Logo

हेटौंडामा आजदेखि राष्ट्रिय औद्योगिक व्यापार महोत्सव, ३३७ वटा स्टल रहने

हेटौंडामा आजदेखि राष्ट्रिय औद्योगिक व्यापार महोत्सव, ३३७ वटा स्टल रहने



काठमाडौं। बागमती प्रदेशको राजधानी हेटौंडामा आजबाट ‘१० औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सव २०७९’ मेला सुरु हुने भएको छ । हेटौंडा–१० स्थित टिसिएन चौरमा आज दिउँसो १ बजेबाट सुरु हुने महोत्सवको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले गर्ने कार्यक्रम तय भएको आयोजक मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण गुप्ता अग्रवालले जानकारी दिए ।

३३७ वटा स्टल रहने महोत्सवमा कृषि, घरेलु हस्तकला, महिला उद्यमीका उत्पादन, होटल, आइटी, शैक्षिक संघसंस्था, उद्योगका उत्पादनहरु लगायतको स्टलहरु रहने छन् ।

यसैगरी मेलामा स्थानीय स्तरमा उत्पादन भएको चुच्चेखोलाको खुवा, राक्सिराङको गिठ्ठा, भ्याकुर, डोको, डालो, नाङ्लो, खुर्पेटो तथा रैथाने बालीहरु कोदो, फापर, गेडागुडी लगायत प्रर्दशन तथा बिक्री स्टल रहने आयोजकले जनाएको छ । माघ २३ गतेसम्म जारी रहने १३ दिने मेलामा २ लाख जनाले अवलोकन गर्ने र २० देखि २५ करोड कारोबार हुने आयोजकको अनुमान रहेको छ ।

महोत्सवमा स्थनाीय तथा राष्ट्रिय कलाकारहरुको विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिहरु रहने जानकारी दिइएको छ । महोत्सवमा गायन तथा नृत्य प्रतिभा प्रोत्साहन तथा प्रवद्र्धनका लागि हेटौंडा आइडल, हेटौंडा डान्सिङ स्टार र दुलही श्रृंगार प्रतियोगिता समेत रहेको छ । तीनै वटा प्रतियोगितामा प्रथम हुने ३०-३० हजार, द्वितीयले २०-२० हजार र तृतीयले १०-१० हजार र सान्त्वना हुनेले ५–५ हजार प्राप्त गर्ने बताइएको छ ।

मेला प्रवेशको टिकटदर प्रतिव्यक्ति ५० रुपैयाँ राखिएको र विद्यार्थीलाई ५० प्रतिशत छुट रहेको आयोजक मकवानपुर उद्योग वाणिज्य संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL