Logo

रोयल्टी विवादले नेपाल आउन छाडे चेन होटल, भएका पनि बाहिरिने जोखिम

रोयल्टी विवादले नेपाल आउन छाडे चेन होटल, भएका पनि बाहिरिने जोखिम



काठमाडौं । सरकारले नेपालबाट रोयल्टीवापतको रकम फिर्ता लैजान कडाई गरेसँगै नेपाली विश्वस्तरीय ब्राण्डका चेन होटल नेपाल आउन समस्या देखिएको छ । सरकारले विदेशी ब्राण्डका चेन होटलहरु संचालन गर्दा रोयल्टी वापत ५ प्रतिशत रकम मात्र लैजान पाउने कानूनी व्यवस्था गरेसँगै उक्त समस्या उत्पन्न भएको हो ।

सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली जारी गर्दै कुनै पनि विदेशी लगानीमा ५ प्रतिशतभन्दा बढी रोयल्टी लैजान नपाउने व्यवस्था गरेको छ । जसका कारण पछिल्लो समय नेपालमा नयाँ चेन होटलहरु आउन नचाहेको र हाल भएका चेन होटलहरु पनि बाहिरिने जोखिम उच्च रहेको एक होटल व्यवसायीले जानकारी दिए ।

‘अहिले नेपालमा रहेका विदेशी चेन होटलहरुले विभिन्न किसिमका रोयल्टीवापत ५ प्रतिशतभन्दा बढी रकम लैजादै आएका छन्,’ ती होटल व्यवसायीले भने, ‘तर हरेक चेन होटलको सम्झौता ३।३ वर्षमा रिभ्यु हुने र रिम्भु गर्दा नयाँ व्यवस्था लागू हुने हुँदा यसअघि नेपालमा आएका चेन होटलमा पनि अबका दिनमा रोयल्टी विवादले समस्या निम्त्याउने छ ।’ पछिल्लो समय विदेशी ब्राण्डका होटलहरुले नेपालमा व्यवस्थापनसहितको चेन सम्हाल्दै आएका छन् । जसवापत त्यस्ता होटलहरुले साढे ७ प्रतिशतभन्दा बढी रोयल्टी लैजादै आएका छन् ।

विदेशी चेन होटलहरुले नेपालबाट ५ प्रतिशतमात्रै रोयल्टी लैजान पाउने व्यवस्थाले नेपालको पर्यटन व्यवसायमा ठूलो असर पर्ने मेरियट होटल संचालन गर्दै आएको एभरेष्ट हस्पिटालिटी एण्ड होटल लिमिटेडका उपाध्यक्ष सुमितकुमार अग्रवालले बताए । ‘नेपालमा विदेशी पर्यटक भित्र्याएर डलर आम्दानी गर्ने भनेको चेन होटलबाटै हो,’ उनले भने, ‘संसारका जुनसुकै लगानीकर्ताले कमाउनकै लागि लगानी गर्ने हो तर नेपाल सरकारले रोयल्टीमा ५ प्रतिशतको सीमा राखिदिएको छ त्यसले नेपालमा संचालनमा रहेको विदेशी चेन होटलहरुमा ठूलो समस्या निम्त्याउने छ ।’

अहिले चेन होटलहरुले व्यवस्थापन सम्हाल्दा विभिन्न शीर्षकमा गरेर रोयल्टी लैजादै आएका थिए । जसअन्तरगत त्यस्ता विदेशी चेन होटलहरुले साढे ७ प्रतिशतभन्दा बढी रोयल्टी लैजाँदै आएका छन् । तर, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावलीमा भएको कुल ५ प्रतिशत रोयल्टीको व्यवस्थाले अबका दिनमा नेपालमा विदेशी चेन होटल भित्रन कठिन हुने समेत अग्रवालले जानकारी दिए । ‘ठूला चेन होटल नेपालमा आउनु भनेको नेपालमा पर्यटन भित्र्याउनु मात्र नभई देशकै ब्राण्डिङ गरेर डलर कमाउने अबसर हो,’ उनले भने, ‘तर समग्रमा ५ प्रतिशतमात्रै रोयल्टी लैजान पाउने व्यवस्थाले समस्या उत्पन्न हुने छ ।’

यसैगरी उद्योग विभागका निर्देशक खगेन्द्र वस्नेत पनि रोयल्टीकै कारण पछिल्लो समय विदेशी चेन होटल नेपालमा आउने विषयमा अन्यौलता भएको बताउँछन् । ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावलीमा कुनै पनि विदेशी लगानीमा ५ प्रतिशतभन्दा बढी रोयल्टी लैजान नपाउने भन्ने स्पष्ट कानूनी व्यवस्था छ,’ उनले भने, ‘तर, चलेका विदेशी चेन होटलले यसअघि साढे ७ प्रतिशतभन्दा कममा रोयल्टी लैजाने सम्झौता गरेका छैनन् ।’

पुराना सम्झौता भैसकेका चेन होटलका लागि रोयल्टीको विषयमा तत्काल धेरै समस्या नभएपनि नयाँ आउने चेन होटलमा भने यसको असर देखिएको उनको भनाई छ । ‘अहिले धेरै नेपाली लगानीकर्ताहरुले विदेशी चेन ल्याएर नेपालमा होटल संचालन गर्नका लागि उद्योग विभागका आउनुभएको छ,’ उनले भने, ‘तर, अहिले तोकिएको रोयल्टी कम भएको भन्दै विदेशी चेन होटलसँग सम्झौता हुन नसकिरहेको अवस्था छ ।’

यसअघि विदेशी चेन होटलले नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिएर रोयल्टी लैजाँदै आएका थिए । नयाँ व्यवस्था लागू भएपछि चेन सम्झौता गर्नु पूर्व नै उद्योग विभागबाट स्वीकृति लिनुपर्छ । तर, नियमत त्यस्ता चेन होटलले नेपालबाट ५ प्रतिशतभन्दा रोयल्टी लैजान नपाउने भएपछि कतिपय विश्वस्तरीय ठूला चेन होटलले उक्त रकममा चेन तथा व्यवस्थापन सम्हालनका लागि नमानेको समेत एक होटल संचालकले जानकारी दिए ।

‘अहिले नेपालका आधादर्जनभन्दा बढी पाँच तारे होटल निर्माण चरणमा छ भने कतिपय निर्माण सकिएर संचालनमा आउने अवस्थामा पुगिसकेका छन्,’ ती होटल व्यवसायीले भने, ‘यदि सरकारले रोयल्टीको विषयमा तत्काल समाधान नखोज्ने हो भने नेपालीको ठूलो लगानी डुब्ने खतरा छ ।’ साथै धेरै विदेशी होटलहरुले पछिल्लो समय ५ प्रतिशत रोयल्टीमा चेन होटल व्यवस्थापन गर्न नसकिने जानकारी गराइसकेको समेत ती संचालक बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL