Logo

फेडले ब्याजदर बढाउँदा सुनको मूल्यमा असर, आईतबार एकैदिन तोलामा २ हजारले घट्यो

फेडले ब्याजदर बढाउँदा सुनको मूल्यमा असर, आईतबार एकैदिन तोलामा २ हजारले घट्यो



काठमाडौं । गएको ३ दिनयता नेपाली बजारमा सुनको मूल्यमा लगातार गिरावट आईरहेको छ । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै नेपाली बजारमा पनि यसको प्रभाव देखिएको हो । गत बिहीबार सुनको मूल्य बढेर हालसम्मकै उच्च अर्थात प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँ पुगेको थियो । त्यसयता भने सुनको मूल्य ओरालो लाग्ने क्रममा छ ।

laxmi

गत शुक्रबार मात्रै बजारमा सुनको मूल्य एकैदिन १ हजार ४ सय रुपैयाँले घटेर १ लाख ६ हजार १ सय रुपैयाँ प्रतितोला पुगेको थियो । त्यसकै २ दिनपछि आज पुनः एकैदिन सुनको मूल्यमा प्रतितोला २ हजार रुपैयाँको गिरावट आएको हो । आज सुनको मूल्य घट्दा नेपाली बजारमा प्रतितोला १ लाख ४ हजार १ सय रुपैयाँ पुगेको छ ।

यस्तै चाँदीको मूल्यमा पनि पछिल्लो २ दिनमै प्रतितोला ७० रुपैयाँको गिरावट आएको छ । गत बिहीबार नेपाली बजारमा प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आजको दिनसम्म आईपुग्दा प्रतितोला १ हजार ३ सय २० रुपैयाँ पुगेको हो ।

यता अन्तरराष्ट्रिय बजारमा हेर्ने हो भने पछिल्लो ५ दिनमै सुनको मूल्यमा प्रतिऔंस ३७ डलरको गिरावटआएको देखिन्छ । गएको फेब्रुअरी १ मा प्रतिऔंस १ हजार ९ सय ५२.६६ डलरमा कारोबार भईरहेको सुनको मूल्य आजसम्म घटेर प्रतिऔंस १ हजार ९ सय १५ डलर पुगेको हो । विश्व बजारमै डलरको मूल्य बढेसँगै सुनको व्यापारमा केहि गिरावट आएको छ ।

अमेरिकी केन्द्रिय बैंक फेडले लगातार बढाईरहेको ब्याजदरको असर विश्व बजारको सुन व्यापारमा परेको छ । जसका कारण बजारमा सुनको मागमा उच्च गिरावट आएसँगै विश्वबजारमै सुनको मूल्य ओरालो लाग्ने क्रम सुरु भएको अर्थविद्हरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL