Logo

पुसमा पाँच अर्ब ७५ करोडको वैदेशिक लगानी भित्रियो, १३ सयले रोजगारी पाउने

पुसमा पाँच अर्ब ७५ करोडको वैदेशिक लगानी भित्रियो, १३ सयले रोजगारी पाउने



काठमाडौं । पुस महिनामा मात्रै नेपालमा पौने ५ अर्ब ७५ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी नेपाल भित्रिएको छ । उद्योग विभागले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार पुस महिनामा विभिन्न २४ परियोजनामार्फत सेयर खरिद र नयाँ लगानी गरी ५ अर्ब ७५ करोड २१ लाख ८ हजार रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको हो ।

यसमध्ये सेयर सब्सक्रिप्सन एग्रीमेन्ट (एसएसए) र सेयर पर्चेज एग्रिमेन्ट(एसपीए)मार्फत मात्रै नेपालमा एक परियोजनामा ९० करोड २८ हजार रुपैयाँ बराबरको प्रतिवद्धता आएको विभागले जानकारी दिएको छ । यस अवधिमा नयाँ परियोजनामा आएको विदेशी लगानी प्रतिवद्धतामध्ये एउटा परियोजना ठूलो उद्योगअन्तर्गतको छ भने बाँकी १९ परियोजना साना उद्योग अन्तर्गतका छन् ।

विभागका अनुसार यस अवधिमा सबैभन्दा बढी परियोजना सेवा क्षेत्रअन्तर्गतका छन् । पुस महिनामा सेवा क्षेत्रका विभिन्न ७ परियोजनामा विदेशी लगानीको प्रस्ताव आउँदा पर्यटनमुलक क्षेत्रका ५ परियोजनामा लगानी प्रतिवद्धता आएको छ । यस्तै सूचना प्रविधि र उत्पादनमुलक क्षेत्रका ३–३ परियोजनामा विदेशी लगानीको प्रतिवद्धता आउँदा यस अवधिमा पूर्वाधार क्षेत्रका २ परियोजना दर्ता भएको विभागले जानकारी दिएको छ ।

पुसमा आएका विदेशी लगानीका परियोजनाबाट १ हजार ३ सय ३२ जनालाई रोजगारी प्रदान गर्न सकिने प्रस्ताव गरिएका छ । यता गत आर्थिक बर्षको यहि अवधि अर्थात पुसको तथ्यांक केलाउँदा चालु आवमा आएको वैदेशिक लगानी प्रतिवद्धतामा उच्च वृद्धि भएको देखिन्छ । यो बर्षको पुसमा झण्डै पौने ६ अर्ब बराबरको लगानी प्रतिवद्धता आएको छ । जवकि गत आवको पुस महिनामा जम्मा ६१ करोड २० लाख रुपैयाँ बराबरको मात्रै वैदेशिक लगानी प्रतिवद्धता आएको थियो ।

गत आवको पुसमा सेवा क्षेत्रका ३ र उत्पादनमुलक र पर्यटन क्षेत्रका २–२ गरी जम्मा ७ परियोजनामार्फत उक्त विदेशी लगानी प्रतिवद्धता आएको थियो । विभागका अनुसार चालु आवको पुसमा नेपालबाट केही लगानी फिर्ता पनि भएको छ । अर्थात यस अवधिमा विभिन्न विदेशी लगानीकर्ताले आफ्नो रोयल्टी र लाभांस गरी १० करोड ६३ लाख ९२ हजार रुपैयाँ नेपालबाट विदेश लिएका छन् ।

उद्योग विभागका अनुसार पुस महिनामा नेपालमा संचालित विदेशी उद्योगीहरुले रोयल्टीमार्फत २ करोड ३६ लाख २ हजार रुपैयाँ अर्थात अमेरिकी डलर ६७ हजार ५४ डलर लगेका छन् । यस्तै पुस महिनामै विदेशी लगानीकर्ताहरुले नेपालमा संचालित परियोजनाबाट ८ करोड ३७ लाख ९० हजार रुपैयाँ लाभांस फिर्ता लिएका छन् ।

पुस महिनामा विभागले १ सय २५ जना विदेशी लगानीकर्ता, १८ जना प्रतिनिधि र ७७ जना आश्रितलाई विजनेस भिसा सिफारिस प्रदान गरेको छ । नेपालमा विदेशी लगानी आउन सुरु गरेयता हालसम्म अर्थात गएको पुस मसान्तसम्म ५ हजार ६ सय ६४ परियोजनामार्फत ४ खर्ब ३६ अर्ब ५७ करोड रुपैयाँ बराबरको विदेशी लगानी प्रस्ताव आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL