Logo

एलडिसि सम्मेलनमा उपप्रम श्रेष्ठको सम्बोधन-अतिकम विकसित देशलाई ठूलो लगानीको आवश्यकता छ

एलडिसि सम्मेलनमा उपप्रम श्रेष्ठको सम्बोधन-अतिकम विकसित देशलाई ठूलो लगानीको आवश्यकता छ



काठमाडौँ । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले अल्पविकसित देशलाई हरित र लचिलो उद्योग, शिक्षा, स्वास्थ्य, विज्ञान र प्रविधि र कृषिमा ठूलो लगानीको आवश्यकता रहेको बताएका छन् ।

कतारको दोहामा सुरु भएको अतिकम विकसित मुलुक (एलडिसि)) को पाँचौं सम्मेलनलाई सम्बोधन गर्दै उनले धेरै संकटको सामना गर्दा, अल्पविकसित देशलाई ठूलो लगानीको आवश्यकता रहेको धारणा व्यक्त गरे ।

अतिकम विकसित मुलुकलाई ऊर्जा, यातायात, र डिजिटल जडानको लागि गुणस्तरीय, दीगो र लचिलो पूर्वाधार चाहिने उल्लेख गर्दै उनले समाजको सबैभन्दा कमजोर समूहको कल्याण र सुरक्षाको लागि र मानव संशाधन क्षमताको विकास र उपयोग गर्न बलियो सामाजिक सुरक्षा र लचिलो स्वास्थ्य प्रणाली चाहिने आवश्यकता औंल्याए ।

‘हामी किन र कसरी गरिबी र अल्पविकासको निरन्तरताबाट पीडित भइरहने भन्ने हाम्रो सामू ठूलो प्रश्न छ, अतिकम विकसित मुलुकले बलियो औद्योगिक क्षमता, राम्रो उत्पादक र विस्तारित निर्यात आधारको साथ आफ्नो अर्थतन्त्रको संरचना परिवर्तन गर्न आवश्यक छ’, उनले भने ।

विकास साझेदारलाई सहयोग बढाउनका लागि आह्वान गर्दै उनले अर्थतन्त्रले महामारी, द्वन्द्व र जलवायु प्रकोप जस्ता ठूला विश्वव्यापी संकटको आक्रमणको सामना गरिरहेको उल्लेख गरे । उपप्रधानमन्त्री श्रेष्ठले जलवायु सङ्कटको सबैभन्दा बढी शिकार अल्पविकसित राष्ट्र भएको उल्लेख गर्दै न्यायका लागि अनुकूलन, न्यूनीकरण, हानी नोक्सानीका लागि गरिएको जलवायु वित्त प्रतिबद्धता पूर्ण रूपमा परिचालन गरिनुपर्नेमा जोड दिए ।

अतिकम विकसित मुलुकमा सरल पहुँचको साथ डिजिटललगायत प्रविधि हस्तान्तरणलाई सुनिश्चित गरिनुपर्ने बताउँदै उनले विकासशील विश्वको आवाज र प्रभावकारी सहभागिता सुनिश्चित गर्न विश्व आर्थिक र वित्तीय प्रणालीलाई न्यायपूर्ण र समतामूलक बनाउन साहसी कदम चाल्नु पर्ने पनि उनले बताए ।

उपप्रधानमन्त्री श्रेष्ठले नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि प्रक्रिया सहज र दीगो बनाउन नेपाल सरकारले आवश्यक काम गरिरहेको बताउँदै सहयोगको अपेक्षा गरे । उपप्रधानमन्त्री श्रेष्ठ नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। मीनबहादुर श्रेष्ठ, राष्ट्रियसभा सदस्य जितेन्द्रनारायण देव, नेपाल सरकारका सचिव, कतारका लागि नेपाली राजदूतलगायत सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL