Logo

भारतमा तेल सस्तिएपछि घट्यो निर्यात, प्रशोधन उद्योग बन्द हुने अवस्थामा

भारतमा तेल सस्तिएपछि घट्यो निर्यात, प्रशोधन उद्योग बन्द हुने अवस्थामा



काठमाडौं । पछिल्लो ४ बर्षदेखि लगातार निर्यातको उच्च स्थानमा रहँदै आएको प्रशोधित खानेतेलको निर्यातमा ठूलो गिरावट आएको छ । जसका कारण खानेतेल प्रशोधन गरेर भारत निर्यात गर्दै आएका नेपाली उद्योग धरापमा परेका छन् । आर्थिक बर्ष २०७५÷७६ देखि हालसम्म विदेशबाट कच्चा खानेतेल ल्याएर नेपालमा प्रशोधन गरी भारत निर्यात गर्ने उद्योगीहरु हाल संकटमा परेका छन् ।

भारतले कहिले उत्पत्तिको प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजिन) खोज्ने, कहिले आफ्नो देशमा कच्चा पदार्थको भन्सार शुल्क शुन्यसम्म पुर्याउने गर्दा नेपालबाट हुने खानेतेल निर्यात संकटउन्मुख बनेको छ । भन्सार विभागकै तथ्यांक हेर्दा चालु आर्थिक बर्षको पहिलो ६ महिनामा गत आवको सोही अवधिको तुलनामा खानेतेलको निर्यातमा उच्च गिरावट आएको देखिन्छ । विभागको तथ्यांकअनुसार नेपालले विदेशबाट कच्चा तेल आयात र प्रशोधन गरी भारतमा निर्यात गर्ने गर्दछ । यसरी गत आर्थिक बर्षको पहिलो ६ महिनामा नेपालले ३४ अर्ब २७ करोडको भटमास तेल र ३१ अर्ब ९७ करोड रुपैयाँ बराबरको पाम तेल भारततर्फ निर्यात गरेको थियो । तर, चालु आवमा यस्तो निर्यात क्रमशः ७६ र ५९ प्रतिशतले ओरालो लागेको छ ।

भारतीय बजारमा कच्चा खानेतेलको भन्सार शुल्क उच्च रहेको फाईदा उठाउँदै नेपाली व्यवसायीहरुले नेपालबाट सस्तोमा भारत तेल निर्यात गर्दै आएका थिए । पहिले पाम तेल मात्रै निर्यात गर्दै आइरहेका उद्योगीहरुले विस्तारै तोरी र भटमासको तेलमा पनि हात हाले । जसका कारण भारततर्फ निर्यातको व्यापार पनि उच्च हुन पुग्यो । यसरी एकाएक नेपालको निर्यात व्यापार खानेतेलकै कारण बढेको देखेपछि भारतीय दूतावासले २०७७ चैतमा वाणिज्य मन्त्रालयलाई नेपालबाट निर्यात हुने पाम तेलको उत्पत्तिको प्रमाणपत्रको आधिकारिकता मागेको थियो ।

त्यसबेला आधिकारिक जानकारी र भरपर्दाे जवाफ नपाएपछि नेपालबाट हुने पाम तेलको निकासी नै भारतले रोकिदियो । भारततर्फ पुनः सहज भएको पाम तेलको निकासीले पुनः तेलको निकासी उक्सियो र नेपालको व्यापारघाटामा पनि केही राहत देखियो । सोही मौका छोप्दै मूल्यवृद्धिको निहुँमा गत कार्तिकदेखि पुनः भारतले नेपालबाट हुने तेलको निकासीमा असर पर्ने गरी आफ्नो देशमा आयात हुने तेलको कच्चा पदार्थको भन्सार शुल्क घटायो ।

गत बर्षको कार्तिकमा भारतले पाम तेलको कच्चा पदार्थको भन्सार शुल्क २० प्रतिशतबाट ७ प्रतिशत र सुर्यमुखी तेलको ५ प्रतिशतमा पुर्यायो । यसैबेलादेखि नेपालबाट निर्यात हुने तेल भारतीय बजारको तुलनामा महंगो भयो र नेपाली तेलले कम बजार पायो । त्यसबेलादेखि नेपालबाट हुने तेलको निर्यात केहि घटिरहेको भएपनि घाटा खाएरै तेल उद्योगीहरुले स्टक रहेको तेल भारतीय बजारमा पठाईरहेका थिए ।

यसरी पठाउँदा पनि नेपालबाट उच्च निर्यात हुने वस्तुको पहिलो स्थानमा खानेतेल नै थियो । अब भने यो अवस्था नरहने उद्योगीहरु बताउँछन् । करिव ५ महिना अघि भारतले पुनः सबै खालका तेलजन्य कच्चा पदार्थको आयातमा लाग्ने भन्सार पुर्ण रुपमा हटायो । यसले झनै नेपाली उद्योगीलाई उद्योग बन्दै गर्नुपर्ने अवस्था पुर्याएकोे श्रीराम रिफाइन आयलका संचालक प्रदीप मुरारका बताउँछन् । उनको उद्योगले विदेशबाट कच्चा पाम तेल ल्याएर नेपालमा प्रशोधन गरी भारतीय बजारमा विक्री वितरण गर्दै आएको थियो । भारतीय सरकारले आफ्नै देशमा कच्चा पदार्थको भन्सार शुल्क शुन्य गरिदिएपछि नेपाली रिफाईन उद्योगहरु संकटमा परेको उनले बताए । ‘अब हामीले आन्तरिक खपतलाई आवश्यक कच्चापदार्थ मात्रै आयात गर्न थालेका छौं,’ उनले भने, ‘हालसम्म भएको उत्पादन स्टकमा रहेको तेल विग्रिने डरले स्टक रित्याउन भारतमा लागत मूल्यभन्दा कममै तेल पठाउन बाध्य भएका छौं ।’

उनले उद्योगमा रहेको स्टक तेल नेपालमा खपत नहुने भएपछि घाटा खाएरै भारतीय बजारमा पठाइरहेको बताए । भारतमा तेलको कच्चा पदार्थको भन्सार शुल्क उच्च भएको फाईदा उठाउँदै धमाधम स्थापना भएका तेल प्रशोधन गर्ने २५ बढी उद्योगहरु पुर्ण रुपमा संकटमा परेको उनले बताए । भन्सार विभागका अनुसार नेपाली उद्योगीले अर्जेन्टिना, ब्राजिल र इजिप्टबाट भटमास, इजरायल, स्पेन र कोरियाबाट ओलिभ, इन्डोनेसिया, मलेसिया र फिलिपीन्सबाट पाम तेल आयात गर्ने गरेको छ । यस्तै अर्जेन्टिना, रुस र युक्रेनबाट नेपालले सुर्यमुखीको बियाँ पनि आयात गर्ने गरेका छन् । सोही कच्चापदार्थलाई नेपालमा प्रशोधन गरी भारत पठाउँदा ३० प्रतिशतसम्म भ्यालु एड हुने उद्योगीहरुले बताउँदै आएका थिए । उनीहरुले प्रशोधन गरेको ९५ प्रतिशत बढी तेल भारतीय बजारमा खपत हुँदै आएको थियो ।

नेपालबाट खानेतेल उच्च निर्यात हुन सुरु भएको पहिलो अर्थिक बर्ष २०७५/७६ मा मात्रै नेपालले १२ अर्ब ९५ करोड २२ लाख रुपैयाँ बराबरको तेलजन्य पदार्थ निर्यात गरेको थियो । त्यसको पछिल्लो बर्ष २०७६/७७ नेपालले पुनः यसको निर्यात बढाएर ३१ अर्ब १९ करोड ७२ लाख रुपैयाँ पुर्याएको थियो । त्यस्तै पुनः २०७७/७८ मा भने नेपालबाट हुने यसको निर्यात झनै बढेर ५५ अर्ब ९५ करोड ९१ लाख रुपैयाँ बराबरको पुग्यो । सोही बर्ष नेपालको कुल निर्यात व्यापारमा करिव ६० प्रतिशत बढी हिस्सा खानेतेलकै थियो । त्यसबखत निर्यात निर्यामन र प्रवद्र्धन क्षेत्रका संघसंस्थाहरुले नेपालले गर्ने ६० प्रतिशत निर्यातको व्यापार न्युन भ्यालु एडेड खानेतेलमा निर्भर रहेकाले व्यापार विविधिकरणमा जोड दिनुपर्नेसमेत बताएका थिए ।

ती संघसंस्थाहरुका अनुसार नेपालले गर्ने कुल निर्यातको व्यापारमा ६० प्रतिशत तेलको हिस्सा त्यसमा पनि ९५ प्रतिशत बढी तेल भारतमा मात्रै गईरहेको थियो । यदि एकै वस्तु ठुलो मात्रामा कुनै निश्चित देशमा मात्रै गईरहेको अवस्थामा उक्त देशले उक्त वस्तुको लागि सानो नीति परिवर्तन गरिदिनेवित्तिकै नेपालको निर्यात व्यापार नै मर्कामा पर्ने निश्चित थियो र त्यसै भयो । भारतले आफ्नै देशमा तेलको कच्चा पदार्थको भन्सार शुल्कमा गरेको खुकुलोपनले एकाएक उक्सिएको व्यापारघाटा त पुनः पुरानो अवस्थामा आयो नै यसैको भरमा अर्बौको तेल व्यापार गरिरहेका नेपाली प्रशोधन उद्योगीहरु पूर्णरुपमा धरापमा परे ।

यति हुँदा हुँदै पनि गत आर्थिक बर्ष २०७८/७९ मा नेपालले हालसम्मकै उच्च ९३ अर्ब ७४ करोड ५ लाख रुपैयाँ बराबरको खानेतेल निर्यात गरेको देखिन्छ । व्यापारीहरुले गत बर्ष नै भारतले आयात गर्ने कच्चा पदार्थमा भन्सार शुल्क घटाउने चाल पाईसकेका नेपाली उद्योगीहरुले स्टक रित्याउन कम मूल्यमै भटाभट भारत तेल निकासी गरेका थिए । जसका कारण उक्त बर्ष तेलको निर्यात उच्च देखिएको उद्योगी मुरारका बताउँछन् । यो बर्ष भने गत आवझै तेल उच्च निर्यातित वस्तुको सूचीमा पर्ने सम्भावना कम रहेको उनी बताउँछन । चालु आवको आधा बर्ष वित्दा जम्मा २१ अर्ब ३३ करोड रुपैयाँ बराबरको मात्रै तेल निर्यात भएको छ । यदि यसैगरी तेलको निर्यात भईरह्यो भने पनि बर्षको अन्तिमसम्म ५० अर्बकै तेल व्यापार हुने उद्योगीहरुको अनुमान छ । तर, नेपाली उद्योगीले प्रशोधन नै बन्द गर्नुपर्ने अवस्था आएकाले तेलको व्यापार अनुमान गरेजति पनि नपुग्ने मुरारका बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL