Logo

उकालो लाग्दै कच्चा तेलको मूल्य, नेपालमा पनि इन्धनको मूल्य बढ्ने निश्चित

उकालो लाग्दै कच्चा तेलको मूल्य, नेपालमा पनि इन्धनको मूल्य बढ्ने निश्चित



काठमाडौं । उपभोक्ता बजारलाई प्रत्यक्ष असर पार्ने कच्चा पेट्रोलियम पदार्थको मूल्य पछिल्लो समय उकालो लागिरहेको छ । गत वर्षको मार्च र जुनमा हालसम्मकै उच्च विन्दुमा पुगेको कच्चा पेट्रोलियमको मूल्य अघिल्लो महिना डिसेम्बरको दोस्रो हप्ता घटेर यो बर्षकै न्युन विन्दुमा पुगेको थियो । तर, पुनः यसको मूल्य लगातार उकालो लागिरहेको देखिएको छ । कच्चा तेलको बारेमा जानकारी राख्ने आयलप्राइसका अनुसार पछिल्लो १ महिनाको अवधिमा मात्रै विश्व बजारमा कच्चा तेलको मूल्य प्रतिव्यारल १५ डलरले बढिसकेको छ ।

गत महिना तेलको मूल्य घटेर यो बर्षकै न्यून अर्थात प्रतिव्यारल ७१ डलर आसपास पुगेको थियो । यो महिना भने उक्त मूल्य बढेर प्रतिव्यारल ८५ डलरको आसपासमा कारोबार भइरहेको छ । कोरोना महामारी, रुस र युक्रेनबीचको युद्धलगायतका कारण गत बर्षको मार्चमा कच्चा तेलको मूल्य हालसम्मकै उच्च अर्थात प्रतिव्यारल १ सय ३२ डलरसम्म पुगेको थियो । त्यसको केहि समयपछि घटेर अप्रिलमा प्रतिव्यारल ९४ डलरसम्म पुगेको थियो । पुनः युक्रेन र रुसको युद्ध चर्किएपछि जुन महिनामा यसको मूल्य बढेर प्रतिव्यारल १ सय २१ डलरसम्म पुगेको थियो । त्यसयता लगातार घटिरहेको तेलको भाउ पुनः उकालो यात्रा तय गरिरहेको छ ।

पछिलो समय अमेरिकी फेडरल बैंकले आफ्नो ब्याजदरमा कडा नीति अपनाउँदा यसको असर तेलको मागमा परेको र त्यसले प्रत्यक्ष रुपमा तेलको मूल्यमा प्रभाव पारेको बताईएको छ । फेडले ब्याजदर नीतिमा कडाई गरिरहँदा यता चीनतर्फ पनि तेलको माग बढ्दो छ । जसका कारण पनि तेलको मूल्य अझै उकालो लाग्ने अन्तरराष्ट्रिय बिषय विज्ञहरु बताउँछन् ।

यता नेपालमा भने भारतीय आयल निगमले मूल्य पठाएसँगै मूल्य घटबढ् हुन्छ । सोहीअनुसार गत बर्ष जुन महिनामा नेपालमा पनि डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर २ सय रुपैयाँ आसपास पुगेको थियो । त्यसपछि तेलको मूल्य भारतबाट लगातार घटेर आएपनि नेपाल आयल निगमले भनेबमोजिम घटाएको छैन । राजनीतिक दबावका कारण बेलाबेलामा २ देखि ३ रुपैयाँले तेलको मूल्य घटेपनि घट्नुपर्नेजति भने नघटेको देखिन्छ ।

हाल नेपाली बजारमा पेट्रोल प्रतिलिटर १ सय ७५ रुपैयाँ, डिजेल १ सय ७२ रुपैयाँ र खाना पकाउने ग्याँस प्रतिसिलिण्डर १ हजार ८ सय रुपैयाँमा विक्रीवितरण भईरहेको छ । यसरी विश्वबजारमा बढिरहेको मूल्य हेर्दा भारतीय आयल निगमबाट पुनः तेलको मूल्य बढेर आउने निश्चित छ । सोहीअनुसार नेपालमा पनि तेलको मूल्य पुनः बढ्ने निश्चित भएको नेपाल आयल निगमका प्रवक्ता विनितमणी उपाध्याय बताउँछन् ।

‘रुस युक्रेन युद्धले ध्वस्त पारेको आपुर्ति श्रृङ्खला, जाडो याममा हुने बढी खपत र चीनमा कोरोनाको प्रभावका कारण विश्व बजारमा कच्चा तेलको मूल्य लगातार उकालो लाग्ने क्रम जारी छ,’ उनले भने, ‘सोही अनुसार यसपाली पनि भारतले तेलको मूल्य हामीलाई बढाएर पठाउने अत्याधिक सम्भावना छ, सोही अनुसार नेपालमा पनि बढ्ला ।’

हाल निगम १७–१८ अर्ब ऋणमा भएकाले तेलको मूल्य बढाउनुपर्ने दवावमा रहेको छ । सरकारी निर्देशनका कारण मूल्य नबढाएको निगम पुनः तेलको मूल्य बढेर आएमा सोहीअनुसारको भार निगमलाई थपिने त्रासमा छ । यस्तोमा निगमसँग इन्धनको मूल्य वृद्धिको विकल्प नहुने र मूल्यवृद्धि हुने निगमका अधिकारीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL