Logo

प्राविधिक समस्या समाधान भएपछि पासपोर्ट लिने बढे, राहदानी विभागमा घुईँचो

प्राविधिक समस्या समाधान भएपछि पासपोर्ट लिने बढे, राहदानी विभागमा घुईँचो



काठमाडौं । राहदानी विभागमा सेवाग्राहीको भीड थपिँदै गएको छ । गत पुस १७ गतेदेखि विभागको सर्भरमा देखिएको समस्या झन्डै एक हप्ता अर्थात् पुस २४ मा समाधान भएसँगै काम सुरु हुन थालेपछि राहदानी लिनेको भीड लाग्ने गरेको हो ।

राहदानी लिन आउनेका कारण भीड थेगिनसक्नु भएको विभागले जनाएको छ । विभागमा हिजोआज वैदेशिक रोजगारमा जानका लागि राहदानी बनाउन आउनेको भीड बढ्दै गएको विभागका निर्देशक तथा प्रवक्ता दुरपदा सापकोटाले बताईन् । उनका अनुसार विभागमा राहदानीसम्बन्धी सबै काम सुरु भएको छ, सेवाग्राहीको पनि भीड बढेको छ, बीचमा केही दिन बिदा परेकाले पनि अहिले सेवाग्राहीको भीड बढेको हो ।

सरकारले अत्यावश्यक सेवामा भीड कम गर्ने निर्णयपछि विभागले तीन/चारवटा अनौपचारिक कार्ययोजना बनाएको जनाएको छ । कुन कार्ययोजना लागू गर्ने र कसरी गर्ने भन्ने छलफलमा विभाग रहेको बताइएको छ । देशभरका जिल्ला प्रशासन कार्यालय र १७ इलाका प्रशासन कार्यालयबाट सहज रुपमा राहदानी वितरण गरे विभागमा अहिलेजस्तो भीड नहुने निर्देशक सापकोटाको भनाइ छ ।

टोकन प्रणाली लागू गर्ने तयारी पनि गरिएको र कामको अवधि बढाएर बिहानदेखि राहदानी वितरण थाल्ने विकल्पबारे पनि विभागले योजना बनाइरहेको जनाइएको छ । सेवाग्राहीको भीडका कारण कर्मचारीलाई पनि सेवा प्रवाहमा समस्या हुँदै आएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL