Logo

कोभिडका कारण थला परेको पर्यटनमा नयाँ आशा : पर्यटकको चाप, होटल भरिभराउ

कोभिडका कारण थला परेको पर्यटनमा नयाँ आशा : पर्यटकको चाप, होटल भरिभराउ



काठमाडौं । इस्वी सम्वत् २०२३ को पूर्व सन्ध्यामा यहाँस्थित पर्यटकीय क्षेत्रका होटल भरिन सुरु गरेका छन् । चितवन राष्ट्रिय निकुञ्जको सौराहा, पटिहानी, मेघौलीलगायतका क्षेत्रका ठूला होटल भरिएका छन् । साना होटल पनि साँझसम्म भरिने व्यवसायी बताउँछन् ।

अङ्ग्रेजी नयाँ वर्षका अघिल्ला दुई दिन सार्वजनिक बिदा परेकाले घुम्न रुचाउनेका लागि उपयुक्त समय बनेको छ । नारायणगढ मुग्लिन सडकखण्ड दिउँसोमा बन्द हुने हुँदा केही प्रभावित भए पनि बिहान बेलुकाको समयमा आन्तरिक पर्यटक धेरै आएको व्यवसायी बताउँछन् ।

सौराहाका निजी हात्ती सञ्चालन गर्ने सामूहिक सहकारी युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीले दुई दिनयता हात्ती र जीप भरिएको जानकारी दिए । साँझसम्ममा सबै होटल भरिने उनको अनुमान रहेको छ । उनले भने, ‘यो नयाँ वर्षमा पर्यटकको राम्रो उपस्थिति रहेको छ ।’

सौराहामा दुई वटा होटल सञ्चालन गर्दै आएका माधव दुवाडी दुई दिनयता दुवै होटल भरिएको बताउँछन् । होटल सेभेन स्टारमा आज साङ्गीतिक कार्यक्रम रहेको भन्दै उनले अर्को होटेल पनि भरिएको बताए । उनले भने, ‘नयाँ वर्षमा आन्तरिक पर्यटकको राम्रो उपस्थिति रहेको छ ।’ क्षेत्रीय होटल सङ्घका महासचिव गुणराज थपलिया अधिकांश होटल भरिएको बताउँछन् । उनले भने, ‘नयाँ वर्ष मनाउन आउने पर्यटकको संख्या राम्रो छ ।’ विगत वर्षमा जस्तो सडकमा पर्यटक नभरिए पनि होटलमा राम्रो भएको उनको भनाइ छ ।

पटिहानी र मेघौलीका होटल पनि पर्यटकले भरिएका छन् । मेघौलीको वाइल्ड लाइफ सेञ्चुरीका सुबोध प्रधानले दुई दिनयता होटल भरिएको सुनाए । उनले भने, ‘अहिलेको नयाँ वर्ष पर्यटकको उपस्थिति राम्रो छ ।’ जङ्गल भिल्ला पटिहानीका सञ्चालक गणेश पौडेलले दुई दिनयता भारतीय र नेपाली पर्यटकले होटल भरिएको जानकारी दिए । क्षेत्रीय होटल सङ्घका अध्यक्ष दीपक भट्टराईले क्रमशः पर्यटक बढ्दै गएको साँझसम्ममा होटल भरिने अपेक्षा रहेको बताए । सौराहाका सबै होटललाई समग्रमा हेर्दा शुक्रबार झण्डै आधा भरिएको उनको भनाइ छ । घुम्न आउनेले पाएसम्म राम्रा होटल खोज्छन् । सङ्घको सदस्यमा साना होटल धेरै छन् । क्रमशः ती होटल पनि भरिने क्रममा रहेका छन् ।

पर्यटक बढेपछि निकुञ्ज आसपासका रेष्टुराँ पनि भरिएका छन् । सौराहामा एक सय २० होटल क्षेत्रीय होटल सङ्घमा आबद्ध छन् । सङ्घमा दर्ता नभएका अरु साना होटल पनि रहेका छन् । भट्टराईका अनुसार सौराहामा आठ हजार पर्यटक अट्न सक्ने क्षमता छ । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती वनमा हात्ती सफारी, जीप सफारी, डुङ्गा सयर, पैदल यात्रा गरेर दुर्लभ बाघ, गैँडा जस्ता वन्यजन्तु हेर्न यहाँ पर्यटक आउने गर्दछन् । थारु संस्कृति हेर्न पर्यटक रुचाउँछन् । कोभिडका कारण थला परेको पर्यटन व्यवसाय उठ्ने अपेक्षामा व्यवसायी रहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्
MBL