Logo

सर्वसाधारणसँग छैन नगद : बजारमा मन्दीको संकेत, एक महिनामै ४ खर्बले घट्यो भुक्तानी

सर्वसाधारणसँग छैन नगद : बजारमा मन्दीको संकेत, एक महिनामै ४ खर्बले घट्यो भुक्तानी



काठमाडौं । वस्तु आयातमा संकुचन, बढ्दो मूल्यवृद्धि, उच्च ब्याजदर र सर्वसाधारणसँग नगद अभाव हुँदा यसको असर समग्र भुक्तानीमा देखिएको छ । राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार चालु आर्थिक बर्षको माघ महिनामा पुसको तुलनामा ४ खर्ब ९२ अर्ब रुपैयाँले भुक्तानी घटेको देखिएको हो ।

वस्तुको बढिरहेको मूल्य र अभावका कारण भुक्तानीमा ठूलो गिरावट आएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । बजारमा उपभोक्तासँग खर्च गर्ने रकम नभएपछि वस्तुको उपभोगमा असर पर्छ । यसरी पैसा नै नभएको अवस्थामा बजारमा वस्तुको खरीद कम हुन्छ र व्यापारमा मन्दी सुरु हुन्छ । जुन नेपाली व्यापार व्यवसायमा देखिएको नेपाल राष्ट्र बैंकको तथ्यांकले औंल्याएको छ । यसले व्यक्तिको क्रयशक्ति घटेर अर्थतन्त्रमै नगद प्रवाह घटेको संकेतसमेत दिएको छ ।

राष्ट्र बैंकका अनुसार गएको भदौ महिनामा मात्रै साउन महिनाको तुलनामा सबै प्रकारका माध्यमबाट हुने भुक्तानीमा साढे ७ खर्ब ६१ अर्ब रुपैयाँ बढीको गिरावट आएको छ । पछिल्लो समय धेरैजसो भुक्तानीहरु विद्युतीय माध्यमबाट हुने गर्छन । सर्वसाधारणले वस्तुको खरिददेखि राजस्व भुक्तानीसम्म विद्युतीय माध्यमबाट गर्ने भएपछि भुक्तानीमा विद्युतीय माध्यमको प्रयोग बढ्दो छ । तर, भदौ महिनामा भने विद्युतीय माध्यमबाट हुने भुक्तानीमा ठूलो गिरावट आएको थियो । त्यसको पछिल्लो महिना अर्थात असोजमा भदौको तुलनामा साढे ३ खर्ब रुपैयाँको गिरावट आउँदा कार्तिकमा असोजको तुलनामा ६ खर्ब ५९ अर्ब रुपैयाँको गिरावट आएको थियो ।

यस्तै पुनः मंसिरमा भने भुक्तानी कारोबारमा केहि वृद्धि हुँदा कार्तिकको तुलनामा जम्मा ३ खर्बको मात्रै गिरावट आएको देखिन्छ । यस्तै पुसमा भने मंसिरको तुलनामा विद्युतीय माध्यमबाट हुने भुक्तानी बढेको देखिन्छ । पुस मसान्तमा सबै निकायहरुले आफ्नो कर भुक्तानी गर्ने भएपछि यो महिना अघिल्लो महिनाको तुलनामा भुक्तानी ४ खर्ब ४८ अर्ब रुपैयाँले बढेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । तर, पुनः त्यसको पछिल्लो महिना माघमा भने भुक्तानी ४ खर्ब ९२ अर्ब रुपैयाँले घटेको छ । पुस महिनाभर विभिन्न माध्यमबाट गरी ४१ खर्ब ४५ अर्ब रुपैयाँ बराबरको भुक्तानी भएकोमा माघ महिनामा घटेर ३६ खर्ब ५३ अर्ब रुपैयाँमा सीमित भएको हो ।

यति मात्रै होईन यस अवधिमा भुक्तानीको संख्यामा पनि ८ लाख ५४ हजार बढीले गिरावट आएको छ । पुस महिनामा विभिन्न माध्यमबाट ७ करोड ४१ लाख २२ हजार पटक भुक्तानी भएकोमा माघ महिनामा घटेर ७ करोड ३२ लाख ६८ हजार पटकमा झरेको हो । यस अवधिमा रियल टाइम गस्र सेटलमेन्ट (आरटीजीएस) मार्फत हुने भुक्तानीमा भने सबैभन्दा ठूलो गिरावट देख्न सकिन्छ । अर्थात पुस महिनाको तुलनामा मंसिरमा आरटीजीएस भुक्तानी ४ खर्ब ४ अर्ब ३५ करोड रुपैयाँले घटेको छ । यस्तो भुक्तानीको संख्या पनि यस अवधिमा ६ हजार २ सय ३० पटकले घटेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

यस्तै पुसको तुलनामा माघमा एटीएमबाट झिक्ने पैसा ८० करोड ५० लाखले घट्दा इलेक्ट्रोनिक चेक क्लियरिङ (इसीसी)मार्फत हुने भुक्तानीमा ६३ अर्ब ३२ करोड रुपैयाँले घटेको छ । यस्तै यस अवधिमा आइपीएस प्रविधिमार्फतको भुक्तानी ९ अर्ब ४७ करोड, कनेक्ट आइपीएस १५ अर्ब २८ करोड, डेबिट कार्डमार्फत १ अर्ब ७२ करोड र क्रेडिट कार्डमार्फत १९ करोड रुपैयाँले भुक्तानी घटेको छ ।

साथै माघ महिनामा वालेटमार्फत हुने भुक्तानी १ अर्ब १४ करोड रुपैयाँले घट्दा पोइन्ट अफ सेल (पस)मार्फत हुने भुक्तानी १ अर्ब १३ करोड रुपैयाँले घटेको छ । यस अवधिमा इन्टरनेट बैंकिङ, क्युआर पेमेन्ट, मोबाइल बैंकिङ, प्रिपेड कार्ड, इकमर्श र शाखारहित बैंकिङ सेवमार्फतको भुक्तानी भने बढेको देखिन्छ । यसरी हेर्दा चालु आर्थिक बर्षको ७ महिना अर्थात साउनदेखि माघसम्म भएको कुल भुक्तानी गत आवको सोही अवधिको तुलनामा पनि ९ खर्ब ८ अर्ब रुपैयाँले घटेको छ । गत आवको माघ मसान्तसम्म नेपालमा माथिका सबै माध्यमबाट ३ सय १५ खर्ब रुपैयाँ बराबरको भुक्तानी भएकोमा यो बर्षको सोही अवधिमा घटेर ३ सय ६ खर्बमा सीमित भएको हो ।

यसरी लगातार भुक्तानी घट्नुले एकातर्फ बैंकिङ प्रणालीको कारोबारमा संकुचन आएको र अर्काेतर्फ सर्वसाधारणको भुक्तानी क्षमतामा नै गिरावट आएको नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापा बताउँछन् । बजारमा वस्तुको मागमा संकुचन आएपछि र पूर्वाधार निर्माणमा सरकारले उचित खर्च गर्न नसकेपछि यसको असर भुक्तानीमा देखिने उनले बताए । ‘आयातको घट्दो तथ्यांक, घटिरहेको राजस्व आम्दानी र विकास खर्चको ओरालो लाग्दो ग्राफले भुक्तानीमा असर गर्छ,’ उनले भने, ‘एकातर्फ बैंकिङ प्रणाली र सर्वसाधारणसँगै पैसाको प्रवाह कम हुँदा यसले समग्र भुक्तानीमा असर पार्ने देखिन्छ ।’ उनका अनुसार आम उपभोक्ताले बजारमा भएका वस्तुको कम खपत गर्नु व्यापार मन्दीको संकेत पनि हो । यसरी एक महिनामै साढे ४ खर्ब बढी रुपैयाँ भुक्तानीमा गिरावट आउनुले पूर्वाधार निर्माणमा समेत ठूलो गिरावट आएको संकेत देखिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL