Logo

प्रदेश नं १ को नाम ‘कोशी’ कायम, दुई तिहाइ बहुमतबाट पारित

प्रदेश नं १ को नाम ‘कोशी’ कायम, दुई तिहाइ बहुमतबाट पारित



काठमाडौं । प्रदेश नं १ को प्रदेशसभाले प्रदेशको नाम ‘कोशी’ कायम गरेको छ । बुधबार बसेको सभाको दोस्रो बैठकले प्रदेशको नाम बहुमतले पारित गरेको हो ।

नेपालको संविधानको धारा २९५ को उपधारा (२) बमोजिम प्रदेश नं १ को दोस्रो सभाको पहिलो अधिवेशनको १३ बैठकबाट प्रदेश नं १ को नाम प्रदेशसभामा तत्काल कायम रहेको सदस्य सङ्ख्याको दुई तिहाइ बहुमतबाट कोशी प्रदेश नामकरणसम्बन्धी प्रस्ताव सदनमा पेस भएको थियो ।

मत विभाजनका आधारमा प्रदेशको नाम टुङ्गो लगाउँदा कोशी प्रदेशको पक्षमा ८२ मत र विपक्षमा चार मत परेको सभामुख बाबुराम गौतमले जानकारी दिए ।

नेकपा (एकीकृत समाजवादी) का नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राई र प्रदेशसभा सदस्य कमलप्रसाद जबेगुले संयुक्तरूपमा संशोधन प्रस्ताव दर्ता गराएका थिए । प्रदेशसभा बैठकमा राजेन्द्रकुमारको उक्त संशोधन प्रस्ताव टेबल गरेपछि ध्वनी बहुमतले अस्वीकृत भएको थियो ।

कोशी प्रदेशको प्रस्तावमाथिको छलफलमा १५ जना प्रदेश सांसदले भाग लिएका थिए। प्रदेश सांसदहरूले उठाएको प्रश्नको जवाफ उक्त प्रस्तावका प्रस्तावक एमालेका प्रदेश सांसद रामबहादुर मगरले दिएका थिए । प्रदेशसभाको अर्को बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको सभामुख गौतमले सभालाई जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
MBL