Logo

लालबन्दीबाट ७ महिनामा १ अर्ब बढीको तरकारी निर्यात, भारत पठाईयो बेथुको सागदेखि धनियाँसम्म

लालबन्दीबाट ७ महिनामा १ अर्ब बढीको तरकारी निर्यात, भारत पठाईयो बेथुको सागदेखि धनियाँसम्म



काठमाडौं । सर्लाहीको लालबन्दीमा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले चालु आर्थिक वर्षको सात महिनामा १ अर्ब रुपैयाँ बढीको तरकारी निकासी गरेको छ ।

laxmi

लालबन्दी नगरपालिका–७ मा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले गत साउन १ देखि माघ मसान्तसम्ममा तरकारी निकासीबाट १ अर्ब ६६ लाख ६३ हजार ३ सय ५० रुपैयाँ आर्जन गरेको समितिका व्यवस्थापक शम्भु घिमिरेले जानकारी दिए ।

उनका अनुसार आव २०७९÷०८० को साउनमा २० करोड २ लाख, भदौमा १८ करोड ८५ लाख ५२ हजार, असोजमा २७ करोड ८० लाख ८३ हजार, कात्तिकमा ९ करोड ६३ लाख ७८ हजार, मङ्सिरमा ७ करोड १० लाख ६८ हजार, पुसमा १७ करोड १५ लाख ८८ हजार र माघमा २० करोड ९४ लाख ३७ हजार रुपैयाँ हाराहारी रकम सङ्कलन गरिएको छ ।

चालु आवको ७ महिनामा १ अर्ब ६६ लाख ६३ हजार ३ सय ५० रुपैयाँ सङ्कलन भएको समितिका अध्यक्ष तोरणबहादुर मगरले जानकारी दिए । जिल्लाको लालबन्दी, हरिवन, हरिपुर र ईश्वरपुर नगरपालिका क्षेत्रमा किसानले उत्पादन गरेका गोलभेँडा, परबल, बोडी, सिमी, भन्टा, करेलालगायतका तरकारी लालबन्दीको बजारमा आउने समितिले जनाएको छ ।अध्यक्ष मगरका अनुसार सिन्धुली, रामेछाप, काठमाडौँ, पोखरा, बुटवल, भैरहवा, नारायणगढ, नेपालगञ्ज, हेटौँडा, वीरगञ्ज, गौर, जनकपुर, सिरहा, विराटनगर, इटहरीका साथै छिमेकी देश भारतको सोनवर्षा तथा सीतामाडीलगायतका स्थानमा लालबन्दीबाट तरकारी निकासी हुन्छ ।

लालबन्दीबाट टमाटर, भन्टा, बोडी, लौका, करेला, काँक्रो, फूलकोभी, बन्दा कोभी, घिरौँला, सिमी, झिङ्गनी, मूला, हरियो खुर्सानी, बेथुको साग, गाँजर, भिन्डी, परबल, रुख कटहर, फर्सी, धनियाँको पात, कागती, मटरकोसा, प्याज र भेँडेखुर्सानीलगायतका तरकारी निकासी हुन्छ ।

त्यस्तै, सङ्घीय सरकार मातहत रहेको थोक तरकारी बजारको छ कोठे भवन निर्माणका लागि शिलान्यास गरिएको छ । कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्रको ५० लाख ७७ हजार मा सो भवन निर्माण हुनेछ ।

चालु आवको असार मसान्तसम्ममा निर्माण सम्पन्न गर्ने गरी समितिले नै भवन निर्माणको काम थालेको अध्यक्ष मगरले जानकारी दिनुभयो । लालबन्दी बजारसहित सङ्घ सरकार मातहत ११ वटा बजार रहेका छन् ।रासस

प्रतिक्रिया दिनुहोस्
MBL