्ने र कसलाई कुन मन्त्रालय दिने टुङ्गो लगाउने गरी शीर्ष तहमा छलफल भइरहेको छ । सबैलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्दा अहिले माओवादीले सम्हाल्दै आएका केही मन्त्रालय हेरफेर हुन सक्ने नेताहरुले बताएका छन् ।

प्रचण्डले गएको ६ गते कांग्रेससहित १० दलको समर्थनमा विश्वासको मत लिएका थिए। नेपाली कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा ८ मन्त्रालयसहित सरकारमा सहभागी हुने तयारीमा छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा हिजो बसेको पदाधिकारी बैठकले ८ मन्त्रालयसहित सरकारमा जाने तयारी गरेको हो ।

त्यसैबीच एकीकृत समाजवादीले उपाध्यक्ष बेदुराम भुसालको नेतृत्वमा सरकारमा जाने तयारी गरेको छ । नेताहरुका अनुसार मन्त्रालयको भागबण्डा हुँदा माओवादीले गृह र कांग्रेसले अर्थ मन्त्रालय पाउने सम्भावना बलियो छ । अहिले माओवादीबाट उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधारमा नारायणकाजी श्रेष्ठ, सामान्य प्रशासन मन्त्रालयमा अमनलाल मोदी, सञ्चारमा रेखा शर्मा, पर्यटनमा सुदन किराँती र पर्यटन राज्यमन्त्रीमा सुशीला सिर्पाली छन् । यस्तै जनमतबाट अब्दुल खान मन्त्री छन् । बाँकी मन्त्रालय प्रधानमन्त्री प्रचण्डले नै सम्हाल्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL