Logo

कहिले तयार होला नागढुंगा सुरुङमार्ग ? ३ बर्ष वित्दा आधा काम, अब ६ महिनामात्र म्याद बाँकी

कहिले तयार होला नागढुंगा सुरुङमार्ग ? ३ बर्ष वित्दा आधा काम, अब ६ महिनामात्र म्याद बाँकी



काठमाडौं । नेपालकै पहिलो सडक सुरुङमार्गका रुपमा तयार हुँदै गरेको नागढुंगा नौविसे सुरुङमार्गको काम सोचेअनुरुप अगाडि बढन सकेको छैन् । ४४ महिनामा सम्पन्न गर्नेगरी २०७६ को कार्तिकमा काम सुरु गरिएको सुरुङमार्ग २०८० को असारसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको भएपनि अहिलेसम्म आधा काम पनि सम्पन्न भएको छैन् ।

उक्त आयोजनाको हालसम्मको भौतिक प्रगति लगभग ४७.९० प्रतिशत मात्रै छ । अर्थात आयोजनाको अझै आधाभन्दा बढी काम बाँकी नै छ । आयोजनाका अनुसार काम सुरु भएको ३८ महिनासम्म आयोजनाको मुख्य सुरुङमार्ग १ हजार ७ सय ८२ मिटरमात्रै खनिएको छ । निर्माण सम्पन्न गर्नेबेलासम्म २ हजार ६ सय ८८ मिटर खनिसक्नुपर्ने उक्त सुरुङमार्गको प्रगति पनि भनेबमोजिम भईसकेको छैन ।

कोरोना महामारी र जग्गा मुआब्जाको विवादका कारण काम सुस्त भइरहेको बताएको आयोजनाले सहायक सुरुङमार्ग पनि हालसम्म जम्मा २ हजार ४६ मिटर मात्रै खनेको छ । आयोजनाका अनुसार सहायक र मुख्य गरी सुरुङमार्ग मात्रै ५ हजार ४ सय ९९ मिटर खन्नुपर्नेमा हालसम्म यसको प्रगति ७३ दशमलव ३ प्रतिशत अर्थात ४ हजार २९ मिटरमात्र छ ।

देशका अन्य भूभागबाट संघीय राजधानी काठमाडौंको आवतजावत सहज बनाउन निर्माण भइरहेको सुरुङमार्गमा दुईओटा सुरुङमार्ग हुनेछन् । एउटामा सवारीसाधन गुड्नेछन् भने अर्काे ईभ्याकुएसन्सँगै सुरुङभित्र विग्रेका सवारीसाधनलाई सुरक्षितसँग बाहिर ल्याउने काममा प्रयोग गरिनेछ ।

आयोजनाले दुवै सुरुङलाई जोड्नका लागि सुरुङमार्गको बीचबीचमा क्रस प्यासेज पानि बनाउँदै आएको छ । काठमाडौं र नागढुंगा दुबैतर्फबाट खन्न सुरु गरिएको सुरुङमार्गमा हालसम्म क्रस प्यासेजका लागि १ सय २८ मिटर खन्नुपर्नेमा ७४.२० मिटर खनिएको छ । वर्किङ अडिटको काम भने सम्पन्न भइसकेको आयोजनाले जानकारी दिएको छ ।

आयोजनालाई सबैभन्दा बढी समस्या भने काठमाडौंतर्फ सुरुङमार्ग र मुख्य सडक जोड्ने एप्रोच बनाउने काममा देखिएको आयोजना प्रमुख माधवप्रसाद अधिकारी बताउँछन् । उनका अनुसार काठमाडौंतर्फ मुख्य सडक र सुरुङमार्गको अन्तिम विन्दु जोड्ने गरी फ्लाईओभर बनाउन लागिएको छ । उक्त फ्लाईओभर बनाउन आवश्यक स्थानको मुआव्जा लिनका लागि केही स्थानीयले नमानिरहेको अवस्था छ ।

फ्लाईओभरका लागि आवश्यक जग्गामध्ये हालसम्म ९५ प्रतिशत जग्गाको एकिन भएर २ ओटा फाउन्डेसन पनि हालिसकिएको छ । तर, जग्गाधनीलाई बुझाउनुपर्ने मुआब्जा भने अझै बुझाउन नसकिएको आयोजना प्रमुख अधिकारी बताउँछन् । उनका अनुसार गत असोजमै मुआब्जा वितरणका लागि अर्थमन्त्रालयसँग रकम निकासीका लागि आग्रह गरिएपनि अझै मन्त्रालयले मुआब्जाका लागि रकम निकासा गरिसकेको छैन ।

फ्लाईओभर निर्माणका लागि आयोजनाले २ ओटा फाउन्डेसनसँगै २ ओटा सवस्ट्रक्चर पनि तयार पारिसकेको छ । यस्तै आयोजनाले सुरुङमार्गका लागि आवश्यक अन्य भौतिक संरचना जस्तै कल्भर्ट, अन्डरपास, ओभरपास र पुलको निर्माण भने सम्पन्न गरिसकेको छ । आयोजनालाई सुरुङसँगै एउटा ओभरपास, ३ ओटा अन्डरपास र ४ ओटा बक्स कल्भर्टबनाउनुपर्ने थियो ।

आयोजनाले समयमै अर्थात आगामी असारसम्म काम सम्पन्न नहुने देखिएपछि सडक विभागलाई म्याद बढाउनका लागि सिफरिस गरिसकेको आयोजना प्रमुख अधिकारीले बिजखबरलाई जानकारी दिए । ‘कोरोनालगायतका कारणले काममा ढिलाई भयो, यसले समयमै काम सम्पन्न हुनेमा बाधा उत्पन्न गर्याे,’ उनले भने, ‘यसको समय लम्ब्याउनुपर्ने भएकाले हामीले समय लम्ब्याउन सडक विभागलाई सिफारिस पठाएका छौं ।’

प्रतिक्रिया दिनुहोस्
MBL